दैलेखमा आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते

प्रहरीकाे शंका, थप अनुसन्धान

 चैत १, २०७६ शनिबार ७:२१:१ | अमर सुनार
unn.prixa.net

दैलेख – जंगलमा शिकार खेल्न आफैँले बाेकेर गएकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही आफैँले बोकेको बन्दुक पड्केर घाइते भएका  हुन् । 

प्रहरीकाे शंका

दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । 

निरगाबाट झण्डै ४ घण्टाको पैदल दूरीमा रहेको चुकेढाण भन्ने जंगलमा गोली लागेलगतै अपरान्ह दैलेख जिल्ला अस्पतालमा पुर्‍याइएका शाहीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको डा. जगत थापाले जानकारी दिनुभयो । 

घाइतेको जीउमै गोली रहेकोले गोली निकाल्न र हत्केलाको हड्डी छियाछिया भएको कारण ‘अर्थोपेडिक मेनेज्मेण्ट’का लागि घाइतेलाई सुर्खेत पठाइएको डा. थापाले बताउनुभयो । एक्स–रे गरेर हेर्दा साँप्रामा गोली अड्किएको र हत्केलाका हड्डीहरु छियाछिया भएको देखिएको उहाँले जानकारी दिनुभयो । 

जीप रिजर्भ गरेर घाइतेलाई उपचारका लागि दैलेख अस्पताल ल्याएका आफन्त समेत भागेको कारण प्रहरीले घटनालाई शंकास्पद भनेको छ । स्थानीयका अनुसार बिर्षबहादुरलाई गोली लाग्दा त्यहाँ ६ जना सिकारी थिए ।

अनुमति नलिइएको भरुवा बन्दुकबाट गोली लागेको कारण यो घटनालाई गाउलेहरुले लुकाउन खोजेको बुझिएको छ । दैलेखका केही गाउँमा अनुमति नलिइएको भरुवा बन्दुकले सिकार खेल्दा र स-साना विवादमा गोली चल्दा पटक पटक मानिसहरुको ज्यान जानेसम्मका घटनाहरु हुने गरेका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया