‘मर्करी मीना’ कम्पनी : पाएनन् सबै श्रमिकले बाँकी तलब, फेरि निवेदन दिन अनुरोध

 फागुन ८, २०७६ बिहिबार १३:१:१ | सन्जिता देवकोटा

काठमाण्डौ – गएको माघ १९ गते वैदेशिक रोजगार विभागले कतारको मर्करी मीना कम्पनीबाट बाँकी रहेको तलब नलिई फर्किएका ३३ जान श्रमिकलाई सातदिन भित्र विभागमा सम्पर्क गर्न भन्यो। 

आफू मर्करी मीना कम्पनीमा काम गरेको प्रमाणसहित बाँकी रकम लिन सात दिनभित्र विभागमा सम्पर्क गर्नुपर्ने विभागको सूचनामा उल्लेख थियो । माया मारिसकेको पैसा पाउने खबर सुनेपछि कपिलवस्तुका सकिल अहमद मुसलमानले हतार हतार सूचना पढ्नुभयो । ३३ जनाको सूचीमा आँखा डुलाउनुभयो ।तर सूचीमा उहाँको नाम थिएन। 

आफूसहित ५५ जनाले कतारमा रहेको नेपाली दूतावासमा आफ्नो समस्यासहित निवेदन दिए पनि किन ३३ जनाको मात्र पैसा आयो भनेर उहाँ छक्क पर्नुभयो । ‘पीडित त म पनि हो, मजस्तै अरु साथीहरु पनि हुन् तर पैसा किन सबैको आएन ?’ सकिल सोध्नुहुन्छ, ‘पैसा त सबैले पाउन पर्‍यो नि, कोहीलाई पैसा दिने हामीले चाहिँ पैसा किन नपाएको भन्ने कारण पनि नदिने किन ?’

सन् २०१५ मा प्याराडाइज इन्टरनेशनल म्यानपावरमार्फत उहाँ कतारको मर्करी मीना इलेक्ट्रोमेकानिकल कम्पनीमा लेबरको काममा जानुभएको हो । ऋणपान गरेर कतार पुगेका सकिलले सोचेजस्तो भएन मर्करी मीना कम्पनीमा काम र कमाइ । काम गर्दा गर्दैको कम्पनी बन्द भयो । काम गरेबापतको तलब पनि पाउनुभएन । फर्किंदा काम गरेबापतको ७ हजार ६ सय ५८ कतारी रियाल झण्डै २ लाख ४१ हजार रुपैयाँ छाडेर आफैंले टिकट काटेर आउनुभयो । 

सकिल अहमद मुसलमान

आफैंले टिकट काटेर दुई वर्षअघि ३० अक्टोबर २०१७ मा घर फर्किएको सकिल बताउनुहुन्छ । घर फर्किएर फेरि सकिल अर्कै कम्पनीमा कतार नै जानुभयो । अहिले पनि उहाँ कतारमै कार्यरत हुनुहुन्छ । 

सकिलजस्तै कञ्चनपुरका सुरेन्द्र बोहोराको नाम पनि विभागले प्रकाशन गरेको ३३ जनाको सूचीमा परेन । उहाँले त्यो कम्पनीमा उहाँले दुई वर्ष काम गर्नुभयो । उहाँको ४ हजार एक सय कतारी रियाल तालब पाउन बाँकी छ । 

‘त्यो कम्पनीमा काम गर्दा पनि दुःख दियो, दुःख अनुसारको पैसा पनि दिएन, तीन चार महिना त हामीलाई खान पनि दुःख भयो’ सुरेन्द्र भन्नुहुन्छ । सुरेन्द्र अहिले साउदीमा काम गर्दै हुनुहुन्छ । 

मर्करी मीनाबाट तलब नलिइ फर्किएका झापाका रामकृष्ण निरौला अहिले मलेसियामा हुनुहुन्छ । ५ हजार ६ सय कतारी रियाल बाँकी तलब छाडेर फर्किएका निरौला आफ्नो पैसा नआएको खबर देखेपछि दुःखी हुनुभएको छ । ‘त्यहाँबाट आएर ऋण तिर्न मलेसिया आएँ, सँगैका साथीको नाम आयो तर मेरो आएन,’ उहाँ भन्नुहुन्छ, ‘म त मलेसियामा छु, मेरो समस्या दूतावासलाई भन्दिन पर्‍यो, सँगैका साथीले पाउने मैले नपाउन किन ?’

रामकृष्ण निरौला

मर्करी मीनाबाट ९ हजार २ सय ८५ रियाल तलब पाउन बाँकी महोत्तरीका गोविन्द मोची अहिले साउदीमा हुनुहुन्छ । कतारमा तीन महिनासम्म बाँकी रकमका लागि लडे पनि बाँकी कुनै सीप नचलेपछि आफैंले पैसा तिरेर घर फर्किएको उहाँ बताउनुहुन्छ । ‘सँगैका साथीसँगै निवेदन त दिएको हो, तर हाम्रो पैसा चाहिँ किन आएन ?’ गोविन्द प्रश्न गर्नुुहुन्छ ।

घर फर्किनुअघि ५५ जना कतारमा रहेको नेपाली दूतावासमा गएर आफूले पाउन बाँकी तलब उल्लेख गरेर निवेदन दिएको सकिल मोहम्मद मुसलमान बताउनुहुन्छ।उहाँका अनुसार त्यो बेला निवेदन दिने ३३ जनाको पैसा आएको भए पनि उहाँसहित अझैं २२ जनाको बाँकी छ । 

वैदेशिक रोजगार विभागका अनुसार ३३ जना श्रमिकको काम गरेबापतको ३ देखि ६ महिनासम्मको २ लाख ८५ हजार कतारी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ कतार सरकारले दिने भएको छ । यो कम्पनी २०१७ मै पूर्णरुपमा बन्द भइसकेको भए पनि कतार सरकारको पहलमा श्रमिकले बाँकी तलब पाएको विभागले जनाएको छ । 

तलब लिन बाँकी रहेका श्रमिकको सूची हेर्नुहोस्

किन आएन सबै श्रमिकको बाँकी रकम ?

शर्तअनुसारको सेवा, सुविधा र तलब नपाई मर्करी मीनाबाट कति श्रमिक फर्किए भनेर विभागसँग तथ्याँक छैन । तर विभागको रेकर्डमा हेर्दा झण्डै ५६ जनाले यो कम्पनीमा जान श्रम स्वीकृति लिएको विभागका अनुगमन तथा अभिमुखीकरण शाखाका निर्देशक हरिप्रसाद ज्ञवाली बताउनुहुन्छ । तर कसरी ३३ जना मात्र श्रमिकको बाँकी तलब आयो भन्ने विषयमा कतारमा रहेको नेपाली दूतावास र वैदेशिक रोजगार विभाग पनि जानकार छैन । 

कतारमा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराई भन्नुहुन्छ, ‘सुरुमा त ५५/५६ जना श्रमिक दूतावासमा आएर निवेदन दिएको फाइल त छ, तर पछि कसरी ३३ जनाको मात्र बाँकी तलब आयो भनेर हामी पनि यसै भन्न सक्दैनौं ।’ यो कम्पनीको मुद्दा हेर्ने दूतावासका कर्मचारी अहिले आफ्नो अवधि सकाएर नेपाल फर्किसकेकाले पनि विस्तृतमा जानकारी नभएको उहाँले बताउनुभयो । 

सन् २०१७ को जुलाई २३ मा नेपाल फर्किनुअघि समस्या लिएर श्रमिकहरु दूतावास पुगेको भट्टराईले बताउनुभयो । तर विभाग वा एम्नेष्टीमार्फत ३३ जनाको मात्र पूर्ण विवरण आइपुगेकाले बाँकी अरु श्रमिकको नआएको हुनसक्ने उहाँको अनुमान छ । 

वैदेशिक रोजगार विभागको रेकर्डमा हेर्दा ५६ जनाले मर्करी मीना कम्पनीका लागि निवेदन दिएको देखिए पनि कतिले निवेदन दिए भन्ने अहिले यकिन तथ्याँक नभएको विभागका अनुगमन तथा अभिमुखीकरण शाखाका निर्देशक हरिप्रसाद ज्ञवाली बताउनुहुन्छ । 

कति जनाले पाउन बाँकी छ भन्ने पनि विभागसँग जानकारी नभएकाले किन कतारले सबै श्रमिकको बाँकी रकम दिएन भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ । 

एम्नेष्टी इन्टरनेशनल नेपालकी अभियान संयोजक अश्मिता सापकोटाका अनुसार मर्करी मीना कम्पनीबाट पीडित भएका श्रमिकको तर्फबाट विभागमा उजुरी दिन एम्नेष्टीले सहयोग गरेको थियो । 

एम्नेस्टीका प्रतिनिधि पटक पटक कतार पनि गएको र पछि विभागमा निवेदन दिने बेलामा ६२ जना श्रमिकलाई सम्पर्क गर्दा ३५ जनासँग मात्र मञ्जुरी लिन सकेको उहाँले बताउनुभयो । उहाँका अनुसार १७ अक्टोबर २०१९ मा इम्नेष्टीले उजुरी दिनका लागि मञ्जुरी लिएका ३५ जना श्रमिकको निवेदन वैदेशिक रोजगार विभागमा दिइएको थियो । एम्नेष्टीले तिनै ३५ जना श्रमिकको विवरण नेपाल सरकार र कतार सरकारलाई पठाएको थियो ।

‘एम्नेष्टीले श्रमिकको मञ्जुरी अनिवार्य लिन्छ, हामीसँग ६२ जना श्रमिकको विवरण थियो तर ३५ जनासँग मात्र सम्पर्क गर्न सक्यौं र उनीहरुको मात्र मञ्जुरी लिन सक्यौं, उहाँ भन्नुहुन्छ, ‘त्यही कारणले अहिले निवेदन परेका श्रमिकको मात्र बाँकी तलब आएको हो ।’

दूतावासका द्वितीय सचिव प्रविण भट्टराई पनि यस बीचमा कोही पनि श्रमिक आफूले पाउन बाँकी तलब दाबी गर्दै निवेदन दिन नआएको बताउनुहुन्छ । विभाग र दूतावासका प्रतिनिधिले कतारको श्रम मन्त्रालयमा पहल गरेकाले निवेदन दिएका ३३ जना श्रमिककोे बाँकी तलब उपलब्ध गराउन कतार सरकार तयार भएको उहाँले बताउनुभयो ।

३३ जनाले नेपालमा रहेको कतारी दूतावासको संयोजनमा बाँकी रकम पाउनेछन्, तर उनीहरुको हातमा रकम अझै परेको छैन । 

तलब पाउन बाँकी श्रमिकलाई निवेदन दिन अनुरोध

मर्करी मीना कम्पनीबाट तलब पाउन बाँकी रहेका सबै श्रमिकलाई वैदेशिक रोजगार विभाग, कतारमा रहेको नेपाली दूतावास र एम्नेष्टी इन्टरनेशनल नेपालले अनुरोध गरेको छ ।

नेपालमा हुनेले आफूले मर्करी मीनामा काम गरेको र पाउन बाँकी रहेको तलबको प्रमाण खुल्ने कागजातसहित वैदेशिक रोजगार विभागको कार्यालयमा निवेदन दिन विभागले अनुरोध गरेको छ । 

‘हामी लिन बाँकी रहेका श्रमिकको निवेदन संकलन गरेर फेरि पहल गर्छौं, विभागमा आएर निवेदन दिनुहोस्,’ विभागका निर्देशक ज्ञवालीले भन्नुभयो । 

यस्तै, कतारमा हुनेले कतारमा रहेको नेपाली दूतावासमा मर्करी मीनामा काम गर्दाको करारपत्र, आइडी कार्ड, भिसा लगायतका कागजातसहित निवेदन दिन सकिने दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले बताउनुभयो । 

कतारबाहेक रोजगारीका लागि अरु देशमा पुगेका श्रमिकले पनि इमेलमार्फत दूतावासमा निवेदन दिन सक्ने र आफैंले इमेलमार्फत निवेदन दिन नसके सम्बन्धित देशमा रहेका दूतावासमा गएर सहयोग लिन पनि उहाँले सबै बाँकी श्रमिकलाई अनुरोध गर्नुभयो ।

‘हामी यति नै समय त भन्दैनौं, तर जतिसक्दो चाडो निवेदन पठाउनुहोस्, हामी निवेदन संकलन गरेर फेरि कतारसँग अनुरोध गर्छाैं’ भट्टराई भन्नुहुन्छ, ‘३३ जनाको दिने बाँकीको पनि देउ भनेर हामीले अनुरोध गर्न सक्छौं, त्यसैले जतिसक्दो छिटो निवेदन दिनुहोस् ।’ 

अहिलेसम्म कपिलबस्तुका सकिल अहमद मुसमानले मात्र दूतावासमा गएर आफ्नो बाँकी रकमका लागि पहल गरिदिन भन्दै दूतावासलाई निवेदन दिनुभएको छ । बाँकी कसैको पनि निवेदन नपरेको भट्टराईले बताउनुभयो । 

एम्नेष्टी इन्टरनेशनल नेपालकी अभियान संयोजक अश्मिता सापकोटाले पनि पहिलेजस्तै अहिले पनि एम्नेष्टी इन्टरनेशनल श्रमिककै हितको पक्षमा भएको भन्दै बाँकी हुनेले विभागमा गएर निवेदन दिन अनुरोध गर्नुभयो । 

बाँकी भएका श्रमिकले आफैंले अग्रसरता देखाएमा कतारसँग अनुरोध गर्न पनि सजिलो हुने उहाँ बताउनुहुन्छ । 

यी हुन बाँकी रकम पाउने श्रमिक

मर्करी मीना एक मेकानिकल, इञ्जिनियरिङ र प्लम्बिङको काम गर्ने मल्टिनेशनल कम्पनी हो । तर यो कम्पनीमा कार्यरत श्रमिक २०१७ मा कम्पनीकै क्याम्पमा अलपत्र परे । कम्पनी बन्द नहुँदा पनि यस कम्पनीमा श्रमिक जबर्जस्ती श्रममा परेको एम्नेष्टी इन्टरनेशनलको अध्ययनले देखाएको थियो । 

यो कम्पनीले लामो समयसम्म श्रमिकलाई तलब नदिने, निरन्तर झुटो आश्वासन दिने, निरन्तर रुपमा श्रमिकलाई तलब भुक्तानी नदिने, उनीहरुलाई उपलब्ध गराउनुपर्ने कानुनी कागजात नदिने र कतिपय श्रमिकलाई काम परिवर्तन गर्न र कतारबाट बाहिर जान समेत प्रतिबन्ध लगाएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ ।

यो कम्पनी २०१७ मा पूर्ण रुपमा बन्द भएपछि भने त्यहाँ कार्यरत सबै देशका श्रमिक अलपत्र परेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया