विनाेद चाैधरीका नाममा दाहाल र बाँस्कोटाकाे चर्काचर्की

 फागुन १७, २०७६ शनिबार ७:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

उज्यालाे टिम

आफ्ना विश्वास पात्र गोकुल बाँस्कोटाले राजीनामा दिएको ठ्याक्कै एक हप्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको बचाउ गर्दै पहिलोपटक यो प्रकरणमा मुख खोले ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँगै अरु नेता र कार्यकर्ता सहभागी कार्यक्रममा उनले भने, ‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गरे । हामीले राजीनामा स्वीकृत गर्यौं । आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणितझै गरेर त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’

उनले थपे, ‘दोष प्रमाणित नहुँदैखेरी आरोप पनि चलेको छैन, मुद्दा पनि चलेको छैन, मेरो पनि उजुरी हालेको छ भन्ने सुनेको छु् । मेरो पनि नाउँमा उजुरी हालेको छ भने त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो । अहिले हामी सुशासनको पक्षमा स्वच्छताको पक्षमा काम गरिरहेका छौं ।’

ओलीको यो अभिव्यक्ति यतिबेला आयो, जतिबेला नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ र ओली पार्टीको शीर्ष तहमा झण्डै एक्लिएको अवस्थामा छन् । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालय बैठकको निर्णयलाई नमान्ने उद्घोष गरेपछि पहिलेदेखि नै मोर्चाबन्दी गर्दै आएका प्रचण्ड, खनाल, नेपाल र गौतमसमेत ओलीको विपक्षमा उभिएका छन् । 

‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गरे । हामीले राजीनामा स्वीकृत गर्यौं । आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झै गरेर त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’

गौतमलाई राष्ट्रिय सभामा लैजान अस्वीकार गर्दै सार्वजनिक अभिव्यक्तिमार्फत बाँस्कोटाको बचाउ गरेर ओलीले पार्टीभित्रका गुटलाई जवाफ दिन खोजेको बुझिन्छ । अहिले नैतिकताको आधारमा राजीनामा दिन बाध्य भए पनि बाँस्कोटा फेरि शक्तिमा आउँछन् र त्यतिबेलासम्म अर्थमन्त्री युवराज खतिवडालाई साथमा लिएर अघि बढ्न सक्छु भन्ने ओलीको विश्वास हो ।

बाँस्कोटा प्रकरण हुँदै अहिले वामदेव गौतमको विषयलाई लिएर नेकपाभित्र छताछुल्ल भएको विवाद त अहिले सतहमा देखिएको मात्रै हो । यसअघि सभामुख चयन, एमसीसी, संविधान संशोधन लगायत विषयमा दुई अध्यक्षबीचको विवाद पनि सार्वजनिक भएकै हो । अनि पुस २३ गते भैंसेपाटीको भेलापछि नेकपाभित्रको समीकरण स्पष्टै देखियो । महरा प्रकरणमा एमाले खेमाले थपडी बजाउनु र अहिले बाँस्कोटा प्रकरणमा माओवादी खेमाले खुच्चिङ भन्नुले पनि नेकपाभित्रको मनमुटाब कुन हदसम्म पुगेको छ भन्ने प्रष्टै देखाउँछ ।

त्यसो भए बाँस्कोटा प्रकरणमा नेकपाभित्रकै माओवादी खेमा र असन्तुष्ट नेताहरुको संलग्नता कत्तिको छ त ? यो कुरा बुझ्न अडियो सार्वजनिक भएको दिन संसदमा सभामुख अग्नि सापकोटाको घोषणा नै काफी छ । 

कमिसन प्रकरणको अडियो सार्वजनिक हुँदा बाँस्कोटा कञ्चनपुरमा थिए । काठमाण्डौ फर्कनुअघि त्यहाँ भएको एक कार्यक्रममा उनले सबै कुरा काठमाण्डौ पुगेर भन्छु भन्दै हाँसी खुसी बिदा भए । बाँस्कोटाले यसलाई त्यति गम्भीर ठानेनन् । त्यतिबेला उनी तत्काल राजीनामा दिने मूडमा पनि देखिंदैनथिए ।

तर अडियो सार्वजनिक भएको बिहानै दाहालले घरमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाए । छलफल गरे र अर्का अध्यक्षलाई भेट्न बिहान बालुवाटार पुगे । अडियो प्रकरण गम्भीर भएको भन्दै ओलीलाई प्रचण्डले बाँस्कोटाको राजीनामा माग्न दबाब दिए । ओलीले बाँस्कोटा फर्कंदै गरेकाले उनी आएपछि थप कुरा गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए ।

सभामुखको भनाई उद्धृत गर्दै सञ्चारमाध्यमले बाँस्कोटाले राजीनामा दिएको खबर सार्वजनिक गरेपछि नैतिकताको आधारमा राजीनामा दिने मूडमा रहेका बाँस्कोटालाई राजीनामा दिईसकेको मन्त्रीले के आधारमा बोल्ने भन्ने अर्को नैतिक प्रश्न खडा भयो । त्यसपछि उनी संसद भवन नगई सरासर बालुवाटार पुगे, ओलीलाई आफूमाथि उठेका प्रश्नबारे प्रष्टीकरण दिए । र त्यहाँ जम्मा भएका शुभचिन्तकसँग भेटेर आफूले राजीनामा दिएको घोषणा गरे ।

बाँस्कोटा काठमाण्डौ ओर्लिए । त्यतिबेला संसदमा प्रतिपक्षी कांग्रेसले अडियो प्रकरणमा मन्त्रीले जवाफ दिनुपर्ने भन्दै अवरोध गरिरहेको थियो । बाँस्कोटासित जहाजमा सँगै काठमाण्डौ आएका एक परिचितका अनुसार, बाँस्कोटा जहाजमा पनि संसदमा गएर आफूमाथि उठेका प्रश्नको जवाफ दिने बुँदा टिपोट गर्दै थिए ।

पहिले संसदमा गएर बोल्ने अनि बालुवाटार पुगेर ओलीलाई भेटी नैतिकताको आधारमा राजीनामा दिने तयारीमा थिए । तर बाँस्कोटा विमानस्थलबाट संसद भवनतिर मोडिएको थाहा पाएपछि सभामुख सापकोटाले ‘सम्बन्धित मन्त्रीज्यूले राजीनामा दिनुभएको भन्ने मैले अनौपचारिक जानकारी पाएको छु’ भनेर संसदमा घोषणा गरे ।

यथार्थ त के थियो भने न बाँस्कोटाले त्यो बेलासम्म राजीनामा दिएका थिए, न त प्रधानमन्त्रीले नै बाँस्कोटाको राजीनामाबारे सभामुखलाई कुनै जानकारी दिएका थिए । सभामुखको भनाई उद्धृत गर्दै सञ्चारमाध्यमले बाँस्कोटाले राजीनामा दिएको खबर सार्वजनिक गरेपछि नैतिकताको आधारमा राजीनामा दिने मूडमा रहेका बाँस्कोटालाई राजीनामा दिईसकेको  भनिएकाे मन्त्रीले के आधारमा बोल्ने भन्ने अर्को नैतिक प्रश्न खडा भयो । त्यसपछि उनी संसद भवन नगई सरासर बालुवाटार पुगे, ओलीलाई आफूमाथि उठेका प्रश्नबारे प्रष्टीकरण दिए । र त्यहाँ जम्मा भएका शुभचिन्तकसँग भेटेर आफूले राजीनामा दिएको घोषणा गरे ।

माओवादी खेमाका सभामुखले आफ्नो कुरा राख्न नदिएको भन्दै बाँस्कोटा आक्रोशित छन् भने प्रधानमन्त्री ओलीले पनि यसलाई गम्भीर रुपमा लिएको बुझिएको छ । त्यसो त सभामुखले सरकारको आधिकारिक र औपचारिक सूचना मात्रै सदनलाई जानकारी गराउने चलन छ । सभामुखले ‘सम्बन्धित मन्त्रीले राजीनामा दिएको सुनेको छु’ भनेर अनौपचारिक कुरा भन्न मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलेको छ ।

सभामुखको घोषणा र यसबारेको प्रश्न त सतहमै आएको र सबैलाई थाहा भएकै कुरा हो । तर बाँस्कोटासँग प्रचण्ड लगायत माओवादी र एमाले खेमाका केही नेताहरुसमेत असन्तुष्ट थिए र छन् भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।

स्रोतकाअनुसार प्रचण्ड पहिलेदेखि नै बाँस्कोटासँग असन्तुष्ट थिए । प्रचण्ड र बाँस्कोटा जोडिएका केही घटनामा सबैभन्दा नजिकबाट जोडिने ब्यक्ति हुन् अर्बपति व्यापारी बिनोद चौधरी । 

नेकपाभित्र यसरी एकअर्काको खुट्टा तान्नु, एकले अर्कोको पोल खोल्नु र अर्काको कमजोरी थाहा पाएर रमाउनु, महराले सफाई पाएलगत्तै बाँस्कोटा प्रकरण सार्वजनिक हुनु र माओवादी खेमा बढी उत्साहित देखिनु, बाँस्कोटा प्रकरणमा ओलीले बचाउ गर्नु, अनि यो प्रकरणसँगै वामदेव गौतमको नाममा विवाद छताछुल्ल हुनुमा पार्टी घर झगडामा बाँस्कोटा प्रकरणको साइनो सम्बन्ध कुनै न कुनै रुपमा छ भन्ने स्पष्ट हुन्छ ।

दुई वर्षअघि बाँस्कोटा मन्त्री नियुक्त भएको केही महिना मात्रै भएको थियो, एकदिन प्रचण्डका स्वकीय सचिवले फोन गरेर बाँस्कोटालाई प्रधानमन्त्री कार्यालयमा बोलाए । प्रधानमन्त्री र अध्यक्षको नाम लिएर फोन गरेपछि बाँस्कोटा प्रधानमन्त्री कार्यालय गए । त्यहाँ प्रधानमन्त्री ओलीको उपस्थितिमै प्रचण्डले विनोद चौधरीको टेलिकम लाइसेन्सको कुरा गरे ।  

प्रचण्डले चौधरीलाई किन लाइसेन्स नदिएको भन्दै बाँस्कोटालाई सोधेपछि बाँस्कोटाले प्रक्रिया पूरा गरेर आए दिने, तर अहिले प्रक्रियाभन्दा बाहिर भएकाले दिन नसकिने जवाफ दिए । ‘हैन मिलाइदिनु पर्यो, त्यही भएर प्रधानमन्त्रीलाई समेत साथमा राखेको’ भनेर बाँस्कोटालाई प्रचण्डले दबाब दिए । ओलीले पनि प्रचण्डको कुरामा समर्थन गर्दै ‘दिन नमिल्ने के छ र, दुश्मनी छैन होला दिए हुन्छ’ भने । बाँस्कोटाले ‘युनिफाइड लाइसेन्स नै छैन, प्रक्रिया नपुगी दिंदा गाह्रो हुन्छ, तै पनि म हेर्छु’ भनेर त्यहाँबाट हिँडे । 

त्यसको केही महिनापछि फेरि प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए । प्रधानमन्त्री ओलीलाई सँगै राखेर प्रचण्डले ‘चौधरीलाई किन लाइसेन्स नदिएको’ भनेर प्रश्न गरे । चौधरीसँग खासै सम्बन्ध नभएका बाँस्कोटाले ‘प्रक्रिया पुग्दैन, त्यसैले सकिंदैन’ भनेर पहिलेकै जवाफ दोहोर्याए । त्यसपछि प्रचण्ड रिसाए । ‘मैले भनेको किन नमान्ने ?’ भन्दै कड्किए । जिद्दी स्वभावका बाँस्कोटाले पनि ‘सकिंदैन, प्रक्रिया नपुर्याई दिनुपर्ने भए म राजीनामा दिन्छु’ भनेर ठाडो जवाफ दिए । त्यसपछि प्रधानमन्त्री ओलीले जानुस् भनेर हकारेपछि बाँस्कोटा उठेर हिँडे ।

यो घटनापछि प्रचण्ड बाँस्कोटाप्रति अझै असन्तुष्ट भए । त्यसबाहेक बाँस्कोटाले ओलीको दाहिने हात जस्तो भएर काम गरेकोमा अरु केही नेतासहित प्रचण्डलाई पनि चित्त बुझेको थिएन । 

पहिलेदेखि नै ओलीको नजिक भएर काम गरेका महेश बस्नेतलाई पनि बाँस्कोटाको चुरीफुरी मन परेको थिएन । भौतिक पूर्वाधार मन्त्रालय खाली हुँदा समेत बाँस्कोटाकै कारण आफू मन्त्री हुन नपाएको उनलाई लागेको थियो ।

माथि नै चर्चा भैसक्यो, नेकपाभित्रको घर झगडा अहिले सतहमा देखिएको मात्र हो, पहिलेदेखि नै भुसको आगोझैं भित्रभित्रै सल्किरहेको थियो । यसबीचमा प्रचण्डले ओलीविरुद्ध माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग मोर्चा बनाएको सत्य बाहिर आयो । बाहिर नआएको अर्को सत्य के हो भने प्रचण्डले मधेसवादी दल, कांग्रेस र राप्रपाको समेत साथ लिएर ओलीविरुद्ध मोर्चा बनाउने तयारी गर्दैथिए । यो कुरा बाँस्कोटाले सुईंको पाए र मधेसवादी दलहरुलाई राष्ट्रिय सभाको चुनावमा गठबन्धन गराउन मनाएर प्रचण्डको योजना सफल हुन दिएनन् । 

अडियो प्रकरण सार्वजनिक हुनु पाँच दिनअघि मात्र बाँस्कोटा माधव नेपाललाई भेट्न उनको घर पुगेका थिए । ओली विरुद्ध मोर्चाबन्दी भैरहेको थाहा पाएर माधव नेपालको घर पुगेका बाँस्कोटाले नेता नेपाललाई ओलीसँग सम्बन्ध बढाउन आग्रह गरे । अहिलेसम्म प्रचण्डले गर्दै आएको व्यवहार र उनको स्वभावले पनि उनलाई विश्वास गर्न नसकिने तर्क गरे । नेपाल र बाँस्कोटाबीच यस्तो कुराकानी भैरहँदा प्रचण्ड अकस्मात त्यहाँ पुगे । नेपालले प्रचण्डलाई अर्को कोठामा राखेर बाँस्कोटासँग निकैबेर कुरा गरे । बाँस्कोटा प्रचण्डलाई भेट्दै नभेटी फर्किए ।

नेकपाभित्रको पछिल्लो शक्ति सन्तुलनलाई नजिकबाट बुझ्नेहरुका अनुसार नेपाल, खनाल, प्रचण्ड र गौतमबीच एकअर्काका हरेक भेटवार्ता र छलफलमा भएका कुरा आपसमा ‘शेयरिङ’ हुन्छ । बाँस्कोटा र नेपालबीच भएको विस्तृत सम्वाद माधव नेपालका मुखबाट सुनेपछि पहिलेदेखि नै बाँस्कोटासँग चिढिएका प्रचण्ड थप चिढिए । 

त्यसो त एमाले खेमाकै केही नेता पनि बाँस्कोटासँग असन्तुष्ट थिए । पहिलेदेखि नै ओलीको नजिक भएर काम गरेका महेश बस्नेतलाई पनि बाँस्कोटाको चुरीफुरी मन परेको थिएन । भौतिक पूर्वाधार मन्त्रालय खाली हुँदा समेत बाँस्कोटाकै कारण आफू मन्त्री हुन नपाएको उनलाई लागेको छ। बाँस्कोटा प्रकरण सार्वजनिक भएपछि महेश बस्नेत सबैभन्दा बढी उत्साहित भएको नेकपाभित्र चर्चा चल्ने गरेको छ ।

नेकपाभित्र यसरी एकअर्काको खुट्टा तान्नु, एकले अर्कोको पोल खोल्नु र अर्काको कमजोरी थाहा पाएर रमाउनु, महराले सफाई पाएलगत्तै बाँस्कोटा प्रकरण सार्वजनिक हुनु र माओवादी खेमा बढी उत्साहित देखिनु, बाँस्कोटा प्रकरणमा ओलीले बचाउ गर्नु, अनि यो प्रकरणसँगै वामदेव गौतमको नाममा विवाद छताछुल्ल हुनुमा पार्टी घर झगडामा बाँस्कोटा प्रकरणको साइनो सम्बन्ध कुनै न कुनै रुपमा छ भन्ने स्पष्ट हुन्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया