सत्तामा भएका बेला दिनदिनै आरोप लाग्छ, त्यसको पुष्टि हुनुपर्छ : मन्त्री बाँस्कोटा

 फागुन ८, २०७६ बिहिबार १३:२७:१२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको आरोपको पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार कञ्चनपुरको बेल्डाँडीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै मन्त्री बाँस्कोटाले सत्तामा भएका बेला नेतालाई दिनदिनै आरोप लाग्ने बताउँदै त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएकाे हो ।

उहाँले वडाध्यक्षदेखि मेयरसम्मलाई आरोप लाग्ने गरेको बताउँदै आरोप लाग्नु ठूलो कुरा नभएको दावी गर्नुभयो ।

नेकपाको सरकार आएका बेला मात्रै भ्रष्टाचार भएको आरोप लाग्ने गरेको बताउदै आरोप लागे पनि आफूहरु संघर्ष गरेर अगाडि बढिरहेको जिकिर गर्नुभयो । 
‘हामीमाथि भ्रष्टाचार, राष्ट्रघातका आरोप लागेका छन्’, उहाँले भन्नुभयो, ‘हामी यसकाे सामना गर्दै अगाडि बढिरहेका छौँ, आरोपहरुलाई कसरी गलत सावित गर्छौँ । ’ 

बुधबार सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएको प्रसंग जोड्दै मन्त्री बाँस्काेटाले त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएको छ । 

उहाँले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाण्डौ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभयो । 

बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न कञ्चनपुर पुग्नुभएका मन्त्री बाँस्कोटा बिहीबारै काठमाण्डौ फर्किने कार्य तालिका छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया