राष्ट्रिय नाटक महोत्सव इलाममा सुरु

 माघ २६, २०७६ आइतबार २०:२३:२३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – आइतबारदेखि इलाममा ‘राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ ।

सांस्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिका साहित्यक कला सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहकार्यमा महोत्सव सुरु भएको हो । पाँच दिनसम्म हुने महोत्सवमा समाजका मौलिकपन जोगाउन सात प्रदेशलाई समेटेर लोक जनजीवनमा आधारित रहेका नाटक प्रस्तुत हुनेछन् । 

महोत्सवको समयवधिमा सात प्रदेशबाट छनोट भएका आठ वटा नाटक प्रदर्शन हुनेछन् । जसमा आइतबार चेतना नाट्य समूहले ‘थान’ शीर्षकको नाटक मञ्चन गरेको छ । सुरेश पोर्तेलको लेखन तथा निर्देशनमा मञ्चन भएको नाटकमा धामी झार्की लगाएत घरमा चिन्ता राख्ने चलनलाई मुख्य विषय बनाएको थियो । समाजका यस्ता चलनलाई दुरुस्तै उतारिएको नाटकले हेर्ने दर्शकको मन जितेको प्रष्ट देखिएको थियो ।   

आइतबार मञ्चित नाटकको स्कृप्ट जस्तै गरी कलाकारहरुले खारिएको नाट्यकला प्रस्तुत गरेका थिए । नाटकमा भावना मगर, प्रकाश मगर, सुसान्त चापागाईं राम आचार्य, प्रतिमा रिजाल, प्रिजन दाहाल, दिक्षित घिमिरे लगायतका कलाकाहरुको अभिनय थियो ।   

महोत्सवमा सोमबारदेखि दिनको दुई वटा नाटक प्रस्तुत हुनेछन् । सोमबार बिहान पहिलो चरणमा एक नम्बर प्रदेशको तर्फबाट प्रविण पुमाको लेखन र किशोर अनुरागको निर्देशनमा ‘सुम्निमा पारुहाङ’ शीर्षकको मञ्चन हुनेछ । 

यस्तै दोस्रो चरणमा दुई नम्बर प्रदेशका तर्फबाट कुन्दन थारुको लेखन र कुन्दन चौधरीको निर्देशनमा ‘करन हरलता’ मञ्चन गरिनेछ । मङ्गलबार वाग्मती प्रदेशबाट श्रीराम दाहालकाे लेखन र कृष्णभक्त महर्जनको निर्देशनमा ‘राजकुमारको मल्ल युद्ध’ र गण्डकी प्रदेशबाट फूलमान बलको लेखन र निशा पाख्रिनको निर्देशनमा ‘नम बुद्ध’ मञ्चन गर्ने कार्यतालिका छ । 

यस्तै बुधबार प्रदेश नम्बर ५ बाट कमली नाई ठाकुरको लेखन तथा सुदीप पटेलको निर्देशनमा ‘कजरी’ प्रस्तुत हुँनेछ । कर्णाली प्रदेशबाट गणेश उपाध्यायको लेखन तथा निर्देशनमा ‘मेरो छैठी’ नाटक प्रदर्शन हुनेछ । बिहीबार सुदूरपश्चिमबाट पुष्पा अवस्थीको लेखन तथा झकेन्द्र बिसीको निर्देशनमा ‘लेली सज्जा’ प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।   

महोत्सवको अवसरमा साहित्यकार गणेश रसिक राईलाई सम्मान गरिएको छ । संस्थानले ५० हजार रुपैयाँ नगदसहित रसिकलाई सम्मान गरेको हो । महोत्सवको उद्घाटनअघि ठूलो टुँडिखेलबाट झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गर्दै कार्यक्रम स्थल सिटी हल पुगेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया