‘बेस्ट स्ट्राइकर’को सुखद खबर पर्खँदै नेपाली नागरिक

 फागुन २१, २०७६ बुधबार ८:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रोपल्ट मिगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुँदा नेपाली डाक्टरको आत्मविश्वास र नेपालको स्वास्थ सेवाप्रति नेपाली बिरामीको भरोसा बढेको छ ।

मिर्गाैला फेर्न भर्ना भएका बिरामी ओलीको आत्मविश्वास देखेर डाक्टरहरुको ओलीप्रतिको विश्वास र भरोसा पनि त्यति नै बढेको देखिन्छ । 

भारत र चीनबाट आएका उपचारको प्रस्तावलाई धन्यवाद दिएर आफ्नै देशको अस्पतालमा उपचार गराउनु प्रधानमन्त्रीले गरेको सबैभन्दा सही निर्णय हो । उपचारका लागि आफ्नै देशका डाक्टर र संस्थालाई विश्वास गरेर प्रधानमन्त्री ओलीले नागरिक, डाक्टर र देशकै आत्मविश्वास बढाउनु भएको छ । प्रधानमन्त्री ओलीबाट देशले गरेका धेरै आशामध्ये यो पनि एउटा थियो, जुन आज पूरा भएको छ ।

मिर्गौला प्रत्यारोपण हिजोआज पहिलेजस्तो जटिल छैन, तर यो उहाँको दोस्रो प्रत्यारोपण हो । यो पालि अस्पताल भर्ना हुन जानुअघि उहाँले धेरै आफन्त र मित्रजनहरुसित भेटघाट गर्नु भयो । अस्पताल भर्ना हुनुअघि भिडिओ सन्देशमा पूर्ण विश्वासका साथ भन्नुभयो ‘बेस्ट स्ट्राइकरले मैदान छोड्दैन, समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा गर्न फेरि फर्कन्छु । सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्नँ ।’

हो ओलीले अलि बढी नै आशा र सपनाहरु देखाउनुभएको छ । तर उहाँले देखाएका धेरै आशा र सपना पूरा हुने खालकै छन् । ती साना र ठूला दुबैखाले सपनाहरु पूरा गर्नका लागि पनि उहाँको मिगौला प्रत्यारोपण सफल हुनु आवश्यक छ । त्यसमाथि प्रधानमन्त्री ओली धेरै बिरामीमा प्रेरणा र हौसलाका स्रोत हुनुहुन्छ । त्यसैले उहाँलाई फूटबल खेलाडीको भाषामा ‘बेस्ट स्ट्राइकर’ ठान्दा फरक पर्दैन । हरेक मैदानमा ‘बेस्ट स्ट्राइकर’को जरुरत त पर्छ नै ।

ओली जन्मनेबित्तिकै रोगी हुनुहुन्थ्यो, त्यतिबेला परिवारले आशा मारे । जेल पर्दा बिरामी भएर थलिनुभयो, साथीभाइले आशा मारे । जेलबाट बाहिरिएपछि पनि ख्याउटे हुनुहुन्थ्यो, अरुले पत्याउँदैन थिए । १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेपछि त झन् स्वास्थ्य समस्या थपिंदै गयो, उहाँले पार्टी र देशकै नेतृत्व गर्न सक्नुहुन्छ भन्ने कसैलाई लागेको थिएन ।  तर आफ्नो जटिल स्वास्थ्य अवस्थालाई मात्र होईन, नेकपा र नागरिक मतलाई समेत जितेर अहिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ ।

प्रधानमन्त्री ओली धेरै बिरामीमा प्रेरणा र हौसलाका स्रोत हुनुहुन्छ । मिर्गौला प्रत्यारोपण गरेपछि स्वास्थ्यमा धेरै ध्यान दिनुपर्छ । धपडी गर्न नहुने डाक्टरहरु बताउँछन् । तर प्रधानमन्त्री ओली पूर्ण स्वस्थ मानिसजस्तै पुरै सक्रिय रहँदै आउनुभएको छ । उहाँमा दृढ इच्छाशक्ति र आत्मविश्वास छ । उहाँको यही इच्छाशक्ति र आत्मविश्वासले अरु बिरामीलाई समेत आत्मबल र हौसला थप्ने गरेको छ । 

दोस्रोपटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुको टोलीले कुनै कसर बाँकी राख्ने छैनन् । नेपाली नागरिक अहिले केही घण्टापछि शिक्षण अस्पतालबाट आउने एउटा सुखद खबरको प्रतिक्षामा छन् । त्यो प्रतिक्षा सकिनुअघि अहिलेलाई प्रधानमन्त्री ओलीको सफल उपचारको कामना र उहाँलाई मिर्गौला दिने समीक्षा संग्रौला र प्रधानमन्त्री ओली दुवैकाे शीघ्र स्वास्थलाभको शुभकामना । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया