कुर्था-जयनगर चल्ने रेल सेट केही दिनभित्रै नेपाल आइपुग्दै

 माघ २५, २०७६ शनिबार १४:४७:९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा - धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ ।

निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ ।

नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो । रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रेल सेट रेलमार्गसम्म केही दिनभित्रै आइपुग्नेछ ।’

रेल सेट आइपुग्न लाग्दा सरकारले आवश्यक तयारी अघि बढाइरहेको छ ।  रेल सञ्चालनका लागि विगतमा रहेको रेल्वे कम्पनी ब्यूताउँने गरी तयारी अघि बढाएको विभागले जनाएको छ । रेल्वे कम्पनी कर्मचारी विनियमावलीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । सो विनियमावलीमाथि मन्त्रालयमा छलफलमा क्रममा रहेको महानिर्देशक मिश्रले बताउनुभयो ।

कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून छन् । त्यसमा पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको उहाँको भनाइ छ ।  रेल सञ्चालनका लागि कम्पनीमा सबै गरी झण्डै २०० जनशक्ति आवश्यक पर्ने महानिर्देशक मिश्रले बताउनुभयो । सञ्चालन, मर्मतलगायत कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्तिसँगै कम्पनीमा प्रशासन, लेखालगायत कर्मचारी आवश्यक भएको भन्दै विभागले सबै खालका कर्मचारी प्रस्ताव गरेको हो । 

नेपाल भारत जोड्ने यो रेलमार्ग सञ्चालनको तयारी भइरहँदा रेल्वे विधेयक पनि अघि बढेको छ । राष्ट्रियसभाको समितिमा दफावर छलफलमा रहेको विधेयकले रेल सञ्चालनका लागि छुट्टै प्राधिकरणको परिकल्पना गरेको छ । रेल्वे विधेयकमा अन्तरराष्ट्रिय रेल सञ्चालन, चालकको योग्यता, यात्रुको सुरक्षा, रेलको सुरक्षालगायत विषय समेटेको छ । 

सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो । ‘जी टु जी’ ९दुई सरकारका बीच० रेल खरिद गरिएको हो । दुई वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्को सेट आइपुग्ने विभागले जनाएको छ ।

डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो । 

उहाँका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ । सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ । भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ । कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ । जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो । 

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्षपछिबाट काम शुरु भएको चित्रकारले बताउनुभयो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन ।

 भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । 

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया