पालिकाहरुमा कोरोनाविरुद्धको सचेतना राम्रो

 चैत २८, २०७६ शुक्रबार १४:५१:५१ | उज्यालो सहकर्मी

चितवन - विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ ।

सरकारले लक डाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाण्डौ उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामको बहानामा लक डाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ ।

राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिन्छन् ।

काठमाण्डौ बाहिर सामाजिक दुरी कायम गर्दै लक डाउनको पूर्ण पालना भएको देखियो । राजधानी काठमाण्डौबाट स्थलगत रिपोर्टिङका लागि बन्दिपुरसम्म पुग्दा राजमार्ग सुनसान देखिन्छ । ग्यास, खाद्यान्न बोकेका केही गाडीहरु चले पनि राजमार्ग वरिपरिका होटलहरु बन्द छन् ।

त्यति मात्र नभइ राजमार्ग वरिपरिका घर अगाडि तारबार नै गरिएको छ । 

स्थानीयहरुले सामाजिक दुरी कायम गर्नकै लागि तारबार गरिएको बताए । राजमार्गमा खाद्यान्न, डिजेल, पेट्रोल तथा ग्यास बाकेका र अन्य मालवाहक सवारी सञ्चालन भइरहेका छन् ।

स्थानीय/स्थानीयबीच मात्र नभइ गाउँ/गाउँबीच पनि सामाजिक दुरी कायम गरेको दृश्य देखिन्थ्यो । एक गाउँबाट अर्को गाउँमा अनावश्यक रुपमा कोही आवत जावत नगरुन भनेर पुलमा बार लगाइएको छ । सूचना टाँसेर नै एक ठाउँबाट अर्को ठाउँमा अनावश्यक रुपमा आवतजावत नगर्न भनिएको छ ।

सूचनामा लेखिएको छ, ‘यस वुटार चुमरखोल जोड्ने पुलमा अत्यावश्यक र भैपरी आउने समस्याबाहेक आवत जावत गर्न पाइने छैन्, किराना पसलामा सामान खरिद गर्द एकमुष्ट खरिद गर्ने र पटक पटक  हिंडडुल नगर्ने, लक डाउनको पूर्ण पालना गर्ने, सार्वजनिक स्थल पूर्ण रुपमा सफा गर्ने र कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्ने ।’

सरकारले घोषणा गरेको लक डाउनको भोलिपल्टदेखि नै पुल बन्द गरिएको गण्डकी गाउँपालिका २ दह भञ्ज्याङका स्थानीय गगनबहादुर थापाले बताउनुभयो ।

सो पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक, दह भञ्ज्याङ, फुर्केडाडाँ लगायतका गाउँमा पुग्न सकिने उहाँको भनाइ छ । अत्यावश्यक काम र दैनिक उपभोग्य सामान किन्नका लागि मात्रै पुल खुल्ने गरेको उहाँको भनाइ छ ।

चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबु खैरेनी गाउँपालिकाले ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापनगरी स्थानीय, सवारी चालक तथा अन्य व्यक्तिहरुको ज्वरो नाप्ने गरेको देखियो । एक दिनमा झन्डै १ सय जनाको तापक्रम (ज्वरो) नाप्ने गरेको इच्छाकामना गाउँपालिका कुरिनटारमा रहेको सहायता कक्षमा रहनुभएका सिनियर अहेब चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

वाग्मती प्रदेश प्रवेश गर्ने पश्चिमको मुख्य नाकामा स्थापना भएको सो स्वास्थ्य सहायता कक्षबाट पैदलयात्री, मोटरसाइकल चालक र अन्य सवारी चालक तथा कर्मचारीको तापक्रम नाप्ने र कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएमा थप निगरानी गर्ने गरिएको उहाँले बताउनुभयो ।

गाउँमा कोरोना भाइरसविरुद्ध लड्न स्थानीय प्रतिबद्ध त छन तर होटल व्यवसायीहरुलाई भने चिन्ता पनि थपिएको छ । पर्यटक आउने मुख्य सिजनमै भाइरस देखिनु र लक डाउनका कारण व्यवसाय नै चौपट हुने डर उनीहरुमा छन् ।

लक डाउनले धेरै असर गरेको बन्दीपुरका एक होटल व्यवसायी नानु श्रेष्ठले बताउनुभयो ।

माघ फागुनबाट पर्यटक आउने सिजन सुरु भए पनि यहि समयमा भाइरस देखा परेपछि ठूलो असर गरेको उहाँको भनाइ छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभए पनि कोरोना भाइरस सङ्क्रमण को जोखिम कम भएपछि आन्तरिक पर्यटक आउने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ ।

काठमाण्डौ छिर्ने मुख्य नाकामा समेत चेकजाँचमा कडाइगरिएको छ । चन्द्रागिरी नगरपालिकाले उपत्यका छिर्ने मुख्य नाकाबाट आवतजावत गर्ने सवारी चालकहरुको लागत राख्ने र तापक्रम नाप्ने व्यवस्था मिलाएको छ ।

सीमित स्रोत साधनकाबीच स्थानीय तहहरुले कोरोनाविरुद्ध लड्न भरपुर प्रयास गरिरहेका छन् । संघीय सरकारले स्थानीय तहहरुमा पर्याप्त स्वास्थ्य सामग्री दिने र अझै प्रोत्साहनका कार्यक्रम घोषणा गरेर अगाडि बढ्न सके गाउँ गाउँबाट कोरोना सङ्क्रमणको जोखिम र त्रासलाई निर्मूल पार्न सहयोग पुग्नेछ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया