मैले सबैलाई बिर्सेछु कुलेखानी, तिमीलाई सम्झिँदा !

 पुस २४, २०७६ बिहिबार १४:५५:२३ | विना न्याैपाने
unn.prixa.net

कुलेखानीको बयान शब्दमा गर्न सकिँदैन भन्ने सुनेकी थिएँ, तर आफ्नै आँखाले हेर्न भने पाएकी थिइनँ । हरेक कुराको समय मिल्नु पर्छ भने झैँ मलाई पनि धेरै पछि कुलेखानी जाने समय मिल्यो । 

बल्खुबाट कुलेखानीसम्मको यात्रा तय भयो । हामी पाँच जना थियौँ, गफैगफमा बाटो काटेको र जाममा फसेको पनि पत्तो भएन ।  बेलुकी कुलेखानी पुग्दा छ बज्नै लागेको थियो । कुलेखानी ड्याममा पुगेपछि फुरुङ्ग हुँदै मुखबाट निस्कियो – ‘वाउ ।’ 

मैले पोखराको फेवातालमा त धेरै पटक डुङ्गा चढेको थिएँ, तर कुलेखानीमा भने पहिलो पटक थियो । बेलुका ‘बोटिङ’ नहुने रहेछ । त्यसैले कतिबेला उज्यालो होला र डुङ्गा चढौँला भनेर खुल्दुली रहिरह्याे ।

त्यतिबेलासम्म पाँच जनाको समूहमा पछि काठमाण्डौबाट कुलेखानी गएका अरु व्यक्ति पनि साथी बने । 

शनिबार बिहान उठ्नेबित्तिकै मोतीका दानाझैँ टल्किएको तालको पानीले हामी सबैको मन लोभ्यायो । शान्त मुद्रामा निरन्तर बगिरहेकै देखिने त्याे मनमोहक दृष्य जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउने खालकाे थियाे ।यसबाट ममात्र अछूताे रहन कहाँ सक्थेँ  र !

एकटकले लामो समयसम्म हेर्दा पनि आँखा नथाक्ने कुलेखानीको सुन्दरता साँच्चै अनुपम लाग्यो मलाई । 

आँखाले नभेट्ने ठाउँसम्म फैलिएको ताल देख्दा साँच्चै स्वर्गको टुक्रा देखेझैँ भयो । त्यो मनोरम दृश्यले भोक प्यास सबै हरायो । प्रकृति वास्तवमै शब्दमा व्यक्त गर्न नसकिने सुन्दर छ !

भनिन्छ खुशी खोज्न अन्यत्र जानु पर्दैन, मनले महसुस गरे मात्रै पनि हुन्छ । त्यही खुशी महसुस गरिरहेकी थिएँ मैले । बिहानको समय अलिअलि चिसो त्यसमा पनि कुलेखानीको सुरुङ्ग । भित्र जान डर लागे पनि भर्‍याङ्गबाट तल सुरुङ्गमा झर्दाको डर अनि झरेपछिको मज्जा बयान गरेरै सकिँदैन । सुरुङ्ग तीन किलोमिटर लामो भए पनि भित्र धेरै चिसो भएकाले हामी ३० मिनेटमात्रै रहन सक्यौँ  । 

सुरुङ यात्रापछि डुङ्गा चढ्ने रहरले तालमा पुर्‍यायाे । डुङ्गामा चढ्नेको सुरक्षाका व्यवस्था गरिएकाे ‘लाइफ ज्याकेट’को लगाएर एक घण्टाको आनन्द लियौं । डुङ्गा चालक दाजुले बिदाको दिन लगभग ३ हजारको हाराहारीमा पर्यटक त्यहाँ जाने गरेको बताउनुभयाे। 

तत्कालीन राजा वीरेन्द्रको पालामा विद्युत उत्पादन गर्न यो जलाशय निर्माण गरिएको थियो भनेर मैले स्कुलमा पढेकी थिएँ । पहिलो ६० मेगावाट र दोस्रो ३२ मेगावाटको बिजुली उत्पादन गर्ने क्षमता छ भन्ने कुरा पनि सम्झिरहेको छु । सात किलोमिटर लामो र झण्डै दुई किलोमिटर चौडा जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी जम्मा हुने कुरा पनि मेरो दिमागमा अहिलेसम्म छ । 

डुङ्गा सयर गरेर फर्किएपछि खाना खाने बेलामा रिसोर्ट सञ्चालकसँग केहीबेर कुराकानी भयो । पहिला डुङ्गा चालकबाट अहिले रिसोर्ट मालिक बनेका कुमार लामाको संघर्षको कथा सुनेर मन झनै उत्साहित भयो । उहाँको जीवनीबाट पाठ सिक्दै आफू पनि जीवनमा कुनै दुःख पर्‍यो भनेर आत्तिने छैन भन्ने अठोट पनि गरेँ ।  

ईन्द्रसरोवर वरिपरिको वातावरण छुट्टै आनन्द दिने खालको थियो । तर हामी रहेको होमस्टे वरिपरि धेरै उत्तिसका रुखहरु थिए । हरियाली त राम्रै देखिन्थ्यो, तर उत्तिसको ठाउँमा धुपी, पिपल आदि भइदिएको भए सुनमा सुगन्ध हुने थियो भन्ने लाग्यो ।

डुङ्गामा सरर सयर गर्दा पानीसरी आफू पनि बगेझैँ महसुस हुन्थ्यो । यो एक ठाउँको बयान त म शब्दमा गर्न सक्दिन भने हाम्रो देशमा यस्ता अरु कति ठाउँ होलान् भन्ने खुल्दुली भयो । साँच्चै मेरो देश स्वर्ग नै रहेछ भन्ने लाग्यो । 

अरुबेला भन्दा गर्मीयाममा धेरै आन्तरिक पर्यटक जाने ठाउँ भनिए पनि कुलेखानीमा जाडोयाममा अझै धेरै पर्यटक पुगेजस्तो लाग्यो ।

पछिल्लो तीन वर्षयता नेपाल विद्युत प्राधिकरण तथा कुलेखानी जलविद्युत आयोजनाले अवलोकनको लागि सबैलाई यो क्षेत्र खुला गरेकाले पनि धेरैको गन्तव्य बनेको हुनसक्छ । 

मकवानपुरको मार्खुमा निर्माण भएको कुलेखानी जलाशयसम्म काठमाण्डौबाट मोटरसाइकल वा गाडीमा झण्डै दुई घन्टाको यात्रापछि पुग्न सकिन्छ । शान्त वातावण, स्वस्थ खाना, चिसो हावापानी, मनोरम प्राकृतिक दृश्यका साथै कुलेखानीको ताजा माछाको स्वादले सबैलाई लोभ्याउँछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०७७

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया