चितवनमा ‘कोभिड १९’ प्रयोगशाला सञ्चालनमा, एकैदिन ९ सय जनाको नमुना परीक्षण गर्न सकिने

 चैत २४, २०७६ सोमबार ७:४५:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन  – चितवनमा पनि कोभिड १९ को प्रयोगशाला सञ्चालनमा  आएको छ । भरतपुरमा रहेको राष्ट्रिय पंछी रोग अन्वेषण प्रयोगशाला परिसरमा कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको हो । यो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालन हुनेछ । 

प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिकहरु तयारी अवस्थामा रहेका छन् । एक शिफ्टमा ९० वटा नमुना परीक्षण गर्न सकिने छ । सञ्चालन भएको पहिलो दिन भने एउटा नमुना मात्र परीक्षण गरिने छ । त्यो नमुना प्रदेश परीक्षण कार्यालय हेटौँडामा पनि पठाइएको छ । 

भरतपुरमा स्थापना गरिएको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा. कृष्णसागर शर्माले बताउनुभयो । क्षमता विस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परीक्षण गर्न सकिने उहाँको भनाइ छ । 

यो प्रयोगशालमा चितवन र आसपासका बिरामीको नमुना परीक्षण गर्न प्रभावकारी हुने चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य एवम् प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले बताउनुभयो । 

जिल्लामै प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने भरतपुर महानगरमालिका प्रमुख रेनु दाहालले बताउनुभयो । 

प्रयोगशालामा चितवनका ठूला अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकहरुले काम गर्नेछन् । 

चितवनमै कोरोना परीक्षणको सुविधा नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजहरुले नमुना टेकु पठाउँदै आएकोमा केही दिन अघिदेखि भने हेटौँडा पठाउँदै आएका थिए । छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया