नेपाल आउने पर्यटकका बुकिङ धमाधम रद्द, व्यवसायी भन्छन् : ‘कोरोनाबारे चाहिनेभन्दा बढी हल्ला भयो’

 माघ २०, २०७६ सोमबार ८:३९:४४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वभरी त्रास छाएको छ । कोरोना भाइरसले गर्दा चीन मात्रै होइन, विश्वभरीकै पर्यटन र अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ । 

चीनबाट सुरु भएको कोरोना भाइरस २४ देशमा पुगिसकेको छ । चीनले पर्यटकीय गतिविधिमा रोक लगाएको छ । कोरोना अति प्रभावित क्षेत्रबाहेकका नागरिकलाई पनि अत्यावश्यक काम बाहेक घर बाहिर र देश बाहिर  नजान भनेको छ ।

कयौं देशले चीनको वुहानबाट जहाज चार्टर गरेर नागरिकलाई स्वदेश फर्काएका छन् । कोरोना भाइरसले चीनको अर्थतन्त्र नै अस्तव्यस्त बनाइदिएको छ । 

कोरोनाले चीन मात्रै होइन, नेपालको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ । तर सन् २०२० को सुरुकै हप्तामा चीनबाट सुरु भएको कोरोनाको संक्रमणले नेपालमा पर्यटक आवागमन निकै प्रभावित भएको व्यवसायीहरुको गुनासो छ । 

बुकिङ धमाधम रद्द

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)  का अध्यक्ष अच्युत गुरागाईंले कोरोनाकै प्रकोपको कारण हजारौं पर्यटकले नेपाल आउने टुर प्याकेजका बुकिङ रद्द गरेको बताउनुभयो ।

‘अहिले यति नै संख्यामा टुरका बुकिङ रद्द भए भन्ने ठ्याक्कै तथ्यांक त छैन, तर हाम्रो संस्थामा आवद्ध साथीहरुले हजारौंको संख्यामा बुकिङ रद्द भएको जानकारी दिनुभएको छ’ नाट्टाका अध्यक्ष गुरागाईंले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘चीनबाट आउने सबै पर्यटकको बुकिङ रद्द भएको छ, अरु देशबाट आउनेले पनि रद्द गरिरहेका छन्, यसले गर्दा हामीलाई चिन्तित बनाएको छ ।’

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदी पनि कोरोना भाइरसका कारण आफूहरुलाई चिन्तित बनाएको बताउनुहुन्छ । 

अहिलेसम्मको बुकिङ रद्दको अवस्थाले नेपाली पर्यटन क्षेत्रलाई असर गरिरहेको उहाँको भनाई छ । ‘अहिलेसम्म ट्रेकिङका केही बुकिङ रद्द भएका छन्, थप बुकिङ रद्द हुने चिन्तामा छौं, यही रफ्तारमा बुकिङ रद्द भएमा हामीलाई ठूलो नोक्सानी हुनेछ’ टानका अध्यक्ष खुमबहादुृर सुवेदीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

सबैभन्दा बुकिङ रद्दको मारमा होटल व्यवसायी परेका छन् । होटल एसोसिएसन अफ नेपाल हानका उपाध्यक्ष विनायक शाहले नेपालमा कोरोना भाइरसको संक्रमण नहुँदानहुँदै पनि नेपाली पर्यटन क्षेत्रले घाटा ब्यहोर्न थालेको बताउनुभयो । 

‘चीनबाट भएका होटल बुकिङ सबै नै रद्द भैसकेका छन्, नेपालमा भैरहेको नचाहिँदो हल्लाले युरोप लगायतका देशबाट भएका बुकिङ पनि रद्द भएका छन्’ हानका उपाध्यक्ष शाहले भन्नुभयो । 

व्यवसायी भन्छन् : कोरोनाबारे अनावश्यक हल्ला धेरै हुँदा समस्या भयो 

नेपालमा अहिलेसम्म जम्मा एक जनामा कोरोना भाइरस देखिएकोमा ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । शंका गरिएका ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । 

नेपालको अवस्था एकदमै सामान्य हुँदा पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भैरहेका अनावश्यक प्रचार र हल्लाले नेपाल आउने पर्यटक घटेको व्यवसायीको गुनासो छ । 

सरकारका हरेक निकाय र निजी क्षेत्रबीच दरिलो समन्वय भैरहेको र आत्तिनुपर्ने अवस्था नहुँदा पनि यहाँका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक हल्ला भैरहेको होटल एसोसिएसन अफ नेपाल हानकी अध्यक्ष सृजना राणा बताउनुहुन्छ ।

‘पूर्व तयारी राम्रो छ, सरकार र निजी क्षेत्र सँगसँगै अघि बढेको छन्, तर मिडिया र सामाजिक सञ्जालमा भने अवस्था निकै बिग्रिएजस्तो गरी प्रचार भैरहेको छ, जुन एकदमै गलत छ’ अध्यक्ष राणाले भन्नुभयो । 

यस्तै हानका उपाध्यक्ष विनायक शाहले पनि चाहिनेभन्दा धेरै हल्ला हुँदा नेपाली व्यवसायीले मारमा परेको बताउनुभयो । 

‘नेपालमा सरकारले पर्याप्त सतर्कता अपनाइरहेको छ, यहाँ कसैलाई पनि संक्रमण भएको छैन, तर कोरोनाबारे अनावश्यक मिडियाबाजी भयो, सामाजिक सञ्जाल पनि उस्तै भयो’ शाहले भन्नुभयो, ‘नेपालमा उपचार गराउन अस्पताल छैन, नेपालमा केही छैन भन्ने हिसाबले गैरजिम्मेवार सामग्री प्रवाह हुँदा नेपाल आउन ठिक्क परेका पर्यटकले पनि भ्रमण रद्द गरेका छन् ।’

अहिले नेपालमा कुनै पनि होटलमा विदेशीहरु बिरामी नपरेको र कसैलाई रुघाखोकी या ज्वरोको लक्षण देखिनेबित्तिकै अस्पताल पु¥याउने व्यवस्था रहेको शाहको भनाई छ । 

यस्तै नाट्टाका अध्यक्ष अच्युत गुरागाईं पनि नेपाल भ्रमण वर्ष चलिरहँदा कोरोनाको प्रकोपबारे नेपालमा हल्ला धेरै भएको बताउनुभयो । ‘हामीले कोरोनाबाट नेपाल सुरक्षित भएको जानकारी फैलाएर चीनको भ्रमण स्थगित  गरेका पर्यटकलाई नेपाल ल्याउन सक्छौं, तर हामीले देशलाई कोरोना भाइरस प्रभावित भएजस्तो गरी हल्ला फैलाइरहेका छौं, जुन गलत छ’ गुरागाईंले भन्नुभयो । 

वैकल्पिक गन्तव्यको खोजी

गएको वर्ष अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकोमा चीनबाट  मात्रै नेपालमा १ लाख ६९ हजार पर्यटक आएका थिए । 

जुन कुल पर्यटकको १४ दशमलव ११ प्रतिशत हो । तर यो वर्ष चीनबाट आउने पर्यटकको संख्यामा ठूलो कमी आउने देखेपछि सरकारले वैकल्पिक स्थानको खोजी गरिरहेको छ । 

चीनबाट आउने पर्यटकमा कमी आउने भएपछि सरकारले खाडीका देश, मध्यपूर्व र भारतको दक्षिण राज्यका पर्यटकलाई नेपाल तान्न प्रयास गर्ने तयारी गरिरहेको छ । 

सरकारले वैकल्पिक गन्तव्यबाट पर्यटक ल्याउनको लागि टिकट शुल्कमा छुट दिनेदेखि भिसा छुट दिनेसम्मका अफर ल्याउन लागेको मन्त्रालयले जनाएको छ । यसबारेमा २/३ दिनभित्रै पर्यटन क्षेत्रका सरकारी र निजी क्षेत्रका सबै व्यवसायीबीच छलफलको तयारी भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया