साेलुखुम्बुमा उडिरहेकाे हेलिकाेप्टरबाट जस्तापाता खस्याे

 फागुन ११, २०७६ आइतबार ६:४९:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत  निर्माणका सामाग्री खसेको छ ।

सोलुदूधकुण्ड नगरपालिका १ काे टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

घटनाकाे विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालीका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कमजाेरी लुकाउन खोज्नुभयो । टेलिफोन संवादमा उहाँले आफूले घटनाको विषयमा केही पनि जानकारी नभएको भन्दै अन्य कसैको सम्पर्क नम्बर उपलब्ध गराउने बताए पनि लामो समयसम्म अरु कसैकाे फाेन नम्बर उपलब्ध गराउनु भएन ।

कानुन विपरीत कार्गो ढुवानी 

खुम्बु क्षेत्रको लागि आवश्यक सामाग्री ढुवानमा प्रयोग हुने सानो हेलिकोप्टरले झुण्डाएर ढुवानी गर्छ । तर उडान हुने स्थलमा कुनै सुरक्षा जाँच हुँदैन । नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तर्गत खानतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराइ कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन ।

यस्तै त्यही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बिना त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्त विपरीत हुने गरी वायुयान सञ्चालन गरेमा एक लाख देखि १० लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

नियमनकारी निकायको मौनता, हेलिकोप्टरको मनोमानी उडान

विगतका केही दिनमा यस्ता घटना भइरहेको भए पनि नियमनकारी निकाय भने मौन बसेको स्थानीयको दाबी छ । हवाई उडानकै कारण असुरक्षित महसुस भइरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय भएको छैन । गएकाे भदौ १९ गते बिहीबारका दिन उडिरहेको कैलास एअरकै हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतको सामग्री खसेको थियो ।

शनिबारको घटना घना जङ्गलमा भएकाले मानवीय क्षति भने नभएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले बताउनुभयो । तर कुनै मानव बस्तीमा त्याे घटना भएकाे भए ठूलै क्षति हुने अधिकारीको भनाइ छ । उहाँका अनुसार त्याे हेलिकोप्टर लुक्ला विमानस्थलको हेलिप्याडमा सकुशल अवतरण गरेको छ ।

हेलिकोप्टर कम्पनीको मनाेमानीलाई स्थानीय प्रशासन तथा विभागले समेत सहयोग गरिरहेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले भने यस घटनालाई गम्भीर रुपमा लिएको भन्दै प्रहरीको स्थलगत रिपोर्टपछि थप निर्णय गर्ने बताउनुभयो । संवेदनशील घटना घटेको भन्दै प्रहरी टोली घटनास्थलतर्फ गएकाे उहाँकाे भनाइ छ । घना जङ्गलमा ती सामग्री खसेकाले प्रहरी पुग्न कठिन भएको बताइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले भने आइतबार आकस्मिक बैठक बसेर निर्णय गरिने बताउनुभयो । घटनाको विषयमा लिखित जानकारी प्राप्त भएकाले समस्याको दिगो समाधानतर्फ लाग्ने उहाँले जानकारी दिनुभयाे । ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै उहाँले विमानस्थलबाटै उडान गर्ने गरी निर्णय गर्न सकिने बताउनुभयो । बारम्बार घटना भएको जानकारी आएकाले नियमअनुसार प्रक्रिया अगाडि बढाउन नागरिक उड्डयन कार्यलय गम्भीर भएर लाग्ने बताउनुभयो ।

साेलुखुम्बुकाे माथिल्लो खुम्बु क्षेत्रमा सडक पहुँच नभएकाले सामान ढुवानी गर्ने सहज माध्यम नै हेलिकोप्टर रहेको छ । तर नियम विपरीत मनाेमानी रुपमा उडान तथा अवतरण गर्दा त्यस क्षेत्रका स्थानीयदेखि वन्यजन्तुलाई समेत असर परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भूमिराज उपाध्ययले बताउनुभयो । उहाँका अनुसार उडान तथा अवतरण बापतको राजश्व समेत उठ्न सकेको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया