विदेशमा देशको सपना : विकास निर्माणदेखि आकर्षक रोजगारी !

 माघ १८, २०७६ शनिबार ११:२७:० | मेरो कथा मेरो भोगाई

मिनराज विश्वकर्मा, अर्घाखाँची/हाल मलेसिया 

त्रिभुवन विमानस्थलबाट म डिलक्स बसमा चढेर १० मिनेटमा नयाँ बसपार्क पुगेँ । कहीँ कतै जाम भए पो ! सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा नागरिक घरघरमा दिपावली मनाइरहेका थिए ।

नमनाउन् पनि किन ? सरकारले चुनावको बेला घोषणा गरेकोभन्दा धेरै काम गरिसकेको थियो । मानिसहरु यती खुशी भएको मैले पहिले कहिल्यै देखेको थिइनँ ।
हरेक नगरदेखि गाउँसम्म कालोपत्रै सडक । टोल–टोलमा हरियाली । बाटो छेउछाउमा फूलैफूल । २०७७ अन्तिमसम्म कुनै टोलमा कच्ची बाटो नहुने भनेर प्रधानमन्त्रीले घोषणा गरिसक्नुभएको थियो ।  साँच्चै गर्न बाँकी केही छैन जस्तै लाग्थ्यो ।

निजी अस्पताल पुरै टाट पल्टेका थिए । हरेक जिल्ला अस्पतालमा अत्याधुनिक उपकरणसहित चौबीसै घण्टा सेवा । निजी स्कुलको अवस्था निजी अस्पताल जस्तै भएको थियो । सामुदायिक विद्यालयको अवस्था चामत्कारिक रुपमा फेरिएको थियो ।

०००

समाजमा सबै नागरिक समान आर्थिक हैसियतमा थिए । जातीय भेदभाव एकादेशको कथाझैं बनेको थियो । गाउँसहरमा विकासको लहर नै चलेको थियो । जताततै विकास निर्माणका कामहरु भइरहेका थिए ।

कतै ठूलाठूला भवन त कतै निकै चौडा सडक बन्दै थिए । पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम चैतको अन्तिमसम्म सकिने निश्चित थियो । यस्तै रेलमार्ग उदघाटन गर्न वैशाखमा चिनियाँ राष्ट्रपति नेपाल आउने खबरले मिडियामा निकै चर्चा छाएको थियो ।

निजगढ विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थल ठप्प जस्तै भएको थियो । तराईका जिल्लाहरुमा पनि विदेशीहरुको चहलपहल बढ्दो थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि सकिंदै थियो । त्यसपछि पोखरा विश्वकै सवोत्कृष्ट सहर हुने तर्क विद्धानहरुले गर्न थालिसकेका थिए ।

काठमाण्डौ तराई द्रुतमार्ग  आउँदो वैशाखमा सरकारलाई हस्तान्तरण गर्ने उदेश्यका साथ नेपाली सेना काममा खटिएका थिए । लगभग काम सकिसकेको थियो ।ठाउँ–ठाउँमा अग्ला टावरदेखि पार्क बनिरहेका देखिन्थे । घण्टौ लाग्ने बाटोमा केही मिनेटमै पुग्न सकिने भैसकेको थियो । ट्राफिक जाम त कहीँ कतै पनि थिएन । पहिलेको जस्तो ट्राफिक प्रहरीले चोकमा उभिएर सिटी बजाउनुपर्ने अवस्था कहाँ थियो र ? चोकचोकमा स्वचालित ट्राफिक बत्ति जडान । बाटो काट्नको लागि ठाउँठाउँमा आकासे पुल । सिंगापुरकाभन्दा राम्रा काठमाण्डौका सडक !

०००

उद्योगधन्दाको तीब्र विकासले देशमा रोजगारीका नयाँ नयाँ अवसरहरु सिर्जना भइसकेका थिए । युवाहरु कोही पनि बेरोजगार थिएनन् । वैदेशिक रोजागारीमा गएका नेपाली श्रमिकहरु स्वदेश फर्किरहेका थिए । उनीहरुलाई आकर्षक तलबसहित रोजगारीको सुनिश्चितता सरकारले गरेको थियो । युवाहरू पनि आफ्नै देशमा विदेशमा भन्दा आकर्षक तलब पाएकोमा मख्ख देखिन्थे ।

गाउँका बस्ती एकीकृत गर्ने योजनाले मूर्त रुप लिँदै थियो । शहरीकरण ह्वात्तै घटेको थियो । नेपालमा लगानीको लागि विश्वका चर्चित कम्पनीहरु इच्छुक देखिएको खबर बीबीसीले पनि प्रसारण गरिसकेको थियो । 

यस्तै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले नेपाल भ्रमणमा जान चाहेको भन्दै गरेको ट्वीटले सामाजिक सञ्जाल तातेको थियो । विश्वका धेरै अविकसित देशलगायत दक्षिण एसियाली देशका नेताहरु नेपालले गरेको विकासको अनुभव अनुसरण गर्न नेपाल आउने क्रम बढ्दो थियो ।

विश्वस्तरीय अनलाइन पत्रिकामा पनि नेपालको विकासबारे लेखहरु आइरहेका हुन्थे । यस्तो कुनै दिन हुँदैनथियो कि नेपालको खबर विश्वका चर्चित सञ्चार माध्याममा नआएको ।

००००

‘ओइ उठ् न । आज घुम्न जाने भनेको होइन ?’ एक्कासी मेरो निद्रा बिथोलिन्छ । बिहानै साथी कोठामा आएर मेरो ओढ्ने तान्दै मलाई बिउँझाउँछ । 
धत् म त सपना पो देखिरहेको थिएँ त । 

‘आहा नेपालमा कस्तो विकास भएको यार’ लामो हाइ काढ्दै मैले भनेँ । साथीले मलाई हेरिरह्यो । 

‘ओइ तँ मलेसियामा छस् बुझिस्’, जगको पानी गिलासमा हालेर मलाई दिँदै भन्यो, ‘अर्काको देशमा हड्डी घोटेर काम गरिरहेको छस्, छोड्दे यस्ता सपना देख्न ।’
‘बरु चाँडो तयार हो घुम्नको लागि’ उसले भन्यो । 

आफूले देखेको त्यो सपनाजस्तै मेरो देश बिपनामा किन हुन सकेन भन्ने चिन्ताले मलाई पोल्न थाल्यो । सोचें, यहाँको भन्दा धेरै कमाउने वातावरण मेरो देशमा कहिले बन्ला र आफ्नै गाउँठाउँमा फर्कन पाउँला !
 

अन्तिम अपडेट: बैशाख २४, २०७७

तपाईको प्रतिक्रिया