मुख्यमन्त्री राउतलाई 'महामूर्ख' को उपाधि, फर्सीकाे टाेपी र घिराैलाकाे माला लगाइयाे

 फागुन २६, २०७६ सोमबार १९:६:२७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई 'महामूर्ख' को उपाधिबाट सम्मानित गरिएको छ ।

फागु पर्व अर्थात् हाेलीकाे अवसरमा जनकपुरधामकाे मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा होली पर्वको पूर्व सन्ध्यामा आयोजित 'महामूर्ख' सम्मेलनमा मुख्यमन्त्री राउतलाई 'महामूर्ख' को हास्य उपाधिबाट सम्मानित गरिएको हो ।

मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला, कोबी लगायतका माला लगाइ 'महामूर्ख' सम्मानपत्रसहित सम्मानित गरिएको हाे । मुख्यमन्त्री साथै प्रदेश सांसद् मनिष सुमनलाई 'पटमूर्ख', परमेश्वर साहलाई 'भभकैवा', रामचन्द्र मण्डललाई 'सिलौटशङ्कर' र रामआशिष यादवलाई 'हराशङ्ख' को उपाधिबाट सम्मानित गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, 'यो क्षण हाम्रो लागस अविस्मरणीय रहनेछ । किनकि आजसम्म म कतै पनि महामूर्ख बने थिइनँ, यहाँ आएर महामूर्खको उपाधि पाएर गौरवान्ति भएको छु ।'

मुख्यमन्त्री राउतले होली पर्व सद्भावको पर्व भएकाले यसमा रमाइलो गर्न कुनै बन्देज नभएकाे तर सचेतना अपनाउन आवश्यक रहेकाे बताउनुभयाे । 

त्यसैगरी महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई 'टुनमुसरी', साहित्यकार रोशन जनकपुरीलाई 'बैलघोगना', वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक बलराम ठाकुरलाई 'खेसारी लाल', र पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई 'खाबसुरत' को उपाधि दिइएको छ ।

महामूर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधि दिएसँगै कविता वाचन र होलीको लोकगीत र होरैया गीतसमेत प्रदर्शन गरिएको थियो । 

गएका वर्षमा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, राष्ट्रिय सभाका पूर्व सदस्य वृषेशचन्द्र लाल, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतका विशिष्ट व्यक्तिहरुले 'महामूर्ख' को उपाधि पाइसकेका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया