कोरोनाको आशङ्कामा ११ जनालाई आइसोलेशनमा राखियो

 चैत १२, २०७६ बुधबार १२:३७:७ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि नभएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो । 

उहाँका अनुसार कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ । टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको हो । 

त्यस्तै ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । तर ती युवती बाहेक अरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उनको पनि अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ । 

गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई गएको आइतबार रातिदेखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो । 

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ । 

नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय आठ जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको मन्त्रालयले जनाएको हो । अहिले मौसमी रुघाखोकी लाग्ने समय भएकाले रुघाखोकी लाग्दैमा नआत्तिन तर सावधानी भने अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । 

यसैबीच कोरोनाको बारेमा जानकारी लिनु परेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । १११५ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म फोन गर्न सकिनेछ । 

उच्च ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोनाबाट बच्न ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढै बस्नुपर्छ । साथै मास्क (मुखावरण) अनिवार्य लगाउने, खोक्दा वा हाच्छँयु गर्दा टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपर बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्नुपर्छ ।  

यस्तै साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, प्रभावित देशबाट आएका व्यक्तिमा कोरोनाको लक्षण देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तै विदेशबाट आएकाहरुलाई घरमै बस्दा पनि परिवारका सदस्यबाट १४ दिन छु्ट्टै बस्न मन्त्रालयले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया