ह्याप्पी भ्यालेन्टाइन डे !

 फागुन २, २०७६ शुक्रबार १४:१०:५३ | विना न्याैपाने
unn.prixa.net

शुक्रबार १४ फ्रेबुअरीको दिन बिहानै कफी लिन पसल गएकी थिएँ । पसलमा अन्दाजी सात वर्षको बालक भेटियो । मलाई देख्नेबित्तिकै उसले भन्यो, 'ह्याप्पी भ्यालेन्टाइन डे' । सुनेर अचम्म लाग्यो । एकछिन त के भनौँ के भयो । पछि ‘थ्याङ्क यु बाबु’ भनेँ । 

उतिखेरै उसले 'सेम टु यु' भन्नुपर्छ भन्यो । ओके छ त, 'ल सेम टु यु' भनेँ । त्यो बालक रमाउँदै 'एस्, आई एम् सो ह्याप्पी' भन्दै  रमाउन थाल्यो । 

‘मलाई हजुर अस्ति नै देखि धेरै मन परेको थियो । आज त झ्याप्पै भेटेंँ',  त्यो अन्जान बालकको मुहारमा खुशी देखेँ । 

मलाई हतार छ गएँ ल, भनेर घर पुगेँ । घरमा पुगेर कफी बनाउन थाल्दा मनमा प्रश्नहरु उब्जिन थाले । हिजोआज किन हाम्रो संस्कार फेरिएको छ ?  फेरिएको संस्कारलाई हामीले किन अँगाल्न सकेका छैनौँ ? प्रेम गर्नु आफैमा नराम्रो हो र ?  यस्ता अनेकौँ प्रश्नले कफीलाई भुलायो । 

मानिस सामाजिक प्राणी हो । समाजमा घुलमिल हुन र जीउनको लागि मानवीय आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । त्यो आवश्यकता पूरा गर्ने क्रममा हर कुरासँग प्रेम बसेको हुन्छ । तर बिडम्बना, आज समाजमा यसको सन्तुलन बिग्रँदै गएको छ । जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ ।

सपना बिग्रँदा र छाती चर्कँदा सन्तानलाई के भयो होला ? कस्तो अवस्थामा छन् होला ? भन्ने आशङ्कामा रातभर जागा रहने आमाबुवालाई वास्ता नगर्ने युवायुवती 'रोज डे', 'किस डे', 'चकलेट डे' र 'भ्यालेन्टाइन डे' को व्यग्र प्रतिक्षामा बसिरहेका हुन्छन् । 

त्यसो त बुवाआमालाई पनि सम्झन्छन् । तर वर्षको एक दिन । आमाको मुख हेर्ने र बुवाको मुख हेर्ने दिन । 

मनमा फेरि प्रेम दिवसकै कुरा खेल्न थाले । युवाका लागि लक्षित प्रेम दिवसलाई धेरैले प्रेम गर्ने दिनको रुपमा मात्रै बुझ्ने गरेका छन् । तर वर्षमा एक दिन मात्रै होइन, माया गर्ने मनको लागि हरेक दिन प्रेम दिवस हुन सक्छ । 

अनि कसैले कसैलाई स्वच्छ मनले माया गर्नु विकृति होइन । तर हाम्रो समाजले त्यो बुझ्न सकेको छैन या त हामीले बुझाउन सकेका छैनौँ । ‘फलानोको त लभ परेको थियो रे, अब त्यो अकार्को जुठोलाई कस्ले हेर्छ ? फलानी त आज योसँग मस्किँदै हिँडेकी थिइ निको चाल छैन’, यसैगरी कुरा काट्ने धेरै हुन्छन् । 

यस्तो सुन्दा मनमा प्रश्न उठ्छ, के कैसैले कसैलाई माया गर्नु गल्ती हो र ? कसैसँग घुम्न जानु नराम्रो हो र ? पक्कै पनि होइन । हाम्रो सोच्ने तरिका मात्र गलत हो ।

त्यसो त पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय भ्यालेन्टाइन डे मा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामी कहाँ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि हो ।

प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिँदैन । प्रेमको कुनै हद र सीमा पनि हुँदैन । यसको नाप गर्ने कुनै एकाइ पनि छैन । न त यसको सुरु छ, न यसको कुनै अन्त्य नै । प्रेम भनेको जीवन हो, यदि आमालाई पेटको बच्चाप्रति प्रेम नहुँदो हो त, जीवन कहाँ रहन्थ्यो ? जीवन कुनै नियमले चल्दैन । त्यसैले प्रेमको पनि कुनै नियम हुँदैन ।
मायामा कुनै स्वार्थ र शर्त हुनु हुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको मागलाई स्वीकार गर्नु हो । माया हँदै नहोस्, भएपछि सधैँभरिलाई होस् । 

जे जस्तो डे र दिवस भए पनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई नि:स्वार्थ माया गर्न सिकाओस् । पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि प्रेमभाव भरियोस् । 'ह्याप्पी भ्यालेन्टाइन डे !' 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया