बाबुराम र कुलमान एकै ठाउँ, मर्स्याङ्दी प्रसारण लाइनमा देखिएकाे अवरोध हटाउन पहल

 माघ ६, २०७६ सोमबार १२:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘गेम चेन्जर’ आयोजनाको रुपमा रहेको मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइनको विवाद हटाउन पहल सुरु भएको छ ।

आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ४ र ५ का बासिन्दाले रुट परिवर्तन गर्न माग गर्दै एक वर्ष अघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दे आएका छन् । 

नेपाल विद्युत प्राधिकरणले सुरुमा मर्स्याङ्दी नदीको किनारै किनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो । तर नागरिक उड्डयन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एअरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो । 

प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने र सामाजिक तथा वातावरणीय क्षति कम हुने गरी बस्ती र जङ्गलको बीचबाट प्रसारण लाइनको नयाँ रुट तय गरेको छ । लमजुङको गरमवेशीबाट पालुङटार नगरपालिकाको वडा नम्बर ४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको  गरमवेशी–पालुङटार ५ दशमलव ६ किलोमिटर खण्डमा १६ वटा टावर निर्माण गर्नु पर्ने छ ।

तर पालुङटारका स्थानीय बासिन्दाले प्रसारण लाइन बस्तीबाट छिराउन खोजिएको भन्दै रुटमा असहमति जनाउँदै आएका छन् । उदीपुर–मार्कीचोक खण्डमा लमजुङतर्फ भने कुनै समस्या छैन । लमजुङमा पर्ने टावर निर्माण सुरु गरिएको छ ।

‘गेम चेन्जर आयोजना’ को रुपमा निर्माण सुरु गरिएको आयोजनामा अवरोध उत्पन्न भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पहलमा गोरखाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद चुडामणि खड्काको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिमा त्यस क्षेत्रका प्रदेश सभाका सांसद, नगरपालिकाका मेयर, उपमेयर, शहरी विकास मन्त्रालय लगायतका प्रतिनिधि रहेका छन् । 

पूर्व प्रधामन्त्रीसमेत रहनु भएका गोरखा नगरपालिका २ बाट प्रतिनिनिधि सभाका सांसद डा. बाबुराम भट्टराई, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश सभाका सांसद, नगरपालिका मेयर तथा उपमेयर, शहरी विकास मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायतले आयोजनाका प्रस्तावित रुटबारे पालुङटारमा स्थानीयसँग अन्तरक्रिया गरेका छन् ।  

पालुङटार विमानस्थल चल्न व्यवधान नहुने र स्थानीयलाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्नेमा भट्टराईले जाेड दिनुभयो । ‘प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौँ, सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्ने तर्फ सोचौँ’, उहाँले भन्नुभयो ।

‘तर मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौँ भने यहाँ आएको विकास पनि गुमाउन सक्छौँ, त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौँ ’, भट्टराईले थप्नुभयाे ।  

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक फाइदा बेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति काम हुने गरी विस्तृतरुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्नुभयो । 

‘एअरपोर्ट नचाहिने हो भने मर्स्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावरहरु पनि कम बनाउनु पर्छ, त्यहाँबाट लैजाँदा एअरपोर्ट या प्रसारण लाइनमध्ये एक छोड्नु पर्ने देखिएपछि दुवै सञ्चालन हुन सक्ने विभिन्न विकल्पहरुमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ट प्राविधिक विकल्पको रुपमा तय गरिएको हो’, उहाँले भन्नुभयो ।

घिसिङले भन्नुभयाे, ‘तत्काल यो लाइनको निर्माण गर्न सकिएन भने मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकि अरबाैँ रुपैयाँ पेनाल्टी तिर्नु पर्ने संवेदनशील अवस्था छ, त्यसैले विकासविरोधी पनि हैन तर मेरो जग्गाबाट लाइन लैजान दिन्न भन्नु भएन, अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिने छ ।’ 

उहाँले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टेसन बनाइदिन प्राधिकरण तयार गरेको समेत प्रतिबद्धता जनाउनु भयो । 

विद्युत् प्रसारण लाइनको रुट जताबाट लगे पनि स्मार्ट सिटीलाई कुनै असर नपर्ने र स्मार्ट सिटीको अपहरण नहुने प्रष्ट पार्दै शहरी विकास मन्त्रालयकी सहसचिव सरिता मास्केले स्मार्ट सिटीलाई धेरै विद्युतकाे आवश्यक पर्ने भएकाले लाइनलाई अवसरको रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । 

नागरिक उड्यन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एअरपोर्टलाई सञ्चालनमा ल्याउन चालु आर्थिक वर्षबाट स्तारोन्नति गर्न लागिएको जानकारी दिँदै मर्स्याङ्दी नदीको किनारै किनार प्रसारण लाइन निर्माण गरिएमा एअरपोर्ट चलाउन नसकिने प्रष्ट पार्नुभयो ।  

पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल र उममेयर पम्फा बसेलले विकास नरोकिने र जनतालाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्नेमा जोड दिनुभयो ।

यो लाइन एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ । मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण गर्न लागिएको हो । 

मनाङको धारापानीबाट  सुरु हुने प्रसारण लाइन चितवनको भरतपुरमा रहेकाे न्यु भरतपुर सबस्टेसनमा पुगेर टुङ्गिने छ । आयोजनाले धारापानी, खुदी, उदीपुर र न्यु भरतपुर २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गर्ने छ । 

युरोपेली लगानी बैंकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो ।  

मर्स्याङ्दी–काठमाण्डाै प्रसारण लाइन निर्माण अन्तिम चरणमा

मर्स्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाण्डाै उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाण्डाैकाे मातातीर्थसम्मको मर्स्याङ्दी–काठमाण्डाै २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ । धादिङको धुनीबेसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले क्रमशः तीन र दुई वटा टार निर्माण हुन सकेको छैन । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई आइतबार भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरण गरिदिन आग्रह गर्नुभयो । 

‘अहिले रहेको मर्स्याङ्दी–काठमाण्डाै १३२ केभी प्रसारण लाइनबाट काठमाण्डाैमा झण्डै एक सय मेगावाटभन्दा बढी विद्युत् लैजान सक्दैनौँ, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गरिदिनु पर्‍याे’, घिसिङले भन्नुभयो । 

निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया