नगरपालिकाले कृषि उपज किनेर मजदुर र विपन्नलाई बाँड्दै

 चैत २८, २०७६ शुक्रबार ११:४६:० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा–कृषकले उत्पादन गरेका कृषि उपज नगरपालिकाले खरिद गरिदिएपछि वालिङका कृषकहरु उत्साहित भएका छन् ।  

देशमा ‘लकडाउन’ चलिरहेको कारण कृषकले उत्पादन गरेका सामाग्रीहरु बजारसम्म पुग्न सकेका थिएनन् जसका कारण उनीहरु चिन्तित थिए । वालिङ नगरपालिका वडा नम्बर ६ का कृषक लोकबहादुर गुुरुङले भन्नुभयो, ‘मैले दुःख गरी लगाएको तरकारी नबिक्ने भो भन्दै चिन्ता मानेको थिए । तर नगरपालिकाले सबै तरकारी खरिद गरिदिएपछि हर्षित भएको छु ।’

यस्तै वडा नम्बर १४ का कृषक कमलापति डुम्रेको पनि खुसीको सीमा छैन । उहाँले भन्नुभयो, ‘सहज हुँदा त हामी आफैँले बेचेकै थियौँ । सरकार चाहिने भनेको यस्तै समस्या पर्दा हो । वालिङ नगरपालिकाले कृषकप्रति देखाएको सदासयता निकै उदाहरणीय छ ।’ नगरपालिकाका १४ वटै वडाका कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले  खरिद गरी व्यवस्थापन गरिरहेको  छ । 

‘गाउँगाउँका कृषि उपज बिक्री नभइ कृषक मारमा पर्ने अवस्था आउन नदिन उनीहरुको उत्पादन नगरपालिकाले खरिद गरी व्यवस्थापन गरिरहेका छौँ,’ नगर प्रमुख दिलिपप्रताप खाँणले भन्नुभयो, ‘कृषकहरुको मनोबल कम नहोस् भनेर हामीले यस्तो गरेका हौँ ।’ 

राहत सामाग्रीसँगै कृषकहरुबाट किनिएका तरकारीहरु मजदुर तथा अति विपन्न परिवारलाई उपलब्ध गराइएको नगरप्रमुख खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँगाउँमा कृषकका उत्पादनले बजार नपाउने तर विपन्न र मजदुरको लागि हरियो तरकारी अभाव हुने अवस्था हामीले आउन दिदैनौँ ।”

नगरपालिकाका कृषकले उत्पादन गरेका सामाग्री लिनका लागि कृषि शाखाका प्रमुख केशबहादुर थापा र पशु शाखाकी प्रमुख देवकुमारी श्रेष्ठसहितको टोली गाउँगाउँ पुग्ने गरेको छ । वडा तहमा कार्यरत दियालो युएनडिपी नेपालका कृषि प्राविधिक र स्वयंसेवकहरुले यसको लागि सहजीकरण गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • अर्जुन परियार, बबई गापा ४ हापुरे, दाङ

    April 10, 2020, 12:04 p.m.

    स्थानिय सरकारको भुमिका यस्तो पो हुनु पर्छ, उत्पादन गर्ने कृषक पनि खुसी, राहत पाउने गरिब पनि खुसी । यसरी जनताको भवना भुझ्न सक्ने सरकार भैदियो भने जनताले कहिले पनि अभाब झेल्नु पर्दैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया