शहीद परिवार भनेर बेला बेलामा हुर्मत लिएको पीडितको आरोप

मैलगैरी हत्याकाण्डलाई माओवादीले बिर्सिएको शहीद परिवारको गुनासो

 फागुन १७, २०७६ शनिबार १५:३२:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम - तत्कालीन माओवादीले रुकुमको आठबीसकोट र रोल्पाको होलेरी प्रहरी चौकीमाथि आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्धको सुरुवात गरेको थियो । सशस्त्र युद्ध घोषणापछि पहिलो हिंसात्मक घटना गोरखामा भयो, जहाँ प्रहरीले ८ वर्षीय दिलबहादुर रम्तेललाई हत्या गरेको थियो ।

यस्तै, दोश्रो घटना बाँफिकोट गउँपालिका २ (साबिक रुकुम जिल्लाको पीपल गाविस वडा नं.५) मेलगैरीमा घटेको थियो । राज्यको तर्फबाट भएको पहिलो सामूहिक र ठूलो गोलीकाण्डको गएको फागुन १५ गते २५ वर्ष पूरा भएको छ । त्यो घटनामा मारिएका ६ जना खत्री परिवारका सदस्यहरु आज पनि राज्य र पार्टीको व्यवहारबाट सन्तुष्ट छैनन् ।  

भैंसी बाँध्ने किलामा बाँधेर हत्या

फागुन १५ गते भएको मेलगैरी हत्याकाण्डमा कतिलाई कुटीकुटी मारिएको थियो भने कतिलाई गोली हानी हत्या गरिएको थियो । प्रहरीले एउटै चिहान बनाएका खड्कबहादुुर केसी, कलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, दलबहादुर खत्री र मनबहादुर खत्रीका आफन्तजनले त्यो हत्याकाण्डलाई पार्टीले बिर्सिएको गुनासो गरेका छन् । 

घटनामा मारिएका पशुपति खत्रीका छोरा बलबहादुर खत्रीले २०६२ सालसम्म माओवादीका स्थानीय कार्यकर्ताले त्यो घटनालाई सम्झिएपनि शान्ति स्थापनापछि बेवास्ता गरेको बताउनुभयो । उहाँजस्तै अन्य सहिदका आफन्तले पनि पार्टीले सहिद परिवार भनेर बेला बेलामा हुर्मत मात्रै लिने गरेको गुनासो गर्नुहुन्छ ।

पार्टीको केन्द्र र जिल्ला पार्टीले घटना बिर्सिएपनि गाउँ स्तरका नेताबाट यतिसम्मको बेवास्ताको अपेक्षा नगरेको सहिद कलबहादुर खत्रीका छोरा नविन केसीले बताउनुभयो । पशुपति र कलबहादुरको हत्या हुँदा उहाँका छोराहरु क्रमशः बलबहादुर र नविन २ वर्षको हुनुहुन्थ्यो । मेलगैरी, यसका सहिद र सहिद परिवारलाई पार्टी र नेताले बिर्सिएपछि सहिद परिवारहरु थप पीडित बनेका छन् ।

मेलगैरीमा ६ जना खत्रीबन्धु मारिँदा दोहोरो भिडन्त भएको प्रचार गरिएको थियो । पीडित परिवारले भने उहाँहरुलाई भैंसी बाँध्ने किलामा बाँधेर निर्मम हत्या गरिएको बताउँछन् । हत्याअघि उहाँहरुको खुट्टाका पछाडिको भाग खुकुरीले ताछिएको र पानी माग्दा मुखमै पिसाब गरिएको घटना अहिले पनि सहिदका परिवार सम्झन्छन् ।  

के भएको थियो त्यो दिन ? 

फागुन १३ गते स्थानीय काँग्रेस कार्यकर्ता नरजित बस्नेतलाई माओवादी कार्यकर्ताले आक्रमण गरे । उनीहरुले बस्नेतको शरीरका विभिन्न ठाउँमा लठ्ठी र खुकुरीले प्रहार गरे ।  अन्त्यमा हात काटिदिए ।

भोलिपल्ट १४ गते जाहेरी गर्न आएकाहरुले जाहेरी दिँदै नरजितलाई माओवादीले घेराउ गरी उपचार गर्न ल्याउन नदिएको कुरा जिल्लाको प्रहरीसमक्ष राखे । त्यही जाहेरीका आधारमा गोलीगठ्ठासहितको प्रहरी घटनास्थलतर्फ गए । जनमोर्चा नेताहरु स्थानीय सेतु जैसीको घरमा छन् भन्दै कसैले प्रहरीलाई सुराक दिएका थिए ।

जिल्लाबाट आएको प्रहरीको डरले जनमोर्चा समर्थक सामान्य युवाहरु, केही माओवादी कार्यकर्ताहरु र सेतुकी श्रीमती गरी जम्मा १८ जना फागुन १५ गते बिहानैदेखि मेलगैरीमा सेतुको घरमा लुकेर बसेका थिए । सेतुकी श्रीमती सुशीला जैसी भैंसीको रेखदेख गर्न लेक बस्नुभएको थियो ।

त्यो घरमा पुगेपछि प्रहरीले सबैभन्दा पहिले सिटी बजायो । सिटी बजेको सुनेपछि घरको पश्चिम दक्षिणमा रहेको झ्याल खोलेर युवकहरु भाग्ने प्रयास गरे । तर प्रहरीले झ्यालैमा गोली प्रहार गरेपछि घरभित्र खैलबैला भयो । 

तीन जनाको घटनास्थलमै मृत्यु 

झ्यालमा हानेको गोली भागीराम केसीको हातमा र बुद्धि केसीको पिठ्युँमा लाग्यो । गोली लागेपछि उनीहरु ज्यानको माया मारेर झ्यालबाट हामफाले र पश्चिमतर्फ भागे । प्रहरीले उनीहरु भागेतिर फेरि गोली चलाए तर उनीहरुलाई गोली लागेन ।

उनीहरु तत्काल भागेर कहाँ गए प्रहरीले पत्तो लगाउन सकेनन् । घरभित्र रहेका मानिसहरु अत्तालिसकेका थिए । यसैबीच घरको धुरी उघारेर बुद्धि के.सी. र नरेन्द्र के.सी. भाग्नुभयो । 

त्यसपछि प्रहरीले घरको मूल ढोका खालेर भित्र पसे र अन्धाधुन्ध गोली चलाउन थाले । प्रहरीको गोली लागेर २४ वर्षीय पशुपति केसी, २५ वर्षीय नरबहादुर केसी र २५ वर्षीय दलबहादुर केसीको तत्काल घरभित्रै मृत्यु भयो । अन्य सबै मानिस त्रसित भए ।

सोही अवस्थामा २५ वर्षीय कलबहादुर केसी, २५ वर्षीय मनबहादुर केसी, १५ वर्षीय खड्गबहादुर केसीलाई प्रहरीले समातेर घरबाहिर आँगनमा ल्याए । उनीहरुलाई प्रहरीहरुले बन्दुकको कुन्दा र लठ्ठीले निर्ममतापूर्वक पिटे । प्रहरीले मनबहादुर केसी र कलबहादुलाई मरणासन्न हुने गरी कुटपिट गरेर आँगनमै गोली प्रहार गरे । 

महिलासँग पशुवत् व्यवहार

घटनामा प्रहरीले गोली चलाउनुपूर्व चेतावनी दिने, आत्मसमर्पण गर्न चेतावनी दिएर लाठ्ठीचार्ज गर्ने र हवाइफायर गर्नेजस्ता कार्य गरेनन् । पीडित परिवारका अनुसार माओवादी कार्यकर्ताहरुले भरुवा बन्दुकले प्रहरीमाथि एक गोली मात्र प्रहार गरेका थिए । तर गोली लागेन । 

महिला र पुरुष गरी त्यस घरमा रहेका १८ जनामध्ये मारिएका ६ जना र भागेका ४ चार जनाबाहेकका अन्य मानिसलाई दिनभर नजिकैको अर्को घरमा राखियो ।

महिला र पुरुषलाई घाँसले छेकेर घरको तल्लो तलामा राखिएको थियो । दिउँसो भएपछि केही प्रहरी शव कुर्न बसे भने केहीले उनीहरुको पहरा गर्न थाले । प्रहरीले पक्राउ गरेर महिलाहरुलाई लुगा फुकालेर नाङ्गो हुन लगाए ।

त्यसपछि तिनीहरुमध्ये तीन जना महिलालाई उनीहरुले पशुवत् व्यवहार गरे । त्यो कुरा बाहिर आए उनीहरुलाई मार्ने धम्की दिइएको थियो । शव र पक्राउ परेकाहरुलाई सदरमुकाम ल्याएपछि शवलाई पोस्टमार्टम गर्न अस्पताल लगियो र पक्राउ परेका मानिसलाई हिरासतमा लिइयो ।

६ जना मृतकको शवलाई सदगत् गर्न आफन्तजनलाई नदिएर कुनै जानकारी नै नगरी नजिकैको पहरे खाडलमा हालियो । 

अन्तिम अपडेट: फागुन २६, २०७६

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया