टेको लगाएको घरभित्र ‘टेस्टी’ चिया !

 फागुन ५, २०७६ सोमबार १३:५४:३४ | विना न्याैपाने

काठमाण्डौ - वसन्तपुरको कुमारी घरको आडैमा जोडिएको सानो पसल । भित्र बस्ने ठाउँसम्म छैन । घरलाई भित्रदेखि बाहिरसम्म नै टेको लगाएर अड्याइएको छ । तर यो घरभित्र बन्ने चिया चाहिँ निकै ‘टेस्टी’ हुन्छ । त्यसैले चियाका पारखीको लाइन बिहानदेखि बेलुकासम्म देख्न सकिन्छ । 

पसल बाहिर दुई जना महिला चिया बोकेर आउँछन् । भित्र बसेर चिया पकाउने व्यक्ति चाहिँ अर्कै छन् । ढोकाबाट भित्र चियाउने बित्तिकै ग्यास चुल्हो, ठूलो डेक्चि, छेउमा मान्छेभन्दा ठूलो भाडामा तातिरहेको दूध, वरिपरी धोइपखाली राखिएका साना-साना सिसाका गी्िलास र सबै सामान छरपस्ट भए पनि बाहिर चियाको पर्खाइमा बसेको लाइन चियाका पारखी बसेका हुन्छन् ।  

धेरैलाई चिया पसल दिदीको हो भन्ने लाग्छ । किनभने चिया पकाउने दाइ बाहिर निस्किनै भ्याउनुहुन्न ।  ‘कहिलेकाहीँ त बस्दाबस्दा खुट्टाले थाहा नपाउने हुन्छ,’ चियापसलका मालिक ओमबहादुर खत्रीले बताउनुभयो । २०-२५ मिनेटसम्म लाइनमा बसेर चिया पिएको अनुभव वसन्तपुर जाने धेरैको छ । अरु ठाउँमा पाइने मूल्यमा नै स्वादका पारखीका लागि मिठो चिया यो पसलमा पाइन्छ । 

यो १३ वर्षदेखिको चिया पसल धेरैको रोजाइ बनेको छ । रामेछापबाट आउनुभएका खत्रीले पहिला अरुको पसलमा काम गर्नुभयो । ‘अहिले उमेरले ६० भए पनि जोश जाँगर भने युवाको जस्तै छ,’ उहाँले ठट्यौली पारामा भन्नुभयो । 

उहिले बाटोमा बदाम बेच्न पनि उहाँ पछि पर्नुभएन । त्यस्तै किट्लीमा चिया बोकेर डुलीडुली बेचेको अनुभव पनि उहाँसँग छ । वसन्तपुरको कुमारी घरसँगै रहेको यो चिया घर आफैँ टेकोको सहायताले अडिएको छ । तर त्यही टेको लगाएको घरले तीनजनाको परिवारलाई अड्याएको छ । 

ओमबहादुर आफूले अरुको काम गर्दाको दुःख सम्झेर अरुलाई काममा गर्न राख्छु अनि सेवा सुविधा राम्रो दिन्छु भन्ने सोचेर यो चिया पसल खोल्नुभएको हो । भूकम्प जानुभन्दा पहिला ६ जनालाई उहाँले रोजगारी दिनुभएको थियो । अहिले पसलमा तीन जना कामदार राख्नुभएको छ । 

बिहान चार बजेदेखि बेलुकी आठ बजेसम्म खुल्ने चिया पसलले धेरैको मन जितेको छ । १५ हजार रुपैयाँको लगानीमा खोलेको चिया पसलबाट उहाँले मासिक २५ हजार आम्दानी गरेर बैंकमा राख्नुहुन्छ । अहिले दिनको २५ लिटरभन्दा बढी दुध चियाको लागि खपत हुने गर्दछ । सबै खर्च कटाएर बच्ने पैसा प्रयाप्त छ । 

त्यसैले घरखर्चको लागि बैंकबाट निकाल्नु परेको छैन । घरका सबै जना कमाउने भएकाले कसैलाई हेर्नुपरेको छैन । ‘जहिलेसम्म सक्छु यो काम छोड्दिनँ,’ उहाँले भन्नुभयो । 

पहिला दूध लिन उहाँ आफैँ भक्तपुरको खरिपाटी जानुहुन्थ्यो । अहिले दुधपसलेले आफैँ पु¥याउन आउँछन् । बजार मूल्यभन्दा एक, दुई रुपैयाँ सस्तोमा दुध दिन्छन् ।  कहिलेकाहीँ यसो माथि अर्थात् अड्याइएको घरतिर हेर्याे भने उहाँको मन डराउँछ । तर चियाखान आउनेको भिड र मायाले आँट बढेको अनुभव उहाँको छ ।

‘अरुलेभन्दा कम मूल्यमा उनीहरुकोभन्दा मिठो चिया बेच्ने भएकाले ३० मिनेट पर्खेेर पनि ग्राहकले चिया खाएरै जानुहुन्छ,’ उहाँले बताउनुभयो । १०, २० र २५ रुपैयाँमा आफूले खोजेकोजस्तो चिया पाउने भएकाले उहाँको पसलमा भिड लाग्ने गरेको अनुमान सहजै लगाउन सकिन्छ ।

 यो उहाँको मुहारमा बलेको खुसीले पनि बताउँछ । अर्काको देशमा पसिना बगाउन जानुभन्दा आफ्नै परिवारसँग बसेर कमाएको आनन्द छुट्टै हुन्छ । बिरानो देशमा गएर लाखै कमाए पनि आफ्नो घरपरिवारसँग बसेर कमाएको मज्जा बेग्लै हुन्छ भन्दै खत्रीले आफ्नै देशमा पसिना बगाउन सबैलाई आग्रह गर्नुहुन्छ  । 

अन्तिम अपडेट: जेठ १५, २०७७

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया