'रुघाखाेकी, ज्वराे आउनेबित्तिकै नआत्तिन र घरमै सुरक्षित बस्न सुझाव

 फागुन २२, २०७६ बिहिबार ९:२:८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – रुघाखोकी लागे र ज्वरो आए सकेसम्म घरमै सुरक्षित तरिकाले बस्न डाक्टरले आग्रह गरेका छन् ।

अहिले मौसमी फ्लु पनि लाग्ने बेला भएकाले सबै रुघाखोकी कोरोना भाइरस नहुने डाक्टरले बताएका छन् । तर सतर्कता भने अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

यस्तै विशेषगरी कोरोना प्रभावित देशबाट आएका नागरिकलाई कम्तीमा १४ दिन घरमै सुरक्षित तरिकाले बस्न उहाँले आग्रह गर्नुभएको छ । उनीहरुले घरमै सकेसम्म अरुसँग घुलमिल नगर्ने, भिडभाडमा नजाने, ज्वरो तथा रुघाखोकी लागे परीक्षणका लागि अस्पताल जानुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण १४ दिनभित्र देखिने भएकाले प्रभावित देशबाट आएका व्यक्तिले कम्तीमा १४ दिन सुरक्षित तरिकाले बस्नुपर्ने डाक्टर बाँस्तोलाकाे सुझाव छ । कोरोना भाइरस सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाडमा नजान तथा हात नमिलाउन, केही सामान छोइसकेपछि साबुनपानीले राम्ररी हात धुन तथा जतिबेला पनि नाक, मुख र आँखामा नछुन पनि डाक्टरले सुझाव दिएका छन् ।

साबुनपानी नभएको अवस्थामा स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । खोक्दा र हाच्छयुँ गर्दा निस्कने थुक र र्‍यालले अर्को व्यक्तिमा सङ्क्रमण सर्ने भएकाले रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउनुपर्ने डाक्टर बाँस्तोलाले बताउनुभयो । सङ्क्रमित व्यक्तिले परिवारका सदस्यसँगको दुरी बढाउने, बोल्दा अलि परै बस्ने गर्नाले पनि सङ्क्रमण फैलनबाट जोगिन सकिनेछ ।

उहाँका अनुसार उच्च ज्वरो आउनु, खोकी लाग्नु तर खकार नआउनु, सास फेर्न गाह्रो हुनु, मासु दुख्नु, थकान धेरै महसुस हुनु कोरोनाका लक्षण हुन् । यस्तै एक्कासी ज्वरो आउनु, टाउको दुख्नु, माशंपेसी दुख्नु, सुख्खा खोकी लाग्नु मौसमी फ्लु हो । मौसमी फ्लुसँग लक्षण मिल्दोजुल्दो भए पनि कोरोना सङ्क्रमितलाई टाउको दुख्दैन । यी लक्षण देखिए तातो झोलिलो खानेकुरा खाएर आराम गर्ने सँगसँगै डाक्टरको सुझाव पनि लिनुपर्ने डाक्टर बाँस्तोलाको भनाइ छ ।

अहिलेसम्म कुनै पनि लक्षण नदेखिइकन नै एक प्रतिशतलाई कोरोना भएको पाइएको छ । यस्तै ८१ प्रतिशतमा सामान्य खोकी लागेको र १८ प्रतिशतमा निमोनिया भएर सास फेर्न गाह्रो हुने गरेको पाइएको छ ।

अहिलेसम्म कोरोना प्रभावित देशबाट आएका २७ जनालाई आइसोलेशनमा राखिएकोमा २३ जनामा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । अहिले आइसोलेशनमा रहेका चार जनामध्ये एक जनामा मौसमी फ्लु भएको पुष्टि भएकाले बिहीबार घर पठाउने तयारी छ । त्यस्तै अन्य तीन जनाको पनि स्वास्थ्य स्थिति राम्रो रहेको र उनीहरुको रिपोर्ट पनि बिहीबार आउने टेकु अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया