पोखराबाट ६९ पर्यटकलाई काठमाण्डौ पठाइयो

 वैशाख १८, २०७७ बिहीबार १८:५३:२४ | रासस
unn.prixa.net

कास्की - लकडाउनका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाण्डौ पठाइएको छ ।

कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन लकडाउन को समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतावासको पहलमा पोखराबाट काठमाण्डौ पुर्याउने व्यवस्था मिलाइएको हो ।

स्विस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाण्डौ लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । लकडाउन यता पोखराबाट विभिन्न समयमा ९ सय ३५ पर्यटकको उद्धार गरिएको छ ।

काठमाण्डौ जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अस्ट्रेलिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड्स तथा रोमानियाका रहेका छन् ।

काठमाण्डौबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ । 

पोखराका पर्यटन व्यवसायी एवं स्विजरल्याण्डका लागि पोखरामा रहेका प्रतिनिधिसमेत रहनुभएका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली यूनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाण्डौ पठाइएको जानकारी दिनुभयो ।

पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गर्ने गरेका पाइएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया