काेराेनाबारे अनावश्यक चिन्ता लिँदा 'एन्जाइटी' हुनसक्छ

 फागुन २३, २०७६ शुक्रबार १२:१५:५९ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबारे अनावश्यक चिन्ता लिँदा मानसिक समस्या हुन सक्ने भएकाले सचेत हुन तर नआत्तिन मनोचिकित्सकले सुझाव दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिसकेकाले अब नेपालमा पनि आउँछ र आफू पनि सङ्क्रमित भइन्छ कि भनेर धेरैले चिन्ता लिन थालेका छन् ।

मनोचिकित्सक ऋषभ कोइरालाले कुनै पनि विपत्तिपछि मानिसमा डर हुनु स्वभाविक भए पनि अनावश्यक रुपमा यसबारे सोच्दा भविष्यमा मानसिक समस्या हुने भएकाले सचेत हुन तर नआत्तिन आग्रह गर्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी अतिरन्जित खबर आउन थालेकाे र यसबाट झन् डर बढेको भन्दै आधिकारिक संस्थाबाट आएको सूचना पढ्न र सम्बन्धित विज्ञका कुरा मात्र सुन्न पनि उहाँको सुझाव छ ।

काेभिड–नाइन्टिन अर्थात् कोरोनाकै बारेमा मात्रै सोचेर चिन्ता लिइरहने, दैनिक काममा एकाग्र हुन नसक्ने, निन्द्रा घटबढ हुने, छटपटी चल्ने, नजिकै पसल समेत जान डराउने, कोरोना सर्छ भनेर कोही व्यक्तिसँग भेट्न नै नखोज्ने हुन थाल्दा एन्जाइटीकाे लक्षण देखिएको मनोचिकित्सक ऋषभ कोइरालाले जानकारी दिनुभयो ।

यस्तै परिवारका सदस्य वा नजिकैका व्यक्तिको व्यवहारमा पहिलेको भन्दा परिवर्तन आएको भए उनीहरुको कुरा सुन्ने, पहिलेको दैनिकीमा फर्काउने कोसिस गर्ने र सकारात्मक सोच्न लगाउने गर्नाले पनि एन्जाइटी निको हुन्छ । एन्जाइटी चिन्ताको रोग हो । कतिपय अवस्थामा एन्जाइटीले सकारात्मक भूमिका पनि खेल्ने गर्छ । तर एन्जाइटी बिग्रिएर डिसअर्डर (अव्यवस्थित) भए यसले दैनिकीमै असर गर्छ ।

चिन्ता बढ्नु, आत्तिनु, मनमा धेरै नकारात्मक कुरा खेल्नु, मुटु ढुकढुक हुनु, एकाग्र हुन नसक्नु, हातखुट्टा झमझमाउनु, शरीर काम्नु, शरीर चिसोतातो भएको जस्तो हुनु, कुरा बिर्सनु, सानो कुरामा पनि चित्त दुख्नु, जे कुरा पनि नकारात्मक मात्र सोच्नु, गरेका काम बिग्रन थाल्नु र पढाइ बिग्रनु एन्जाइटी डिसअर्डर हो । यसले मानिसको दैनिकीमै असर गरेर आपसी सम्बन्ध नै बिगार्ने भएकाले समयमै सचेत हुन मनोचिकित्सक ऋषभ कोइरालाको सुझाव छ ।

एन्जाइटीकाे सुरुवाती चरणमै ख्याल गरेर नकारात्मक सोचबाट पर बस्न व्यायाम गर्ने, पढ्ने, खेल्ने, आफूलाई मनपर्ने काम गर्ने र केही विषयमा डर लागेको भए आधिकारिक व्यक्तिसँग यसबारेमा बुझ्न सकिने उहाँको भनाइ छ । यसलाई रोकथाम गर्न परिवार, आफन्त, छिमेकी, साथीलगायतले कसैको व्यवहार परिवर्तन भए ख्याल गर्नुपर्नेमा मनोचिकित्सक ऋषभ कोइरालाले जाेड दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया