वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

 माघ ९, २०७६ बिहिबार १०:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ ।

विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा याेगदान पुर्‍यानु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा गएकाे माघ ५ गते 'विविधता मे एकता राष्ट्रिय सम्मान' २०२० बाट सम्मान गरिएको हो ।

एनआरबी फाउण्डेशन एवं भव्या इन्टरनेशनलको अयोजना भएको अन्तर्राष्ट्रिय मैत्री सम्मेलनको अवसरमा भारतको राजस्थानको 'विवेकानन्द इन्स्टियुट अफ् टेक्नोलोजी' मा भएको समारोहमा राजोपाध्याय सम्मानित हुनु भएको हो । राजोपाध्यायले सङ्गीत क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ ।

समारोहमा राजोपाध्यायलाई डा. सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्ट्रिय सम्मान प्रदान गर्नु भएको हो । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा. निशा माथुर लगायतको सहभागिता थियो ।

तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाई १५ मा  राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा 'इन्टरनेशनल इण्डियन बेस्टिज अवार्ड' २०१९ प्रदान गरिएको थियो ।

राजाेपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेकाे थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।

नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ ।

सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया