विदेशबाट कम्तीमा पनि वर्षमा एकपटक छोराछोरीलाई भेट्न आउनुस्

 फागुन २३, २०७६ शुक्रबार १७:२७:२६ | डा‍. कपिलदेव उपाध्याय

काठमाण्डौ – वैदेशिक रोजगारीले गर्दा देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरै युवायुवतीले अर्काकै देशमा भए पनि काम पाएका छन् । घरपरिवारको आर्थिक अवस्था सुध्रिएको छ । झट्ट हेर्दा वैदेशिक रोजगारीले परिवारदेखि देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ ।

तर वैदेशिक रोजगारीका नकारात्मक पक्षहरु पनि छन् । वैदेशिक रोजगारीले परिवारमा विभिन्न समस्या निम्त्याएको छ । घरको मूली विदेशमा काम गर्न जाँदा त्यसको असर बुवाआमा, श्रीमती र सन्तानलगायत परिवारका अन्य सदस्यमा परेको हुन्छ ।

श्रीमतीलाई एक्लोपन महसुस हुने र बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसको नकारात्मक प्रभाव श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा पनि परेको हुन्छ । यी सबै कुराको शिकार भएका हुन्छन् बालबालिका । यसले बालबालिकाको मानसिक सन्तुलनलाई प्रभावित गर्छ । छोराछोरीलाई छाडेर धन कमाउन विदेशिदा उनीहरुमा नकारात्मक असर पर्न सक्छ । जसले उनीहरुमा मानसिक, शारीरिक तथा भावनात्मक रुपमा आघात गर्छ । 

अधिकांश परिवारमा पुरुष विदेश गएका हुन्छन् भने कतिपय अवस्थामा महिला अथवा कसैको आमा विदेश गएका हुन्छन् । यस्तै बुवाआमा दुवै जना वैदेशिक रोजगारीमा जाने र घरमा छोराछोरीलाई एक्लै छाड्ने अथवा आफन्तको जिम्मा लगाउने गरेको पनि पाइन्छ ।

माथिकामध्ये तेस्रो अवस्था एकदमै डरलाग्दो हो । यस्तोमा उनीहरुका छोराछोरीमा मानसिक असर त पर्छ नै । साथै छोराछोरी शारीरिक तथा यौन हिंसामा पनि पर्न सक्ने खतरा हुन्छ । त्यही भएर छोराछोरीको मानसिक तथा शरीरिक वृद्धि विकासका लागि बुवाआमाको साथ एकदमै आवश्यक हुन्छ ।

सामान्यतया ७/८ वर्षको उमेरदेखि १५/१६ वर्षको उमेरसम्म अलि धेरै कुरा जान्ने, सिक्ने उत्सुकता हुन्छ । साथै यो उमेरमा भावनात्मक रुपमा कमजोर पनि हुने भएकाले उनीहरुलाई एक्लै छोड्नुहुँदैन । 

आमाबुवाको अनुपस्थितिका कारण माया नपाएर उनीहरु एकोहोरिने र एकलकाँटे स्वाभावका हुन सक्छन् । यस्तै, गलत संगत, दूव्र्यसन र चोरीजस्ता कुलतमा फस्न सक्ने पनि हुन्छन् । यस्तोमा कस्तो खालको परिवार छ र परिवारका सदस्य कस्ता छन् भन्ने कुराले पनि विशेष महत्व राख्दछ । हजुरबुवा, हजुरआमा र काकाकाकीहरुको व्यवहारले पनि बच्चामा असर पार्छ । घरको वातावरण राम्रो छ । हुर्काइ  र सिकाइ राम्रो छ । सबैको सहयोग र माया छ भने बच्चालाई समस्या नहुन सक्छ । सासु–ससुरा र बुहारी मात्र भएको घरमा बेमेल भएर झगडा भइराख्यो भने त्यसको असर बच्चाहरुमा पर्छ ।

एक त आमाबुवा साथमा हुँदैनन् । त्यसैमाथि परिवारका अन्य सदस्यले माया नगरेमा, केटाकेटीका चाहनाको सम्बोधन नगरेमा अथवा झर्केर बोल्दा यसले बालमस्तिष्कमा नकारात्मक छाप पार्छ । त्यही भएर घरका सबै सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । बच्चाबच्चीलाई माया गर्ने र रेखदेख गर्ने कोही छन् भन्ने किसिमको अनुभूति उनीहरुलाई दिलाउनुपर्छ ।

छरछिमेक र विद्यालयको वातावरण

छरछिमेक तथा विद्यालयको वातावरणले पनि बालबालिकामा निकै प्रभाव पार्छ । त्यही भएर छिमेकी र नातेदारले वैदेशिक रोजगारीमा गएका अभिभावकका बालबालिकासँग प्रेमिल भएर कुरा गर्ने र उनीहरुप्रति आफ्नोपन देखाउने गर्नुपर्छ ।

यस्तै, विद्यालयमा कस्तो किसिमको वातावरण छ । त्यहाँका शिक्षक र विद्यार्थीहरुले गर्ने व्यवहार कस्तो छ भन्ने कुराले पनि बालबालिकाको मानसिक स्वास्थ्यलाई प्रभावित गर्छ । 

यसको असर उनीहरुको पढाइमा पनि पर्छ । यस्तोमा शिक्षक जिम्मेवार हुनुपर्छ । पढेन भनेर पिट्नुभन्दा पहिले बच्चाले किन पढ्नमा ध्यान दिँदैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । शिक्षकले बालबालिकालाई पढ्न सहयोग गर्ने र नरम भएर प्रस्तुत हुने गरेमा त्यसको राम्रो प्रभाव उनीहरुमा पर्दछ ।

यस्तै, विद्यार्थीहरुलाई पनि सहयोगी भएर बस्न र एक अर्काको भावनाको कदर गर्न विद्यालयले सिकाउनुपर्छ । यस्ता सामान्य लाग्ने व्यवहारिक कुरामा ध्यान दिए विद्यार्थीले अनाहकमै मानसिक समस्याको सिकार बन्नुपर्दैन ।

अभिभावक वा आमाबुवा विदेशिएका विद्यार्थीहरुका लागि विद्यालयमा परामर्श गर्ने व्यवस्था गरिनुपर्छ । परामर्श क्षमता भएको कम्तीमा एकजना शिक्षक विद्यालयमा हुनुपर्छ ।

अभिभावक आफैँ सचेत बन्ने

वैदेशिक रोजगारीमा गएकाहरुका श्रीमतीमा डिप्रेशन हुने, चिन्तित रहने, र आत्महत्या गर्नेसम्मका समस्या देखिएका छन् । यस्तै, गाउँमा कुरा काट्नेहरुले विभिन्न दोष लगाएर र भ्रमात्मक कुरा गरेर महिलाको इज्जतमा धक्का लाग्ने खालको कुरा गर्ने गरेको पाइन्छ । यसले महिलालाई मात्र नभएर बच्चाहरुलाई पनि मानसिक रुपमा असर गर्दछ ।

श्रीमान्श्रीमतीबीचको सम्बन्धको सिधा असर छोराछोरीमा पर्न जान्छ । त्यसैले पतिपत्नीले सानो सानो कुरामा झगडा गर्ने र नबोलेर बस्ने गर्नुहुँदैन । बुवाआमाबीचको सम्बन्ध सुमधुर र प्रेमिल देखेर छोराछोरीमा आत्मविश्वास बढ्ने र उनीहरु सकारात्मक सोच्ने हुन्छ । त्यही भएर श्रीमान्श्रीमतीले जतिसक्दो मिलेर बस्नुपर्दछ । 

लामो समयसम्म परिवारबाट टाढिँदा श्रीमान्श्रीमतीबीचको सम्बन्ध बिग्रिने गरेका घटनाहरु पनि छन् । वैदेशिक रोजगारीको क्रममा एकअर्काबाट टाढा भएपनि सम्बन्धलाई सुमधर बनाइराख्नु पर्ने हुन्छ । यसको लागि एकअर्काप्रति विश्वासको खाँचो हुन्छ । एकले अर्कालाई शंका नगर्ने, फोन सम्पर्कमा रहने र मितव्ययी बन्ने गरेमा सम्बन्धमा समस्या आउँदैन ।  

धेरै समय टाढिएर बसे सम्बन्धमा फाटो आउने भएकोले कम्तीमा ६ महिना वा एक वर्षमा एकपटक घर आउने र परिवारसँग भेटघाट गर्ने गर्नुपर्छ । यसले छोराछोरीहरुसँग आत्मीयता बढ्छ भने श्रीमान्श्रीमतीबीच माया घट्दैन । 

पछिल्लो समय श्रीमान् विदेश जानेबित्तिकै छोराछोरी पढाउन भन्दै डेरा खोजेर सहरमा बस्ने चलन बढेको छ । घरको अवस्था त्यसै कमजोर हुन्छ । विदेश जानेबित्तिकै के के न हुने हो भनेर सहरतिर झर्छन् । विदेश गएकाले समयमा पैसा पठाउन सकेन भने घरव्यवहार चलाउन समस्या हुन्छ । यस्ता समस्याले महिलामा मानसिक अस्थिरता उब्जाउने गर्छ । जसको प्रत्यक्ष असर छोराछोरीमा पनि पर्छ । 

खासमा सबैभन्दा ठूलो कुरा भनेको परिवारमा खुसी हुनु हो । परिवारमा खुसी नै छैन भने परिवारका सबै सदस्यले त्यसको परिणाम भोग्नुपर्छ । त्यही भएर परिवारमा खुसी हुने वातावरण निर्माण गर्नुपर्छ । पैसाले मात्रै खुसी हुन सकिँदैन । सानोतिनो कुरामा पनि खुसी हुन सक्नुपर्छ । त्यसैले पैसाकै पछि दगुरेर वर्षौवर्ष परदेशमा बस्नु हुँदैन । सकेसम्म छोराछोरी र परिवारसँग बसेर स्वदेशमै केही गर्नु उत्तम हुन्छ । यदि विदेश नै जानु छ भने कम्तीमा ६ महिना वा एक वर्षमा एकपटक परिवारसँग भेटघाट गर्न आउनुपर्छ । 

(मनाेविद् डा. कपिलदेव उपाध्यायसँग गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत २६, २०८०

डा‍. कपिलदेव उपाध्याय

डा‍. कपिलदेव उपाध्याय मनाेचिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया