प्रधानमन्त्री ओलीलाई राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्छ : मन्त्री यादव

 फागुन १३, २०७६ मंगलबार १२:४:५२ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनु पर्ने बताउनुभएको छ ।

धनुषाको कचुरीमा समाजवादी पार्टी कार्यालय उद्घाटनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले राष्ट्रियताको नाममा महेन्द्रवाद् लाद्न खोजेको आरोप लगाउनुभयाे । मन्त्री यादवले नेपालको नक्सासँग खेलवाड गर्नेविरुद्ध राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्ने बताउनुभयाे । 

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नेपालको नक्सा बनाइएको केकप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो, ‘नेपालको नक्सासहितको केकलाई खण्ड खण्ड पारेर खानु भनेको राष्ट्रको अखण्डता, सर्वभौमतामाथि प्रहार गर्नु हाे ।' 

आमनागरिकले देशकाे नक्सासँग खेलवाड गर्दा उनीहरुविरुद्ध कारबाही हुन्छ भने पदीय दुरुपयोग गर्दै नक्सासँग खेलवाड गर्ने प्रधानमन्त्रीमाथि पनि देशद्रोहको मुद्दा लगाउनुपर्ने उहाँले बताउनुभयाे । 

साथै मन्त्री यादवले राष्ट्रलाई टुक्रा टुक्रा गर्ने प्रयास गर्ने जस्ता प्रधानमन्त्रीलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने अधिकार नरहेको भन्दै राजीनामा माग गर्नुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया