पाेशाकमै नेपाल छिरेका भारतीय प्रहरीले माफी मागे : आजै फिर्ता पठाइयाे

 चैत ४, २०७६ मंगलबार २०:०:९ | अमर सुनार
unn.prixa.net

दैलेख – पाेशाकमै नेपाली भूमि दैलेख सदरमुकाम आइपुगेको भारतीय प्रहरी टाेलीलाई जिल्ला प्रशासन कार्यालयले फिर्ता गराएको छ ।

भारतको हरियाणा प्रदेशबाट आएको भारतीय प्रहरीको टोली मंगलबार बिहान सदरमुकाम दैलेख बजारमा पाेशाकमै हिँडिरहेको विषयलाई स्थानीयले आपत्ति जनाएपछि प्रशासनले उनीहरुलाई फिर्ता गरेको हो । 

भारतको हरियाणा प्रदेशको यमुनानगर जिल्लामा जिल्ला सदरमुकाम नारायण नगरपालिका घर भएका एक व्यक्तिले झण्डै ५० लाख रुपैयाँ बराबरको धनमाल ४ महिना अघि चोरी गरेको विषयमा आरोपितको पहिचान पक्का गर्न आएका भनिएका भारतीय प्रहरी पाेशाकमा घुमफिर गरेकोमा स्थानीयले आपत्ति जनाएका थिए ।

स्थानीयले आपत्ति जनाएपछि यमुनानगरका पुलिस सबइन्स्पेक्टर विजय विवेकसहितका ३ जना भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सादा पोशाकमा मात्र हिँड्न भनिएपछि उनीहरुले पाेशाक खोलेका थिए ।

यमुनानगरका पुलिस सबइन्स्पेक्टर विजय विवेकले भने दैलेखको प्रहरी कार्यालयमा भेट्न पाेशाकमै जाँदा औपचारिक परिचयलाई सजिलो हुने भएकाले पाेशाक लगाएकाे बताए। 

भारतीय प्रहरी टोलीलाई जिल्ला प्रशासनले ‘छिमेकी देशमा आफ्नो देशको प्रहरी पाेशाक लगाउनु गलत हो’ भनेपछि ‘आफूहरुबाट नजानेर गल्ती भएको’ भन्दै माफी मागेका छन् । 

इण्टरपोलमा नोटिस भएका अपराध घटना अनुसन्धानमा सघाउन नेपाल प्रहरीकाे कर्तव्य भए पनि आउने तरिका नमिलेको दैलेखका निमित्त प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक नैनबहादुर सावदले टिप्पणी गर्नुभयो । 

सादा पोशाकमा आउजाउ गरेर भारतीय प्रहरी र नेपाल प्रहरीले ठूला अपराधका घटनामा आरोपितलाई पक्रन सहयोग आदानप्रदान भएकै भए पनि पाेशाक लगाएर हिँडेकै कारण उनीहरुलाई आजै फिर्ता गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताउनुभयो । 

उनीहरु अहिले मंगलबार साँझ नेपालगञ्ज नजिकको भारतीय सीमा रुपैडिया पुगेको आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिनुभयो । भारतको नजिकको सीमा रुपैडियाबाट दैलेख १ सय ९५ किलोमिटरकाे दूरीमा पर्दछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • bishal sadashank

    March 17, 2020, 9:54 p.m.

    तर दैलेख सदरमुकाम दैलेख बजार नै हो दुल्लु होइन । सदरमुकाम नारायण नगर पालिकामा पर्छ । दुल्लु नगर पालिका अर्को स्थानिय तह हो । दैलेखमा ११ ओटा स्थानिय तह छ्न ।

  •  0 Reply

तपाईको प्रतिक्रिया