भोजपुर नगरपालिकाका मेयरसहित १७ जना भ्रमणमा : सेवाग्राही मर्कामा

 फागुन ३, २०७६ शनिबार ८:३२:४० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको ठप्प पारेर साताव्यापी भ्रमण हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

नगरपालिकाका मेयर कैलासकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधिक, कम्प्यूटर अपरेटरसहित १७ जना भ्रमण हिडेँपछि कार्यालयबाट दिइने दैनिक कामकाजमा समस्या भएको हो ।

गएकाे आइतबारबाट भ्रमणमा गएको भए पनि भ्रमण टोली कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।


कार्यालयमा सेवा लिनको लागि आएका आङपासाङ शेर्पाले भन्नुभयाे, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको यो चरम लापर्वाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारी समेत थाहा छैन, यस्तो गैर जिम्मेवारी पनि हुन्छ ?’

कार्यालयका अधिकांश शाखाहरुको कर्मचारीविहीन रहेका छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोबार भने ठप्प छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकीय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भनिए पनि लिखित रुपमा जिम्मेवारी दिएको छैन । यसका कारण आर्थिक कारोबार लगायतका काम ठप्प भएका हुन् ।

इन्जिनियर अरुण हमालले भन्नुभयाे, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर प्रमुख प्रशासकीय अधिकृत सरले लिखित रुपमा जानकारी दिनुभएको छैन ।’

नगर प्रमुख, प्रशासकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिले कति दिनकाे भ्रमण हो भन्ने समेत थाहा नभएको बताएका छन् ।

नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘कतिदिने भ्रमण हो त्यो  थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरु कुरा मलाई केहि थाहा छैन ।’

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले नगर कार्यपालिकाको बैठकमा भ्रमण विषयमा कुनै पनि निर्णय नभएकोले आफूलाई कुनै पनि जानकारी नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगायत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा बैठकबाट निर्णय भएको मलाई जानकारी छैन, उहाँहरु नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया