यसरी ल्याइँदैछ चीनमा रहेका नेपालीलाई

 फागुन २, २०७६ शुक्रबार ९:२४:२१ | अमरेन्द्र यादव
unn.prixa.net

काठमाण्डाै – सरकारले चीनको हुबेई प्रान्तमा रहेका एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याउँदैछ ।

यसबारे मन्त्रिपरिषद् बैठकले मङ्गलबार निर्णय गरेको थियो भने सरकारले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । हुबेई प्रान्तको वुहान शहर र आसपासका क्षेत्रमा बस्दै आएका एक सय ८० जना नेपालीले घर फर्किन चीनमा रहेको नेपाली दूतावासमा अनलाइन आवेदन भरेका छन् । 

स्वदेश फर्किनेसँग शर्तनामा

नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान अर्थात् क्वारेनटाइनमा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयमा शर्तनामा गराएको छ । नेपाल ल्याइएपछि उनीहरुले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सरकारले तोकेको शर्त पालना गर्नुपर्ने छ ।

क्वारेनटाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहीँको खाना खानुपर्ने र डाक्टर तथा सुरक्षाकर्मीको निगरानीमा बस्नुपर्ने छ ।

दुई सय ७४ सिटे जहाज चीन जाने

सरकारले चीनको हुबेई प्रान्तका वुहानसहित विभिन्न ठाउँमा रहेका एक सय ८० जना नेपालीलाई लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ ।

त्यस्तै तीन जना पाइलट, सात जना क्याबिन क्रु, दुई जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर गरी चालक दलका जम्मा १४ सदस्य पनि चीन जाने छन् । उनीहरुसहित चीनबाट ल्याइएका नेपालीको उपचारमा संलग्न हुने ८६ जना स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका सदस्यहरुलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ । 

पहिलो परीक्षण चीनको विमानस्थलमा 

कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण नसरेको निश्चित भएका नेपालीहरुलाई स्वदेश ल्याइँदैछ । नेपाल ल्याइने क्रममा चीनको वुहानमा रहेकाे अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको पहिलो स्वास्थ्य जाँच हुनेछ । जाँचको क्रममा कसैमा सङ्क्रमण भेटिए उसलाई नेपाल ल्याइने छैन । उसको उपचार चीनमै हुनेछ । सङ्क्रमण नदेखिएका व्यक्तिमात्र स्वदेश आउने छन् । विमानमा राखिसकेपछि सङ्क्रमणको लक्षण देखा परेमा विमानभित्रै व्यवस्था गरिएको 'आइसोलेशन' कक्षमा सङ्क्रमितलाई राखिने छ । 

त्रिभुवन विमानस्थलमा फेरि स्वास्थ्य परीक्षण

त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुको फेरि स्वास्थ्य परीक्षण गरिने छ । 

जाँचका लागि विमानस्थलमा पाँच वटा हेल्थ डेस्क राखिने व्यवस्था गरिएको छ । मेडिकल अफिसर र नर्ससहितको टोलीले थर्मल स्क्यानसहितको फेरि स्वास्थ्य परीक्षण गर्नेछन् । परीक्षण गर्दा कसैमा सङ्क्रमणको शङ्का लागेमा विमानस्थलबाटै टेकुकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइने छ । कोरोना भाइरसका सम्भावित बिरामीलाई उपचार गर्न वीर र पाटन अस्पताल लगायतका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । 

पाँच एम्बुलेन्सको व्यवस्था

चीनबाट ल्याइने नेपालीलाई विमानस्थलबाट खरिपाटीसम्म लान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयका प्रहरीसहितको संयुक्त टोली तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । यस्तै स्वास्थ्य परीक्षणपछि उनीहरुलाई त्रिभुवन विमानस्थलबाट खरिपाटीको क्वारेन्टाइनसम्म पुर्‍याउन पाँच वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । 

विमानस्थल १२ घण्टा अवरुद्ध हुने 

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार अवतरणका बेला ‘एयरक्राफ्ट डिस्इन्फेक्सन’ गरिने छ । त्यसका लागि विमानस्थल झण्डै १२ घण्टा अवरुद्ध हुनेछ । यस्तै एक सय ८० जना नेपालीलाई चीनबाट ल्याउने विमानलाई कम्तीमा ४८ घण्टा विश्राम दिइने छ । रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज पार्न त्यो विमान कम्तीमा पनि ४८ घण्टा व्यवसायिक उडानमा जाने छैन ।

त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक हप्तासम्म बिदा दिने छ । त्यो एक हप्ता उनीहरु चिकित्सकको निगरानीमा घरमै रहने छन् ।

विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क (मुखावरण), पञ्जा र आवश्यकताअनुसार अन्य स्वस्थ्य सावधानी उपाय अवलम्बन गर्नुपर्ने छ ।  

क्वारेन्टाइनको बसाइ

सरकारले चीनबाट ल्याइने नेपाली राख्न भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रको होस्टेलमा क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ । ६० कोठाको होस्टेलमा एक सय ८६ वटा बेड राखिएका छन् । महिलाका लागि छुट्टै ब्लकमा २५ बेड तयार छन् । ६ जनाले एउटा शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

क्वारेन्टाइनमा बस्नेका लागि खानाको व्यवस्था नेपाली सेनाले गर्नेछ । सेनाले आफैले तयार पारेको वा अरु ठाउँबाट तयार पारेर ल्याएको खानेकुरा मात्र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई दिइने छ । 

सरकारले क्वारेन्टाइनमा कपाल काट्नेदेखि अन्य सुविधाको व्यवस्था पनि गरेको छ । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरिने छ । क्वारेन्टाइनमा कोरोना भाइरसको लक्षण देखिए वा सङ्क्रमण पुष्टि भएमा तुरुन्त अस्पतालको आइसोलेशन कक्षमा एम्बुलेन्सबाट पुर्‍याइने छ ।

स्वास्थ्य जाँच र निगरानीका लागि चिकित्सकको दुई वटा समूह बनाइएको छ । क्वारेन्टाइनभित्र एउटा समूह बस्ने छ भने अर्को समूह बाहिर रहने छ । भित्रका चिकित्सकलाई सङ्क्रमण भए बाहिरका चिकित्सक क्वारेन्टाइनभित्र ड्युटीमा जाने छन् । मिडिया र परिवारका सदस्यका लागि निश्चित दुरीमा सूचना सम्प्रेषण केन्द्रको व्यवस्था गरिएको छ । 

भक्तपुरका बासिन्दा डराउनुपर्दैन 

चीनबाट कोरोना भाइरस सङ्क्रमित नेपालीलाई स्वदेश फर्काइँदैछ भन्ने भ्रम धेरै नेपालीमा परेको छ । यस्तै खालको भ्रमबाट आत्तिएर भक्तपुरका बासिन्दा आक्रोशित मात्र होइन, आन्दोलित पनि भएका छन् ।

किनभने सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र भक्तपुर जिल्लामा पर्छ । खरिपाटी आसपासका क्षेत्रका बासिन्दा भाइरसको सङ्क्रमण सर्ने त्रासका कारण बसाइ सर्न थालेको समाचारहरु आइरहेका छन् । 

तर चीनमा रहेका एक जना नेपालीलाई पनि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण भएको छैन । अर्कोतिर सबैले बुझ्नपर्ने तथ्य के हो भने भाइरसको सङ्क्रमण नभएका स्वस्थ नेपालीलाई स्वदेश फर्काइँदै छ ।

फर्काइएपछि उनीहरुलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार खरिपाटीको विद्युत् तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा डाक्टर र सुरक्षाकर्मीको निगरानीमा राखिने छ । त्यसैले खरिपाटी छेउछाउका बासिन्दाले आत्तिनुपर्ने र डराएर डेरा सर्नुपर्ने कुनै कारण छैन । 

अन्तिम अपडेट: फागुन २९, २०८०

अमरेन्द्र यादव

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया