यूएईमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ७१ : एनआरएनए

दूतावास भन्छ : ११ जना मात्रै आधिकारिक

 बैशाख ७, २०७७ आइतबार १३:५२:४६ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीको सङ्ख्या ७१ पुगेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।

एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याँक अनुसार यूएईमा ७१ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख छ ।

डा. सञ्जीव सापकोटाको संयोजकत्वमा गठित स्वास्थ्य समितिले यूएईसहित नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना नेपालीहरु कोरोनाबाट सङ्क्रमित भएको तथ्याँक शनिबार साँझ सार्वजनिक गरेको हो ।

स्वास्थ्य समितिले सम्बन्धित देशको एनआरएनए, दूतावास तथा स्थानीय संघसँस्थाको सहयोगमा यो तथ्याँक तयार पारेको हो ।

यूएईमा एनआरएनको टोली यहाँको स्थानीय प्रहरीसँग मिलेर नेपाली समुदायमा सक्रिय भईरहेको छ । एनआरएन यूएईका उपाध्यक्ष पाशाङ शेर्पाको नेतृत्वमा मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीसहितको टोलीले नेपालीहरुको विवरण संकलन गरिरहेको छ ।

त्यही टोलीले सार्वजनिक गरेको हेल्पलाइन नम्बर तथा एनआरएनको संपर्कमा आएका नेपालीहरुमध्ये ७१ जनामा कोरोना पोजेटिभ देखिएको एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो ।

कोइरालाका अनुसार त्यसरी संक्रमित हुने नेपालीको सङ्ख्या राजधानी आबुधाबीको औधोगिक क्षेत्र मुसाफामा सबैभन्दा धेरै र त्यसपछि दुबई र सारजहामा छ ।

सङ्क्रमितमध्ये २० जना यूएईका बिभिन्न अस्पतालमा उपचारत छन्। अरु सङ्क्रमितमध्ये कोही कम्पनीकै कोठामा, कोही सेल्फ क्वारेण्टीमा बसेका छन् । सङ्क्रमितमध्ये कतिपयलाई एनआरएनए यूएईको स्वयमसेवकको टोलीले आफ्नै सवारी साधनबाट उठाएर अस्पतालसम्म पुर्याएकोे कोइरालाले बताउनुभयो ।

‘यूएईमा हाम्रो सम्पर्कमा आएका नेपालीको परीक्षणको प्रमाणसहित आइसीसीमा प्रतिवेदन बुझाएका हौं,’ यूएई अध्यक्ष कोइरालाले भन्नुभयो ।

कोइरालाका अनुसार यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ । दुबईमा एक महिला र सारजहामा एक पुरुष गरी दुईजनाको ज्यान गएको हो ।

११ जना मात्रै आधिकारिक : दूतावास

एनआरएनएको तथ्याँकमा ७१ जना नेपाली यूएईमा कोरोना सङ्क्रमित भएको उल्लेख भए पनि आबुधावीमा रहेको दूतावासले भने आधिकारिक रुपमा ११ जना मात्रै भएको जनाएको छ ।

‘हामीलाई यहाँको कुटनीतिक माध्यममार्फत आएको जानकारी अनुसार ४ महिलासहित ११ जना मात्रै हो,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो ।

उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले सम्बन्धित देशको नीति अनुरुप अहिले सङ्क्रमितहरुको राष्ट्रियता नछुट्टाईएको र उपचारमा भेद नगरिएको बताउनुभयो ।

राजदूत ढकालले भन्नुभयो, ‘एनआरएनकर्मी साथीहरु खटिनुभएको छ, आफ्ना गतिबिधिहरु पनि हामीहरुलाई दैनिक जानकारी गराउनु भएको छु,’ विपतको बेला नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय छु । दूतावासका अनुसार उपचाररत सबै नेपालीको अवस्था सामान्य छ ।

यूएईमा ज्यान गएका दुई नेपालीको मृत्युको कारण कोरोना भाइरस भन्ने पुष्टि भएको छैन । मृत्यु भएको पुष्टि दूतावासले गरे पनि कारण कोरोना हो होइन भन्ने अहिलेसम्म दूतावासले पुष्टि गर्न सकेको छैन । मृत्युको कारणबारे यहाँका स्थानीय निकायमा पत्राचार गरेर जानकारी मागेको तर आइनसकेको दूतावासको भनाइ छ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया