यूएईबाट स्वदेश फर्कन चाहने नेपाली १० हजारभन्दा धेरै

 बैशाख ४, २०७७ बिहिबार १३:४५:२३ | उमाकान्त पाण्डे

यूएई – यूएईबाट १० हजारभन्दा धेरै नेपाली स्वदेश फर्कन चाहेका छन् । कोरोनाका कारण समस्या परेको भन्दै १० हजारभन्दा धेरै नेपालीले यूएईमा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ एनआरएनएमा फारम भरेका हुन् ।

एनआरएनएले गएको हप्तादेखि कोरोनाका कारण समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीको तथ्याँक संकलन गरेको थियो । समस्यामा परेका नेपालीले यूएईमा रहेको नेपाली दूतावास र यहाँ रहेको गैरआवासीय नेपाली संघ एनआरएनमा समेत फारम भरेका थिए ।

एनआरएनले अनलाइनमार्फत आह्वान गरेको आवेदन फारममा बिहीबारसम्म झण्डै ५ हजार ४ सयभन्दा धेरैले फारम भरेको एनआरएन यूएईका उपाध्यक्ष नरेश सेनले उज्यालोलाई जानकारी दिनुभयो ।

त्यस्तै ५ हजारभन्दा धेरैले यो अवधीमा नेपाली दूतावास आबुधाबीमा सम्पर्क गरेर नेपाल फर्कन चाहेको बताएका छन् । दूतावास आबुधावीको वेवसाइटमा आफैंले विवरण दर्ता गराएको र टेलिफोनमार्फत पनि आफ्नो विवरण टिपाएको दूतावासले जनाएको छ ।

सरकारले निर्देशन नगरेकाले दूतावास आफैंले फारम नखुलाए पनि सम्पर्क गरेर सोध्ने बुझ्ने धेरै रहेको दूतावासकी प्रवक्ता तथा उप नियोग प्रमुख रीता धितालले बताउनुभयो ।

एनआरएनए यूएईले यहाँका सातैवटा राज्यमा बस्ने नेपालीका लागि अनलाईन फारम सङ्कलन सुरु गरेको थियो । आबुधाबीबाट २४.१ प्रतिशत, दुबईबाट सबैभन्दा धेरै ५७.१ प्रतिशत र सारजाहबाट ९ प्रतिशत नेपालीले स्वदेश फर्कनको लागि अनलाइन आवेदन भरेका छन् ।

बाँकी ७ प्रतिशत भने अरु राज्यबाट रहेको एनआरएनले जनाएको छ ।

धेरै जसो श्रमिक बेतलबी बिदामा

त्यस्तै एनआरएन यूएईको अध्यनअनुसार झण्डै ३५ प्रतिशत श्रमिक बेतलबी बिदामा रहेको देखाएको छ । नेपाली श्रमिकको विवरण संङ्कलनसँगै गरेको अध्ययनले ३४.८ प्रतिशत श्रमिक बेतलबी बिदामा बसेको, १९.६ प्रतिशतको आवासीय भिसा रद्द भएको, १०.९ प्रतिशतको भिजिटको समयअवधि सकिएर यूएईमै बसिरहेको र २५.५ प्रतिशत नेपालीले हाल अहिले पनि काम गरिरहेकाहरुले स्वदेश फर्कन चाहेका छन् ।

घर फर्कनका लागि फारम भर्नेहरुमध्ये ८४.५ प्रतिशतले कोरोना परीक्षण नगरेको उल्लेख गरेका छन् भने परीक्षण गरेकामध्ये ९५.८ प्रतिशतले सङक्रमण नभएको विवरणमा उल्लेख गरेका छन् ।

 

यूएईमा एनआरएनले खाना अभावमा समस्यामा परेका नेपालीहरुलाई राहत विरतण गर्ने तथा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको घरदैलोमा पुगेर विवरण सङ्कलन गरिरहेको छ । दुबई प्रहरी तथा स्थानीय निकायसँगको सहकार्यमा काम भैरहेको एनआरए यूएईका अध्यक्ष प्रकाश कोइरालाले बताउनुभयो ।

यूएईमा २ लाख ७५ हजार नेपाली श्रमिक कार्यररत रहेको तथ्याँक छ ।

अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

 

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Dipac Poudel

    April 24, 2020, 1:13 a.m.

    My visa finished FEB 28 but i get cancelation pepper March 2 .in cancellation pepper mention before 29 March i have to leave the country. I already bought ticket march 25th suddenly nepal airport close . I bought ticket Nepal Airlines . Not refund also

  •  0 Reply

तपाईको प्रतिक्रिया