असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
कास्की -
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’
वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरा आएर यहाँका मनोरम प्राकृतिक छठाको रसास्वादन गर्ने गरेका छन् ।
प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी पोखरामा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने गर्दछन् । दुई चार दिन बिदा हुँनासाथ पूर्व मेचीदेखि पश्चिम महाकालीका बालकदेखि वृद्धसम्मको घुम्न जाने पहिलो रोजाइ पोखरा बनिसकेको छ ।
विडम्बना नै भन्नुपर्छ प्रत्येक नेपाली नयाँ वर्षका अवसरमा विशेषतः आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनले यतिखेर भने सुनसान बनेको छ ।
पोखराको प्रमुख पर्यटकीय आकर्षण ‘लेकसाइड’ यतिखेर सुनसान छ भने पोखरामा धार्मिक पर्यटकीयस्थलमा दर्शनार्थी छैनन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट आउने आन्तरिक पर्यटक त छैनन् नै, यहाँका स्थानीयवासी पनि लकडाउनका कारण घरघरमा नै रोकिएका छन् ।
पोखराको पर्यटकीय इतिहाससँग आरोहणकै जेठो हिमाल अन्नपूर्ण जोडिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । उहाँका अनुसार सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टाली आरोहणमा जाँदा आउँदा पोखरामा बसेका थिए ।
पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि चलायमान बनेको हो । अन्नपूर्ण हिमाल आरोहणको झण्डै डेढ दशकपछि सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरेका थिए ।
त्यसयता यस क्षेत्रको पदयात्रा होस् वा हिमाल आरोहण हरेकमा पर्यटकले केही दिन विताएर तयारी गर्ने र फर्केपछि आराम गर्ने स्थलका रुपमा पोखरा विकास भएको उहाँले जानकारी दिनुभयो ।
विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण र जारी लकडाउनका कारण पोखराको पर्यटककीय इतिहासमा पहिलो पटक यो पर्यटकविहीन बन्न पुगेको थापाले बताउनुभयो । सन् १९८० को दशकदेखि पोखराको फस्टाउँदै गएको पोखराको पर्यटनमा भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न व्यवधानले बेला बेलामा असर गरे पनि अहिलेको जस्तो भने यसअघि भोग्नु नपरेको पर्यटन व्यवसायी बताउँछन् ।
पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान छन् । यहाँका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।
यी स्थानका अतिरिक्त पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल महत्वपूर्ण स्थल हुन् ।
प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटकले पोखरा भरिभराउ हुने गरेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।
पोखरामा पर्यटक लक्षित होटेल ५०० भन्दाबढी सङ्ख्यामा रहेको जानकारी दिँदै उहाँले होटेल व्यसायमा मात्रै रु एक खर्बभन्दा बढी लगानी भइसेकेको बताउनुभयो । इतिहासमा नै पहिलो पटक पोखरा पर्यटकविहीन बनेको बताउँदै उहाँले कोरोना सङ्क्रमणको मारमा यहाँका व्यवसायी परिरहेको बताउनुभयो । उहाँका अनुसार पश्चिमाञ्चल होटेल सङ्घले वर्षेनी गर्दै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण यस वर्ष स्थगन गरिएको छ ।
नयाँ वर्षमा पोखरा आउने पर्यटक विगतमा फेवातालमा डुङ्गा शयरका साथै तालका बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने गर्दथे । अहिले भने लकडाउनका कारण यहाँका डुङ्गा व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरिसकेका छन् ।
नयाँ वर्षका साथै महत्वपूर्ण चाडपर्व र तिथि मितिमा ठूलै भीडाभाड हुने पोखराको विन्ध्यवासिनी मन्दिर आज भने सुनसान रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । लकडाउनसँगै मन्दिरमा सर्वसाधारणका लागि पूजा अर्चनाका लागि रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।
‘प्रत्येक नयाँ वर्षमा निकै भिडभाड हुने विन्ध्यवासनी मन्दिर यसपटक भने सुनसान बनेको छ’, संस्कृतिविद्समेत रहेका श्रेष्ठले भन्नुभयो, ‘इतिहासमा नै पहिलो पटक पोखराका धार्मिक पर्यटकीय स्थल दर्शनार्थीविहीन बनेका छन् ।’
–राससका लागि वासुदेव पौडेलले तयार पर्नु भएको
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।