भ्रमण, गोष्ठीको रकम कटौती गरेर कृषिमा अनुदान दिने नगरपालिकाकाे निर्णय

 बैशाख २१, २०७७ आइतबार २०:३६:४१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले क्षमता विकास, तालिम, गोष्ठी, भ्रमण योजनाको रकम कटौती गरेर कृषिमा अनुदान दिने भएको छ । 

लकडाउनका कारण कृषि क्षेत्र प्रभावित हुनसक्ने कुरालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न तालिम, गोष्ठी, आन्तरिक भ्रमण योजनाको रकम कटौती गरेर कृषिमा अनुदान दिने निर्णय गरेको हो ।

लकडाउनको कारण विभन्न बालीको खेती गर्न बीउबिजन र मल पाउन कृषकहरुलाई समस्या परेको भन्दै अनुदान दिने निर्णय गरिएको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । 

अब पालिकाले उत्पादनमा जोड दिन अवश्यक रहेकोले नगरपालिकाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । नगरपालिकाले धान, मकै, बोडी, फर्सी, लौका, सिमी, चिचिण्डा, घिरौलालगायतका मौसमी तरकारी बालीको बीउबिजनहरुमा ८० प्रतिशत अनुदान निर्णय गरेको छ । 

यस्तै मल तथा विषादीमा ५० प्रतिशत अनुदान, नगरपालिकाका विभिन्न क्षेत्रहरुमा व्यवसायिक फलफुल खेती गर्न चाहने व्यक्ति र फर्महरुले कम्तीमा तीन सय बिरुवा रोप्ने गरी आफ्नै जग्गाको व्यवस्थापनहित प्रस्ताव पेस गर्न १५ दिने सूचना आह्वान गर्नेे भएको छ । प्रस्ताव प्राप्त भए उपयुक्तताको आधारमा छनाेट गर्ने र कम्तीमा ५० प्रतिशत अनुदानमा व्यवसाय सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय गरेको छ ।  

उपप्रमुख ढकालले नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमिनमा खेती गर्न र बाँझो नराख्न सबै जग्गा धनीहरुलाई आग्रह गर्ने बताउनुभयो । कुनै जग्गा धनी आफैले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नरहने गरी अन्य कुनै कृषकलाई जग्गा प्रयोग गर्न समन्वय गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । 

यस्तै वीरेन्द्रनगर नगरपालिकाले खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदुरहरुलाई अब राहत नदिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले राहतको सट्टा भौतिक दुरी कायम गरी कामकाे व्यवस्था गर्ने र उनीहरुलाई ज्याला पाउने व्यवस्था गरी राहत नदिने निर्णय गरेको हो ।

उपप्रमुख मोहनमाया ढकालले खोलामा गिट्टी बालुवा चाल्ने व्यक्तिहरुलाई ज्याला उपलब्ध गराउन गिट्टी बालुवा किन्नेसँग समन्वय गर्ने जानकारी दिनुभयो ।उहाँले भौतिक दुरी काम गरेर पनि कृषि र विकास निर्माणका काममा सम्भव नभएका खाद्य सङ्कट पर्ने मजदुरहरुलाई भने राहत उपलब्ध गराउने बताउनुभयो ।

उहाँले खाद्य सङ्कट परेका मजदुहरुलाई नगरपालिकाकाले सञ्चालन गरेको कल सेन्टरमार्फत यही वैशाख २३ गतेसम्म मात्र वितरण गरिने उल्लेख गर्नुभयो ।   
 

अन्तिम अपडेट: चैत ९, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया