पसिना परदेशमा बगायौं, मर्न आफ्नै देशमा पाइयोस्

 चैत २१, २०७६ शुक्रबार १४:३४:५३ | मेरो कथा मेरो भोगाई

रामबहादुर तामाङ/रामेछाप हाल, यूएई ।

सहरहरु त्यतिबेलासम्म सुन्दर लाग्दो रहेछ, जतिबेलासम्म हेर्ने आँखा र मन पनि सुन्दर र शान्त हुन्छ । रोजगारीकै सिलसिलामा म खाडीको सुन्दर सहर दुबईमा छु।

तर यतिबेला कोरोनाले मेरो मन र यो सहर दुवैलाई अशान्त बनाइदिएको छ । डरले भरिदिएको छ । छर्लङ्ग खुलेको आकाशलाई एकाएक बादलले झ्याप्पै छोपेजस्तो यो कोरोनाले संसारलाई छोपेको थिएन भने आज म घरमा हुन्थें । परिवार र आफन्तसँग परदेशबाट लगिदिएको कोसेलीसँगै दुःखसुख साटिरहेको हुन्थें । तर कोरोनाका कारण सबै कुरा एकाएक परिवर्तन भयो ।

मेरो अप्रिल १ मा नेपाल फर्कने टिकट थियो । तर अन्तर्राष्ट्रिय उडान बन्द भयो । नेपालले पनि हामी परदेशमा काम गर्नेहरुलाई प्रवेशमा रोक लगायो । म आज कोठामै थन्किएको छु । मजस्तै १०/१५ जना साथीहरु पनि छन् । उनीहरु पनि यो अप्ठेरो परिस्थितीमा घर फर्कन नपाउँदा कोठामै थुनिएका छन् ।

होटल तथा रेष्टुरेन्टहरु बन्द छन् । यी ठाउँमा काम गर्ने थुप्रै नेपाली यतिबेला कामबिहीन भएर बसिरहेका छन् । बेतलबी बिदामा क्याम्पमा खान र बस्नको सुविधा दिएर राखिएको छ । तर कहिलेसम्म यसरी बस्ने ? एउटै चाहना छ, पसिना परदेशमा बगायौं, मर्न आफ्नै देशमा पाइयोस् ।

सबै बन्द छ । परदेशमा यतिबेला रहर हैन डर मात्र छ । भएको पैसा पनि सकिन लाग्यो । त्यसपछि के खानु ? 

आफ्नै देशमा भए त गाउँ ठाउँमा माग्न पाइन्थ्यो । आज छैन, भोलि दिन्छु भन्न पाइन्थ्यो । तर परदेशमा कसले बुझ्छ र भोको पेटको व्यथा ? कसले दिन्छ र उधारो ? 
दिनप्रतिदिन कोरोनाको सङ्क्रमण बढिरहेको छ । यूएईमा त आठ जना नेपालीमा कोरोना सङ्क्रमण भइसक्यो । 

ज्यान र मन बलियो बनाउनुपर्ने यो बेलामा यस्तै तनावले बिरामी भइयो भने के होला ? यस्तै सोच्दासोच्दै तनाव हुन्छ । मसहित धेरै नेपालीलाई यसबेला मानसिक समस्या होला भन्ने लाग्छ मलाई त ।

त्यसैले सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेर नेपाली नागरिकलाई पनि रोक्नु ठिक होइन । अरु देशले बिमान चार्टर गरेर आफ्ना नागरिक लगेका छन् । के हामी चाहिँ रुँदै बस्नु पर्ने हो र ? कहिले त देश चलाउने रेमिट्यान्स पठाउनेका बारेमा पनि सोच न सरकार ।

राम्रो हुँदा हामीले कमाएकै थियौं । हामीले रेमिट्यान्स पठाएकै थियौं । तर दुःख पर्दा नेपाल फर्कन्छु भन्दा किन रोक्छौ ? यस्तो बेला परदेशमै बस भन्दा मन दुखेर आउँछ । यस्तो भन्न कतिको सुहाउँछ सरकारले यो अप्ठेरोमा ?

म आफ्नो देश फर्किन चाहन्छु । कोरोना लागेर मरे पनि आफ्नै माटो र पानीमा मर्न चाहन्छु । 

अन्तिम अपडेट: जेठ ८, २०७७

1 Comments

  • karun Biswakarmaa

    April 3, 2020, 9:23 p.m.

    के गर्ने म पनि दुबाइ आयेको ७ महिना भयो यहाँ गारो छ ।झन दुबाइ को सर्कार को नीति ले त झन समस्य भयो हामी जति सक्दो छिटोछिटो नेपाल आउने आसा मा ।अस्तु

  •  0 Reply

तपाईको प्रतिक्रिया