पानीको सतह थाहा पाउन मोबाइल एप

 फागुन १२, २०७६ सोमबार ५:४८:१० | रासस

काठमाण्डौ - काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल एप शुरु गरेको छ । 

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि एप सुरु गरिएको हो । केयूकेएलले यो एपको सुरुवात महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ । यो एपबाट जुनसुकै ठाउँमा बसेरसमेत पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ । मेलम्चीको पानी काठमाडौँ आएपछि एप अझै प्रभावकारी हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी आए पनि खानेपानीको व्यवस्थापन कठिन हुने हुँदा यसले सघाउन सक्छ ।”

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयूकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ । लिमिटेडले यसको वार्षिकोत्सवमा एप सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो सङ्कलन गर्ने एप पनि शुरु गरेको छ । विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ । 

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आउँदो असारसम्ममा काठमाण्डौ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारीका काम अघि बढाएको छ । मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, लिमिटेडका प्रतिनिधि रहेको समितिले कुन ठाउँमा कति पानी आवश्यक छ र कसरी त्यसलाई वितरण गर्ने भनी आवश्यक तयारीका काम अघि बढाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया