काम गरेर भन्दा सुतेर दिन बिताउन निकै गाह्रो भएको छ

 चैत २४, २०७६ सोमबार १५:३९:६ | मेरो कथा मेरो भोगाई

हरि थापा/नेपाल, हाल मलेसिया

जे सोचेको हुन्छ, त्यो नहुँदो रहेछ । महिना दिन प्रहरीको हिरासतमा बसेर आएको एकजना साथीले आफूले भोगेको व्यथा सुनायो । ‘खान पनि दिंदैनन्, सुत्ने ठाउँ पनि हुँदैन’, उसले हामीले प्रयोग गर्ने बाथरुम देखाउँदै भन्यो ‘यति  ठूलो ठाउँमा त २० जना मानिस अट्छ । यति सफा भईदिए त ।’

उसले त्यति भनेपछि मन आत्तिन छाड्यो । नत्र महिना दिन कसरी कटाउने भनेर छटपटी भएको थियो । अहिले जब छटपटी हुन्छ म त्यही साथीले महिना दिन हिरासतमा भोगेको कुरा सम्झिन्छु र क्वरेन्टीनको बसाई अलि सहज ठान्छु ।

कोठाभित्रै भएपछि कुनै नयाँ योजना बनेका छैनन् । आफूसँग भएका किताब पढिसकेको छु ।  अनि यूट्युबमा फिल्म हेर्ने । यस्तै गरी दिन बितिरहेका छन् । पहिले बेलुका सुत्नुअघि बिहान काममा जानुपर्ने पिर हुन्थ्यो, निद्रा लाग्थ्यो । तर अहिले बेलुका सुतेपछि बिहान उठेर आराम गर्नेबाहेक अरु काम छैन । काम गरेर दिन बिताउन भन्दा सुतेर दिन बिताउन निकै गाह्रो भएको छ । 

१८ दिन भयो, बिहान अर्लाम बज्न छाडेको छ । त्यति मात्र होइन कुन दिन, के बार सबै भुलाई दिएको छ । 

दिउँसो नसुत्नेहरुलाई पनि सुताइदिएको छ । रातमा निदाउनेहरुलाई पनि ब्युँझाइदिएको छ  । अहिले त रात दिन उस्तै लाग्न थालेको छ । चौबीसै घण्टा कोठा भित्र बसेपछि बाहिरी संसार भन्नु नै सामाजिक सञ्जाल भएको छ ।

कोरोनाले पुरै समय तालिका बदलिएको छ । बिहान कहिल्यै चुलो बल्दैनथ्यो । हामी बिहानको खान सधैं कम्पनीको क्यान्टिनमा खान्थ्यौं । १७ दिन यता चुलो खाली भएको छैन । तर खानेकुरामा भने पहिलेको जस्तो स्वाद हुँदैन ।

पहिले जस्तो विभिन्न परिकारका तरकारी पनि पाक्दैनन् । लकडाउनको हल्ला सुनेको पहिलो दिन दुई, तीन घण्टा लाईन बसेर ल्याएको तरकारी थियो, अहिले सकियो । आखिर जिन्दगी त दाल भात खाएर पनि चल्ने रहेछ भन्ने कुरा बल्ल बुझियो ।

दिन निकै पट्यारलाग्दो भएको छ । 

खाडीमा खान नपाउनेहरु त कोरोना आउनु अघिदेखि नै थिए । खाडीका श्रमिक भनेपछि धेरैले अर्कै दृष्टिले हेर्छन् । रेमिट्यान्सको हिसाब राख्ने सरकारले आफ्ना नागरिकलाई समान दृष्टिकोणले हेरेन । 

यतिबेला सरकारको तर्फबाट आश्वसन मात्र पाए पनि खाडीमा पसिना बगाइरहेका नेपालीहरुलाई ठूलो राहत मिल्थ्यो । अनि यो विपदको बेलामा नागरिकले पनि सरकारलाई सघाउनु पर्छ । विदेशबाट आउनेले पनि भाग्नु हुँदैन । जेजस्तो सरकारको मापदण्ड छ त्यसलाई पालना गर्नुपर्छ । तर विदेशबाट आउनेलाई पनि भेदभाव गर्न हुँदैन ।

खाडी लगायत विभिन्न देशमा नेपालीहरु भिसा सकिएर अलपत्र परेका छन् । ती देशको दूतावासमार्फत समस्याको समाधान निकाल्नुपर्छ । दुःख परेको बेला सबैले आमालाई नै  सम्झन्छन् । देश भनेको आमा हुन् । त्यसैले यो विपदमा विदेशबाट आफ्ना नागरिकलाई ल्याउने र ल्याएकाहरुलाई सुरक्षित स्थानमा राख्ने काम सरकार लागिपरोस् । अनि विदेशमा रहेकाले कोरोना ल्यायो भनेर आरोप प्रत्यारोप बन्द गरौं । 

कोरोनापछिको दिनचार्य फेरिएको छ । कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने दैनिकी ठाउँको ठाउँ परिवर्तन गरिदियो । काम गर्ने, खाने, सुत्ने, उठ्ने, भेटघाट गर्ने सबै कुरा परिवर्तन गरिदिएको छ । स्वतन्त्र मानिसलाई पिँजडाको सुगा बनाईदिएको छ । 

मलेसिया लकडाउ भएको १८ दिन भयो । हामी कम्पनीको  होस्टेलमा क्वारेन्टीनमा छौं । पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लकडाउनको अवधि अप्रिल १४ सम्म बनाएको छ । मलेसियामा लकडाउनको प्रभावकारी कार्यान्वयन भएको छ । कसैले उल्लङ्घन गरेका छैनन् ।

अन्तिम अपडेट: जेठ २४, २०७७

तपाईको प्रतिक्रिया