चीनबाट आउने नेपाली राख्न ‘क्वारेण्टाइन’को सम्पूर्ण तयारी पूरा (तस्बिर सहित)

 फागुन ३, २०७६ शनिबार १९:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रमेश गिरी

भक्तपुर - सरकारले चीनबाट नेपाल फर्किने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीमा निर्माण गरेको क्वारेण्टाइनको सम्पूर्ण तयारी पूरा भएको छ । 

कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइने नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिनेछ । 

तस्बिर : रमेश गिरी

क्वारेण्टाइनमा भवनबाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरिएको सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाण्डौका सहसचिव कुमार घिमिरेले जानकारी दिनुभयो । क्वारेण्टाइनमा जस्ताले वरिपरि बार लगाइएको छ भने प्राधिकरणका चारवटा भवन प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ । 

ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्ने गरी चारवटा भवन तयार पारिएको छ । भवनहरुमध्ये ब्लक ‘ए’ मा ८६, ब्लक ‘बि’मा ८९ र ब्लक ‘सि’मा २५ जना गरी कुल २०० जना क्षमता रहेको क्वारेण्टाइन तयार पारेको संघीय सचिवालयका उपसचिव बिदुर खड्काले बताउनुभयो ।

 तस्बिर : रमेश गिरी

नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चरसहित १७ जनाको टोली चीन पुगिसकेको छ । 

पुरुष १४३ जना, महिला ४२ जना र विदेशी नागरिक हुण्डुरसकी एक महिला गरी १८६ जनालाई चीनबाट आइतबार बिहान २ बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपुर्याउने बताइएको छ । 

तस्बिर : रमेश गिरी

त्रिभुवन विमानस्थल ल्याइएपछि उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर पाँचवटा बसमा राखिने र एम्बुलेन्सँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर सुरक्षाकर्मीले खरिपाटीको क्वारेण्टाइनमा पुर्याउने छन् । 

क्वारेण्टाइनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवं रगत संकलन गरिने छ भने अन्य दिन व्यक्ति स्वयंले जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्ने छ । 

तस्बिर : रमेश गिरी

आवश्यकताअनुसार कन्ट्रोल रुममा सम्पर्क गर्न सकिने र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन गरेर स्वास्थ्य जाँच गर्न सकिने छ । जाँचबाट शंकास्पद देखिए क्वोरेन्टाइनअगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिने छ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

तस्बिर : रमेश गिरी

क्वारेन्टाइनमा रहँदा अभिभावक वा आफन्तसँग प्रत्यक्ष भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइनअगाडि आगन्तुक कक्षमा सबै जानकारी भने दिइने व्यवस्थागरिने छ ।

कोरोना भाइरसको सङ्क्रमण नभएका, स्वस्थ्य व्यक्तिलाई ल्याएर १५ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने तयारी सरकारले गरेकोले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीले आग्रह गर्नुभयो ।

तस्बिर : रमेश गिरी

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • रण बहादुर लोप्चन

    Feb. 15, 2020, 9:03 p.m.

    राम्रो काम

  •  0 Reply

तपाईको प्रतिक्रिया