होम क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

 चैत ३, २०७६ सोमबार ११:३६:४८ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो ।  

विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरिन्छ । त्यहाँ ज्वरो देखियो भने सिधै अस्पताल पुर्याइन्छ। ज्वरो नदेखिएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ । 

होम क्वारेन्टाइनको लागि विमानस्थलमै एउटा फारम भनुपर्छ ।  फारममा  कहाँ बस्ने ? कसरी बस्ने ? एक्लै बस्ने कि साथीसँग बस्ने लगायतका सबै कुरा खुलाएर भर पर्नुपर्छ  । त्यसैको आधारमा सरकारी निकायले उनीहरुको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।  

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ? 

१. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने  ।  यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा  गर्ने  ।

३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने । 

५. स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने । 

६.  नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने । 

७. आफूले  प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।  

८.  अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९. अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र  अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।

११.आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।   

१२ .स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने  र आवश्यक सहयोगको लागि सधैं तयार रहने  ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने  ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरूअनुरूप गर्ने । 

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने । 

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई प्रमुख सागर दाहालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १३, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

2 Comments

  • रत्न कार्की

    March 21, 2020, 6 p.m.

    क्वारेन्टाइन भन्ने शब्द्द्लाइ एकान्त बास भन्दा कसो होला ।।।

  •  0 Reply
  • Rajkumar lama

    March 16, 2020, 1:46 p.m.

    सरकारले तोकेको होम क्वारेन्टाइनको तरिका १००% कार्यन्वयनमा आउँछ भन्नेमा शंका छ । किन भने बिदेशबाट फर्किने सबै जना सुुगममा बस्छ भन्ने छैन । कुनै दुर्गम ठाउँमा बस्ने मान्छेले सशर्त पालना गरौ भन्न सकिँदैन र सरकारले प्रत्यक्ष चिकित्सकको सम्पर्कमा/निगरानिमा राख्ने भन्नुु पनि कार्यन्वयनमा शंका गर्ने आधार हो । यदि सरकारले एयरपोर्टबाट नै फर्म भर्न लगाएर त्यो ब्यक्तिलाइ होम क्वारेन्टाइनमा पठाउनु भन्दा कुनै निश्चित ठाउमा रखेर निगरानि गर्नु गराउनु उचित होला । बिश्वलाई भन्दा/सुनाउदा के के न गरे जस्तो पुरै तयारि छ भन्नू अनि व्यवहार चाहिँ शून्य हुनु नेपाल सरकारको न्याय संगत छैन ।

  •  1 Reply

तपाईको प्रतिक्रिया