‘लकडाउन’को तेस्रो दिन, घरबाहिर ननिस्कन आग्रह

 चैत १३, २०७६ बिहिबार १०:०:५१ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – लकडाउनको तेस्रो दिन बिहीबार देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीलाई मात्र चल्न दिइएको गृह मन्त्रालयले जनाएको छ । अरु सार्वजनिक र निजी गाडी भने चलाउन निषेध गरिएको छ । 

सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामको लागि गएको मङ्गलबार लकडाउन घोषणा गरेसँगै अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर लकडाउन भएको भन्दै केही अत्यावश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकाय बन्द भएको पाइएको भन्दै त्यसो नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुको कारोबार गर्ने पसल बन्द नगर्न निर्देशन दिएको छ । मन्त्रालयले अति नै आवश्यक बाहेक हिँडडुल गर्ने मानिसलाई पहिले सम्झाउने, सम्झाउँदा पनि नमान्नेलाई कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना तिराउने, जिल्ला प्रशासन कार्यालयको पास बिना चलेका गाडी नियन्त्रणमा लिएर बेलुकी फिर्ता गर्ने गरेको पनि मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर क्वरेण्टीनमा राख्ने गरी नेपाल ल्याउन पनि सबै निकायलाई निर्देशन दिइएको छ । तर साना शहरमा मानिसको ओहोरदोहोर पातलो हुँदै गए पनि ठूला शहरमा अझै पनि मानिस निस्किरहेको पाइएको उहाँले बताउनुभयो । अनावश्यक रुपमा हिँडडुल गर्दा कोरोना सर्ने वा फैलने जोखिम हुने भन्दै उहाँले अति आवश्यक नपरि ननिस्कन आग्रह गर्नुभएको छ । 

यस्तै बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयको अनुमति बिना कुनै पनि गाडी चलाउन नपाइने पनि गृह मन्त्रालयले जनाएको छ । अझै पनि केही व्यक्ति लकडाउनको अवस्था हेर्न निस्किरहेका पाइएकाले त्यसो नगर्न प्रहरीले आग्रह गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी कार्यलयका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले अझै पनि केही व्यक्ति लकडाउनको अवस्था हेर्न निस्किरहेको पाइएकाले त्यसो नगर्न आग्रह गर्नुभयो । 

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने गरेको पाइएकाले बाटोमा लकडाउनको अवस्था हेर्न निस्कँदा रोग पनि घरमै लैजाने जोखिम बढेको उहाँको भनाइ छ । लकडाउन अरुका लागि नभएर आफू र आफ्नो परिवारका सदस्यको स्वास्थ्यका लागि भएकाले हेलचेक्र्याइँ नगर्न, घरबाहिर ननिस्कन र घरमै बसेर सहयोग गर्न सरकारले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया