ओमानमा रहेका नेपाली सुरक्षित, समस्या परे सम्पर्कमा आउनुहोस् : राजदूत ढकाल

 बैशाख १३, २०७७ शनिबार १७:३८:४५ | उमाकान्त पाण्डे

यूएई – ओमानमा कार्यरत सबै नेपाली सुरक्षित रहेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म ओमानमा कार्यरत नेपालीलाई कोरोना सङ्क्रमण नभएको र सबै सुरक्षित रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले जानकारी दिनुभयो ।

ओमानमा झण्डै १७ हजार नेपाली कार्यरत रहेकोमा कसैलाई पनि कोरोनाकै कारण समस्या नपरेको पनि उहाँले बताउनुभयो ।

कतिपय घर जाने बिदा पाएर नेपाल जान नपाएको, बिदामा गएका कम्पनीले बोलाँउदा पनि आउन नपाउँदा समस्या भए पनि अन्य समस्या नभएकाले लकडाउन खुलेलगत्तै समस्या समाधान हुने राजदूत ढकालले बताउनुभयो ।

‘कोरोनाको प्रभाव संसारभर हुँदा ओमानमा नहुने भन्ने कुरा होइन, तर हामी नेपाली समुदाय तथा यहाँको स्थानीय निकायसँग समन्वय गरेर काम गरिरहेका छौं, अहिलेसम्म कोही पनि नेपाली समस्यामा पर्नु भएको छैन,’ राजदूत ढकालले उज्यालोसँग भन्नुभयो ।

ओमान सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि मे ८ सम्म लकडाउन लम्ब्याएको छ । ओमानको राजधानी आसपासका केही क्षेत्रमा काम बन्द भए पनि अरु क्षेत्रका काममा खासै समस्या नआएको दूतावासले जनाएको छ ।

चलिरहेका काममा पनि समय तालिका मिलाएर तथा कामदार संख्यामा तलमाथि गरेर काम सञ्चालन गरिएको छ ।

विशेष गरी कम्पनी र सुपर मार्केटहरू चलिरहेका छन् । सरसफाइ सम्बन्धी काम गर्ने कम्पनी, रेष्टुरेन्ट क्षेत्रमा काम गर्नेहरूको काम रोकिएको छ । त्यसरी काम रोकिएकाहरुलाई खान र बस्न कम्पनीले व्यवस्था गरिरहेका छन् । त्यसरी काम नभएकामध्ये कसैलाई खानाको समस्या भए त्यहाँ रहेको नेपाली संघसँस्थाले सहयोग गरिरहेका छन ।

ओमानमा कोही नेपालीलाई कुनै समस्या परे दूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न र सम्पर्कमा आउन राजदूत ढकालले आग्रह गर्नुभएको छ । दूतावासको समन्वयमा त्यहाँ सोसल क्लबको नाममा दर्ता भएका हरेक देशका संघसँस्थाले आफ्नो समुदायलाई हेरिरहेका छन ।

नेपाली समुदायको हकमा एनआरएनए ओमान लागयत अन्य संघसँस्थाले राहत प्रदान गर्दै आएको एनआरएनए ओमानका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

ओमान सरकारले सम्बन्धित समुदायलाई लक्षित गरी नेपालीसहित अन्य देशको भाषामा अनुवाद गरेर सूचना सन्देश प्रवाह गरिरहेको छ । त्यहाँका रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल, मोबाइल म्यासेज, तथा ह्वाट्सअप जस्ता ह्यान्डलमार्फत सूचना प्रवाह गरिरहेको दूतावासले जानकारी दिएको छ ।

 


अन्तिम अपडेट: बैशाख ३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया