‘लकडाउन’ पछि तीनै तह अन्योलमा, विराटनगरमा १० जना अलपत्र

 चैत ११, २०७६ मंगलबार १३:३२:२७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सरकारले मङ्गलबारदेखि देशव्यापी लकडाउन गरेको छ । त्यसको प्रभाव सबै क्षेत्रमा परेको छ । सर्वसाधारणलाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कन भनिएको छ । जसका कारण पूर्वका धेरै ठाउँमा सर्वसाधारणको उपस्थिति न्यून देखिएको छ ।  तर सोचेको जस्तो प्रभावकारी भने नदेखिएको अधिकारीहरु नै बताउँदै आएका छन् ।

मङ्गलबार बिहान विराटगरका धेरै ठाउँमध्येको एक विराटनगर बसपार्क पुग्दा प्रहरीलु मोटरसाइकलमा आएकाहरुलाई जाँच गर्ने अनि परिचय पत्र खोज्ने काम गर्दै थियो । प्रहरीको कडाइ र सर्वसाधारणको आउजाउको फोटो खिच्दै गर्दा नजिकै रहेका केही युवाहरु आएर आफ्ना पीडा सुनाउन थाले ।

बसपार्कमा १० जना अलपत्र

कैलालीको टिकापुर नगरपालिका १ का रामबहादुर बिक एक महिनाअघि मात्र कामको सिलसिलामा भारतको पूर्णिया जानुभएको थियो । भारतमा कोरोनाको त्रास फैलँदै जाँदा उहाँ सहित १० जना जोगबनी नाका हुँदै फर्किए । सोमबार बिहान जोगबनी नाका आइपुगेका उनीहरुलाई प्रहरीले नेपाल पवबेश गर्न दिएन । त्यहाँ झडपकै अवस्था आयो । तर निक्कै रस्साकस्सीपछि उनीहरु नेपाल छिर्न पाए ।

नेपाल फर्किए लगत्तै कैलाली जाने सोच बनाएका उनीहरुले बसपार्क आउँदा कुनै सवारीसाधन पाएनन् । उनीहरु त्यहीँ नजिकै रहेको एक होटलमा बसे । तर होटलले मङ्गलबार बिहानै राख्न नसक्ने भनेर निकालि दिएपछि उनीहरु बसपार्कको अगाडि भौतारिँदै थिए । भारतको पटनामा कोरोनाको कारण एक जनाको ज्यान गएको थाहा पाएपछि समस्या आउने डरले आफुहरु त्यहाँबाट पैसा नै नलिइ रित्तो हात फर्किनु परेको रामबहादुरले बताउनुभयो ।

कोरोनाको डरले घर फर्किएका उनीहरु अहिले बिराटनगर बसपार्कमा अलपत्र छन्  ।

यसरी अलपत्र पर्नेहरुमा कैलाली टिकापुरका ६० वर्षीय बलबिरे कामी, ३६ वर्षीय गोपाल परियार, ४५ वर्षीय खडक दमाई, ४० वर्षीय पदमबहादुर कामी, २४ वर्षीय रामबहादुर बिक, ३३ वर्षीय लालबहादुर बिक, डोरबहादुर बिक र नरेश परियार रहेका छन् । त्यस्तै सुर्खेतका २५ वर्षीय उमेश ढकाल पनि विराटनगरको बसपार्कमा अलपत्र पर्नुभएको छ । राति पैसा तिरेर होटलमा बसेका उनीहरुलाई होटलले बिहानै निकालि दिएपछि अप्ठेरोमा परेको नरेश परियारले जानकारी दिनुभयो ।

सरकारले सोमबार साँझ देश नै लकडाउन गर्ने निर्णय गरेपछि मङ्गलबार बिहानैदेखि होटलहरु पनि बन्द भएका छन् । होटल बन्द भएपछि के खाने र कहाँ जाने भन्ने चिन्ता भएको नरेशले बताउनुभयो । नेपाल छिर्न नै एउटा कसरत पार गरेर आएका उनीहरुलाई अब एक दिनमात्र बस्नुपर्ने अवस्था आए खाने खर्च समेत नभएको बताएका छन् ।

अलपत्रमा परिरहेको अवस्थामा भेटिएका उनीहरुले गाउँ फर्कने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । कोरोना लागेको भए क्वारेन्टाइनमा राख्न भनिएको तर कसैले पनि चासो नदिएको उनीहरुको गुनासो छ । टिकापुरका बलबिरे कामीले भन्नुभयो, हामी पनि त नेपाली नै हौँ, हामीलाई रोग लागेको भए बरु क्वारेन्टाइनमा राखियोस् तर सडकमा हुँदा हाम्रो बिजोग भयो ।’

अनिर्णित तीन तह

सडकमा कसैले कुरा नसुनेपछि पत्रकारलाई आफ्नो गुनासो गुनाउँदा समस्याको समाधान होला भनेर आशा गरेका उनीहरुको बारेमा पालिका, प्रदेश सरकारका मन्त्री तथा सङ्घीय सरकारका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउँदै कसैले पनि चासो दिएनन् । 

मङ्गलबार बिहान नेकपा मोरङले आयोजना गरेको सर्वपक्षीय बैठकमा पुग्नुभएका प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो काम सिडियो कार्यालयले गर्ने प्रतिक्रिया दिनुभयो । ‘यसरी समस्या परेकाहरुलाई कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको छ तर कसरी जाने भन्ने बारेमा सिडियो कार्यालयबाट नै काम गर्ने हो’, मन्त्री घिमिरेले भन्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसँग यसबारेमा जानकारी लिँदा यो काम आफ्नोभन्दा पनि पालिका र प्रदेश सरकारको भएको बताउनुभयो । यो काम आफुले गर्न नसक्ने स्पष्ट पार्नुभयो । ‘यो नयाँ समस्या हो, सल्लाह गरेर मात्र गर्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी भुजेलले भन्नुभयो, ‘लकडाउन गरी सकेको अवस्थामा कोही अलपत्र परेको छ भने जहाँ छ त्यहीँ बस्नु नै उत्तम विकल्प हो ।’

बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाको समस्या मात्र आफ्नो जिम्मेवारीभित्र पर्ने बताउनुभयो । विराटनगरभन्दा बाहिरको कुरा प्रदेश सरकारसँग समन्वय गरेर गर्न सकिने भए पनि सबैलाई पालिकाले खुवाउन र राख्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।

‘विराटनगरकालाई जे गर्नुपर्छ हामी गर्नको लागि तयार छौँ’, मेयर पराजुलीले भन्नुभयो, ‘बाहिरका व्यक्तिको हकमा भने प्रदेश सरकार र सङ्घीय सरकारले नै गर्नुपर्छ, सामान्य कुरा हो भने हामी पनि गछौँ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया