राँके–रवि–भेडेटार सडकखण्ड : निर्माण कार्य सुस्त, गुणस्तरहीन काम

 फागुन ३, २०७६ शनिबार १५:३९:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पूर्वी पहाडको महत्वपूर्ण सडकखण्डको रुपमा रहेको राँके–रवि–भेडेटार सडकखण्डमा कालोपत्रेको लागि भइहरेको काम गुणस्तरहीन भएको पाइएको छ ।

सडकखण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमिदेखि राँकेसम्म अनुगमन गर्दा गुणस्तरहीन काम भइरहेको पाइएको हो । 
जनप्रतिनिधि सहितको टोलीले सडक अनुगमन गर्ने क्रममा गुणस्तरीय काम नभएको पाइएको रेेजिडेन्सियल इञ्जिनियर शङ्करबहादुर खनालले बताउनुभयो । सडकको मेसिनरी वाल लगाउने क्रममा बाहिर सिमेण्ट देखाएर भित्र ड्राइ वाल लगाएको पाइएपछि वाल नै भत्काइएको खनालको भनाइ छ ।

सडकको काम गुणस्तरहीन हुन नदिन अब बाँकी दिनहरुमा विज्ञ टोलीहरुसँग अनुगमनका कार्यलाई निरन्तरता दिने फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष विरबहादुर कुरुम्बाङले बताउनुभयो । सडक निर्माणका क्रममा गुणस्तरहीन काम भइरहेको समयमै थाहा पाएकोले जोगाइएको कुरुम्बाङको भनाइ छ ।

पर्खाल भत्काएर गुणस्तर कायम गर्न कामको जिम्मा पाएको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले पेटी ठेक्का दिएको नेपाली ठेकेदारलाई सुझाव दिएको छ । मुख्य ठेकेदार कम्पनीले कामको गुणस्तर कायम गर्न सहमति जनाएको इञ्जिनियर खनालले बताउनुभयो ।

पेटी ठेकेदार दीपेश बोहोराले निर्माण कम्पनी र कन्सल्टेन्सीबीचको समन्वय अभावले काम गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गर्नुभएको छ । आउँदा दिनमा कमजोरी सुधार्दै जाने उहाँको प्रतिबद्धता छ । 

सडक कालोपत्रेको लागि भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले पाएको छ । निर्माण कम्पनीसँग ११ नोभेम्बर सन् २०१८ मा सम्झौता भएको छ ।
तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रूपैयाँमा सम्झौता भएको हो । सम्झौता अवधि ३६ महिनाको छ । जसमा एक्जिम बैङ्क अफ इण्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लगानी रहेको छ । लक्ष्यअनुसार एक वर्षमा २० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा त्यो समेत हुन सकेको छैन ।

निर्माण कार्यमा ढिलाई भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले गएको पुष महिनामा सडकको अनुगमन गरी लक्ष्यअनुसार कामको प्रगति देखाउन निर्देशनसमेत दिनुभएको थियो । १ सय ३ किलोमिट लामो यो सडकखण्डले पूर्वी पहाडका चार जिल्ला पाँचथर, इलाम, धनकुटा र मोरङलाई जोड्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया