नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित टी–२० महिला क्रिकेट श...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता महाधिवेशन अर्को वर्ष २०७७ चैत मसान्तमा हुने भएको छ । आइतबार सकिएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्काे वर्ष चैत २५ देखि ३० गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले सङ्गठनात्मक र जनपरिचालनका लागि तत्कालै तीनमहिने राष्ट्रिय अभियान सञ्चालन गर्ने तय भएको जानकारी पनि दिनुभयो ।
केन्द्रीय निकायका बाँकी एकतालाई १५ दिनभित्र पूर्णता दिने, पार्टीका सङ्घीय सांसदको लेबीको एकरूपता कायम गर्ने, यसअघि जारी आचारसंहितालाई परिमार्जन गर्ने, छिट्टै पोलिटब्युरो गठन गर्ने तथा सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्दै अधिवेशन र महाधिवेशनमा पुग्दा अनिवार्य उक्त प्रतिशतको सहभागिता पुर्याउन बैठकले निर्देश गरेको छ ।
बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरूपमा पारित गरेको छ ।
यस्तै ११ बुँदे समसामयिक प्रस्ताव पनि पारित भएको छ । बैठकले पार्टीभित्र तत्काल बहसको विषय बनेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
गौतम उपाध्यक्ष निर्वाचित
बैठकले विधानमा उपाध्यक्ष पदको व्यवस्था गरी सचिवालयका सदस्य वामदेव गौतमलाई निर्वाचित गरेको छ । हालसम्म नेकपामा अध्यक्ष दुई, महासचिव एक र दुई वरिष्ठ नेता रहेकामा अब उपाध्यक्ष पनि थप भएको छ ।
गुटबन्दी अन्त्यको सङ्कल्प
बैठकमा सदस्यको सुझावका आधारमा पार्टीमा गुटबन्दी र पूर्वघटकको मान्यता माथिल्लो तहबाटै अन्त्य गराउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्कल्प गर्नुभएको छ ।
शीर्ष नेताको सम्पत्ति छानबिन गर्न उठेको विषयलाई केन्द्रीय अनुशासन आयोगले अध्ययन गर्ने र निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउन र जनमुखी प्रणाली स्थापित गर्नका लागि बहस सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
बैठकले आमनिर्वाचनमा नेपाली नागरिकबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्निपरीक्षाका रूपमा लिएर जनभावनानुरूप विकास निर्माण, सुशासन, जनसेवा र समृद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढङ्गले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकार तथा सबै स्थानीय तह र जनप्रतिनिधिलाई आह्वान गरेको छ ।
पार्टीको निर्देशबाट सरकार सञ्चालित छ : प्रधानमन्त्री
बैठकको समापन मन्तव्यका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार पार्टीले गरेको निर्देशानुसार सञ्चालन हुने तथा सरकारले गरेका राम्रा काममा पार्टीको समर्थन र तिनको प्रचार हुनुपर्ने आग्रह गर्नुभयो ।
उहाँले कतिपय सञ्चारमाध्यममले नेकपाका नेताहरूलाई भागबण्डा गराएर प्रस्तुत गरेको गुनासो गर्दै सोचविचार गरेर पार्टी एकता गरिएकाले कसैले एकतालाई तलमाथि गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
पार्टीमा वैचारिक छलफल र स्कूल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचारीलाई पक्राउ र कारबाही बढाएकाले भ्रष्टाचार बढेको जस्तो भान परेको जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी उग्रपन्थी, सङ्कीर्ण, उत्ताउला वा दक्षिणपन्थी छैनौँ । राष्ट्रियता र लोकतन्त्रको सवालमा कुनै कमी रहन दिँदैनौँ । यसमा पार्टी र सरकार स्पष्ट छ । ’ उहाँले चीनमा देखिएको कोरोना भाइरसको प्रकोपको नेपालमा प्रभाव पर्न नदिन सरकारले विशेष सतर्कता अपनाएको पनि उल्लेख गर्नुभयो ।
बैठक असाधारण भयो : दाहाल
बैठकमा उठेका विषयमाथि नेतृत्वका तर्फबाट जवाफ दिँदै अध्यक्ष दाहालले बैठक असाधारण रहेको र यसले आफूहरूलाई विकृति र विसङ्गतिबाट सच्याउँदै अघि बढ्न निर्देश गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी तपाईँहरूले उठाएका विषयमा गम्भीर छौँ । वैज्ञानिक समाजवाद हुँदै समाजवादमा पुग्ने यात्रामा पार्टीलाई एक ढिक्का बनाएर देशव्यापी अभियानमा सबै जुटौँ ।’
नेपालको नक्शा सार्वजनिक गरिने
बैठकले कात्तिक १६ गते नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशन गरेको राजनीतिक नक्शालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्शा, प्रमाण र दस्तावेजका आधारमा ती भूभाग एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अङ्ग हुन् भन्ने कुरामा पार्टी स्पष्ट भएको जनाएको छ ।
‘नेपाल र भारतका परराष्ट्र सचिवको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्वसहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ ’, ।
बैठकमा पारित प्रस्तावमा भनिएको छ, ‘राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै यस समस्याको समाधान कूटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ ।
साथै विभिन्न स्थानमा सिमाना र दशगजा मिचिएको र नेपालले आफ्नो भूभागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।’
बल्खुमा पार्टी कार्यालय बन्ने
बैठकले काठमाण्डौको मदननगरमा रहेकाे आफ्नै जमीनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ ।
देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरिएको पारित प्रस्तावमा जनाइएको छ ।
उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यले न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आह्वान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।