ठूला भौतिक संचरना बन्न थालेपछि सदरमुकाम छाडेर गएकाहरु फर्किँदै

 फागुन २४, २०७६ शनिबार १२:४०:२६ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – नेपालमा संघीयता स्थापनासँगै सदरमुकाममा रहेका कार्यालयको काम गाउँ गाउँमा हुने भनिएपछि सदरमुकाम मार्तडी छाडेर मानिसहरु स्थानीय तहका केन्द्रहरु बसाइ सर्न थालेका थिए ।

तर बिसं २०७४ सालको आमनिर्वाचनपछि सदरमुकाम फर्केर आउनेहरुको संख्या बढ्दै गएको छ । निर्वाचनपछिको पहिलो वर्ष सदरमुकाममा जग्गा किनबेच र नयाँ घर बन्ने काम शून्य प्रायः थियो । तर यस वर्ष मात्र ५० भन्दा बढी नयाँ घर निर्माण भएको जिल्ला नापी कार्यालयले बताएको छ ।

मार्तडी बजारमा व्यापक रुपमा घर बनाउने लहर चलेको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सदरमुकाममा सरकारी भवन निर्माणको कामलाई तीव्रता दिएका छन् । यस वर्ष मात्र सदरमुकाममाा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी विज्ञ केन्द्र, जिल्ला अस्पताल, सरकारी वकीलको कार्यालय र खेलकुद कभर्ड हललगायतका कार्यालयका अत्याधुनिक भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अन्य कार्यालयले समेत संघीय सरकारलाई भवन निर्माणका लागि अनुरोध गरिरहेका छन् ।

पछिल्लो वर्षदेखि सदरमुकामको अवस्था फेरिएको छ । स्थानीय तहमा स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार र विद्युत्लगायत पूर्वाधार विकासका काम नहुँदा स्थानीयहरु सदरमुकाम केन्द्रित हुन थालेका छन् । अर्कोतिर सरकारी कार्यालयको संख्या र संरचना बढ्दै गएर सदरमुकाम मजबुत हुने देखेपछि स्थानीय तहका केन्द्रहरुमा बसोबास गर्न गएकाहरु फर्किन थालेका हुन् ।

पछिल्लो समय सदरमुकाममा बनेका भवनहरु अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी र महँगो लगानीमा बनेका कारण पनि स्थानीयमा सदरमुकामप्रति आशा पलाएको हो । बडिमालिका–६ कोर्द गाउँका कर्णबहादुर कार्कीले भन्नुभयो, ‘पछिल्लो समय सदरमुकाम छोडेकाहरु फर्किन लागेका छन् । छोराछोरीलाई विद्यालय पठाउन, उपचार गर्न र अन्य सेवा सुविधा सदरमुकाममै हुने देखेपछि गाउँ गएकाहरु सदरमुकाम फर्किन थालेका हुन् । गाउँमा केही सुविधा छैन ।’

‘सदरमुकाममा पहिलेभन्दा अहिले मान्छे बढेका छन् ।  नयाँ घरहरु समेत बन्न थालेका छन् । ठूला ठूला सरकारी भवन बन्दै छन् । यसले केही आशा पलाएको छ,’ सदरमुकाम मार्तडीका व्यापारी रोशन श्रेष्ठ भन्नुहुन्छ । संघीयता अगाडिकोजति भने व्यापार नबढेको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणि पन्तले बि.स. २०३३ सालमा बनेको भवनमा सेवा दिन कठिन भएकोले अत्याधुनिक भवन बनाउन थालिएको बताउनुभयो । ‘यसले यहाँका बिरामीलाई सजिलो हुने छ । बाजुराका नौवटै स्थानीय तहमा स्वास्थ्य संस्थाको भवन निर्माण भइरहेका छन् । त्यहाँबाट रिफर भएका बिरामीलाई यहाँ उपचार गर्न सहज हुने छ । हुम्ला र मुगुका बिरामीलाई समेत यहाँ उपचार गर्न सजिलो हुने छ ।’

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने पनि पछिल्लो समय सदरमुकाम मार्तडीमा धेरै भवन बन्दै गरेको बताउनुहुन्छ । पाँच÷सात वटा ठूला र अत्याधुनिक भवन बन्दै गरेको उल्लेख गर्दै न्यौपानेले यसले सदरमुकामको गतिविधि बढाउने बताउनुभयो । 

सरकारले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा लिएको छ । तर गाउँमा दरबार मात्रै बन्ने र स्थानीयले अपेक्षाअनुरुप सेवा सुविधा पाउने सम्भावना नदेखेपछि उनीहरु सदरमुकाम फर्कन बाध्यता भएको हुन सक्छ । स्थानीय सरकारले दिने सेवा सुविधाप्रतिको विश्वास यसरी नै घट्दै गएमा सदरमुकाम सम्पन्न हुने र गाउँ रित्तिने परिस्थिति फेरि नआउला भन्न सकिन्न । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया