काकाको हत्या गरेको अभियोगमा जन्मकैद

 माघ २, २०७६ बिहिबार १४:५२:५१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - जिल्ला अदालत भोजपुरले साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई जन्मकैदको फैसला गरेको छ ।

अदालतले बलबहादुरको हत्यामा संलग्न भोजपुर नगरपालिका-१० भैँसीपङ्खाका ४३ वर्षीय शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो । 

अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नायव सुब्बा खड्ग भट्टराईले बताउनुभयो ।

त्यस्तै अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ । आफ्नै घरको पेटीमा आराम गरेर बसेका बलबहादुरलाई श्रीकृष्णले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गरी गएकाे असोज १५ गते घाइते बनाएका थिए ।   

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक बाेतल रक्सी किनेर एक आपसमा मिलापत्र गरेको भए पनि बलबहादुरको गत असोज १७ गते घरमै  ज्यान गएको थियो । बलबहादुरको कुटाइका कारण ज्यान गएपछि परिवारले जाहेरी दिएको थियो  । 

अन्तिम अपडेट: चैत ४, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया