तपाईँले गरिरहेको खर्च आवश्यक हो कि अनावश्यक छुट्याउनुहोस्

 फागुन १, २०७६ बिहिबार १४:५०:२२ | डा. नवराज सिम्खडा

पैसा कमाउँ, पैसा बचाउँ भन्ने कसलाई लाग्दैन र ? हामी दिनरात नभनि यहाँ दुःख गर्छौं । घरपरिवार र देश नै छाडेर कमाउनकै लागि परदेश पुग्छौं । तर परदेश गएर मात्र पनि हुँदैन । यदि त्यहाँ कमाएको पैसा व्यवस्थापन गर्न जानिएन भने जाँदा जस्तै रित्तो हात फर्कन पर्छ । पैसा कसरी जोगाउने त ? 

सबैभन्दा पहिला त विदेश जान घरबाट खुट्टा उचाल्नुअघि नै आफ्नो लक्ष्य बनाउन पर्छ । ऋण कसरी लिने, कति वर्ष परदेशमा बस्ने, त्यहाँ कमाएको पैसा के के गर्ने सबै योजना हुनपर्छ । किनकि परदेश भनेको शरीरमा तागत छँदा मात्र हो । भोलि बुढेसकालमा के गर्ने ? त्यसैले बेलैमा पैसा चिन्नुपर्छ । 

घाँटी हेरेर हाड निलौं

पैसाको व्यवस्थापन कसरी गर्ने भन्दा पहिले बुढापाकाले भन्थे नि, ‘घाँटी हेरेर हाड निल्नु’, हो आफ्नो घाँटी हेर्नुपर्छ । यसको मतलब आफ्नो आम्दानी के हो भनेर सबैभन्दा पहिला बुझ्नुपर्छ । आम्दान्नी अनुसार खर्च गर्न पर्‍यो । आफूले कमाएको पैसामध्ये केही न केही लगानी गर्नुपर्छ । भोलि मेरो भविष्यका लागि भनेर सोच्नुपर्छ ।

तपाईं गरिबीमा जन्मिनु तपाईंको गल्ती होइन, तर दुःख अभाव र दरिद्रतामा मर्नुभयो भने त्यो तपाईंको गल्ती हो । किनकी त्यो तपाईंकै कारणले हो । त्यसैले बेलैमा पैसाको व्यवस्थापन गर्न जान्नु उत्तम हो ।

मेरो आम्दानी धेरै छ म बचत गर्छु भनेर हुँदैन । अनि म धेरै कमाँउछु अनि बचत गर्छु भनेर पनि हुँदैन । बचतको सुरुवात आजैदेखि गर्नुपर्छ । तपाईं १० रुपैयाँ खर्च गर्नुहुन्छ भने अब ८ रुपैयाँ गर्नुहोस्, दुई रुपैयाँ बचाउनुहोस् । हजार गर्नुहुन्छ भने ८ सयमा झार्नुहोस् २ सय बचत गर्नुहोस् । बचत गर्न पैसासँगै सकारात्मक सोच चाहिन्छ । नत्र बचत गर्न सकिन्न ।

परदेश जानेका लागि

आम्दानी गर्ने, बचत गर्ने र ऋण गर्ने पनि तरिका छन् । जस्तो कि विदेश जाँदै हुनुहुन्छ भने साहुसँग सयकडा तीन, चारका दरले ऋण नलिनुहोस् । हाम्रो समाजमा अहिले मिटर ब्याजले पनि धेरैलाई गाह्रो बनाएको छ ।

त्यसैले तपाईंको घर आँगनमा सहकारीहरु आएका छन् । व्यवसाय गर्नुहोस् या अरु प्रयोजनका लागि सस्तो ब्याजदरमा ऋण लिनुहोस् । त्यसका उपायहरु पहिचान गर्नुपर्छ ।

परदेश जानुअघि नै आफ्नो जीवनको लक्ष्य के हो ध्यानमा राख्नुहोस् ।  आफू परदेश के का लागि जाने हो आफ्नो लक्ष्यमा निरन्तर लाग्नुहोस् । सकारात्मक सोच भनेको चाहिँ मेरो पैसाको मेरो जीवनको व्यवस्थापन र परिवर्तन मैले गर्ने हो भनेर सोच्न पर्‍यो । सकारात्मक सोच आउनुपर्‍यो । 

तपाईंलाई बालबच्चा पढाउनु होला, घर चलाउनु होला, राम्रो ठाउँमा घर बनाउनु होला । के के होला नि तपाईंको भविष्यको योजना । त्यसैले कसैलाई आफ्नो कमाइ सापटी दिनुअघि सोच्नुहोस् ।

हुण्डीमार्फत पैसा पठाउनु हुँदैन । दुई चार हजार फाइदा भएजस्तो लाग्ला, तर यो गैरकानुनी हो । यसको भर हुँदैन । विदेशबाट पठाएको पैसा विदेशका चिल्ला सडक, अग्ला घर र समुद्र सम्झेर हैन त्यहाँको दुःख र कष्ट सम्झेर खर्च गर्नुपर्छ । अनि मात्र बचत हुन्छ । 

खर्च घटाउने उपाय

सबैको रहर हुन्छ राम्रो लगाउँ र मिठाे खाउँ भन्ने । हामी त्यहीअनुसार मेहनत पनि गरिरहेका हुन्छौं । तर हामीले यो याद गर्दैनौं कि हामीले गरिरहेको खर्च के हो भनेर छुट्याउनुपर्छ ।

कहिलेकाहीँ हामीले गरेको खर्च फजुल नहुन सक्छ ,तर अनावश्यक हुन्छ । जस्तै तपाईंलाई जाडोमा न्यानो ज्याकेट चाहिएको छ । तपाईंले पाँच हजारको किन्नुभयो।

त्यो अनावश्यक खर्च भयो । न्यानोका लागि तपाईंले १५ सयको ज्याकेट पनि किन्न सक्नुहुन्छ । यो सबै सोच र आदतको कुरा हो । खर्च कम गर्नु भनेकै अनुशासित हुनु हो । 

पैसा बचाउन आधा पेट खानु पर्छ भन्ने होइन । गरिरहेका कुराहरु छाड्नु पर्छ भन्ने होइन । तर चुहिने प्वालहरु टालेर बचाउन सकिन्छ । कुनै कुरा अति आवश्यक हुन्छ अनि कुनै चाहिँ अनावश्यक हुन्छ । हो यही बीचको कुरालाई हामीले घटाउनुपर्छ । 

धेरैजसो श्रीमान् विदेश गएपछि शहरमा झर्ने, शहरमा बच्चा बढाउने, शहरमै डेरा गर्ने अनि खेतबारी बाँझो राख्ने गरेको देखिन्छ । तर त्यो कतिबेला गर्ने भनेर चाहिँ सोच्नुपर्छ । त्यसो गर्दै नगर्नु भनेको होइन । तर आफ्नो प्राथमिकता छुट्याउनुपर्छ । 

जस्तै नेपालमा होस् या विदेशमा कम्पनीहरुले सञ्चय कोष भनेर रकम काटिदिएको हुन्छ  । सबै पैसा दिए किन काट्नुपर्‍यो भन्ने पनि लाग्छ होला तपाईंलाई । तर त्यो भनेको एउटा नियम हो । मानिसमा नियम र अनुशासन हुनुपर्छ अनि मात्र सकारात्मक सोचको विकास हुन्छ । धेरै गरिबीमा रहेका मानिसमा खराब आदतहरु हुन्छन् । 

जस्तै जाँडरक्सी खाने पैसा नजोगाउने पनि हुन्छ । त्यसैले सबैभन्दा पहिला यस्ता खराब आदत पनि छाड्नु पर्छ बचत गर्नका लागि । अनुशासन भनेको जाँगर हो । मानिसमा जाँगर हुनुपर्छ, काममा निरन्तर लागिरहने । 

व्यवसायको बाटो 

कुनै पनि काम थाल्दा व्यवसायिक योजना चाहिन्छ, यसमा दुईमत छैन । तर व्यवसायिक योजना बनाउदा धेरै कुरामा ध्यान दिनु पर्छ । कहिले पनि त्यसले गर्‍यो कमायो ।

म पनि गर्छु भनेर अन्दाजको भरमा काम थाल्न हुँदैन । उहिले हाम्रो बुढापाकाले भन्थे नि, ‘पैसा भयो तर राख्ने ठाउँ भएन रे, तर जब थैली किन्यो पैसा सकियो रे’, त्यो हुन भएन । 

सबैभन्दा पहिला पुँजीमा ध्यान दिनुपर्दछ । त्यसपछि सीप, बजार र जोखिमको पनि पूर्व तयारी गर्नुपर्छ । 

जस्तो तपाईंसँग पाँच लाख छ तर तपाईँ १० लाखको व्यवसाय गर्न चाहनुहुन्छ भने पाँच लाख ऋण कहाँबाट लिने र कसरी तिर्ने भनेर तपाईंले योजनामा समावेश गर्नुपर्छ । अनि भोलि केही जोखिम आयो भने के गर्ने त्यसको पनि तयारी गर्नुपर्छ । जस्तै बीमा पो गर्ने हो कि । बजारमा के माग छ भनेर ध्यान दिनपर्छ । 

पालिकाको भूमिका

कहिलेकाहीँ हामी काम उल्टो गर्छौं । सरकारले पनि किसानलाई खेती गर्नुअघि नै अनुदान दिन्छ । त्यसो गर्नुभन्दा तिमी उत्पादन गर म किन्छु भन्दा हुँदैन र ? त्यही अनुदानबाट बरु पाँच रुपैयाँ बढी दिएर किन्नु नि । पैसा नै पहिला दिएपछि त उसले खाइहाल्छ नि ।

त्यसैले अब पालिकाहरुले यस्तो कुरामा ध्यान दिने बेला भएको छ । वैदेशिक रोजगारीमा गएको होस्, फर्किएको होस् या यही केही गर्छु भन्ने युवालाई होस् । काममा प्रोत्साहित गर्न पालिकाले अब काम थाल्नु पर्छ ।

किनकि उसँग वैदेशिक रोजगारीमा जाने, फर्कने, र गाउँमा भएका युवाको तथ्याँक छ । आफने गाउँमा के सम्भावना छ खोज्नु पर्‍यो र त्यसमा लगानी बढाउनु पर्‍यो । अहिले उत्पादन गरेर मात्र कहाँ लाने बजारको समस्या छ भन्ने कुरा पनि आउनु पर्‍यो ।

त्यसैले गाउँपालिकाले अब सम्भावना र अवसरको खोजी गर्दै विदेशमा रहेका युवाको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बेला आएको छ । पालिकाको यसमा ठूलो भूमिका हुन्छ ।

गाउँपालिकासँगै जिल्ला, प्रदेश र सङ्घको पनि समन्वय हुन पर्‍यो । त्यसोभयो भने सहज हुन्छ । अहिले त हामी अल्मलिएका छौं । यसरी न व्यक्तिको समृद्धि, हुन्छ न देशको । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया