महिला हिंसाका दोषीलाई दण्डित गर्न निर्देशन दिएका छौँ

 बैशाख २४, २०७७ बुधबार १३:५७:१८ | कृष्णराज सुबेदी
unn.prixa.net

काठमाण्डौ - देशभर भइरहेको महिला हिंसाबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन । महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेका छन् । श्रीमानबाट श्रीमतीको कुटपिट, सासुबुहारीको झगडालगायत बलात्कार र  जबरजस्तीका घटना पनि भइरहेका छन् । महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न नागरिक त्रसित भइरहेको समयमा पनि यस्ता घटना हुनु दुःखद् हो ।

समाजमा हुने यस्ता विकृत्ति रोक्न सुदूरपश्चिम सरकारले विभिन्न किसिमका कार्यक्रम लागु गरेको छ । महिलामाथि हिंसा गर्नु हुँदैन, छोराछोरी समान हुन् भन्नेजस्ता विषयमा हामीले प्रदेशका नौवटै जिल्लाका सञ्चार माध्यमबाट सन्देशहरु प्रसारण गरिरहेका छौँ । यिनै विषयलाई आधार बनाएर रेडियो कार्यक्रमहरु पनि निर्माण गरी प्रसारण गरिरहेका छौँ । 

हिंसाका ७१ घटना

लकडाउनको अवधिमा सुदूरपश्चिममा ७१ वटा हिंसाका घटना भएका छन् । विभिन्न जिल्लामा परेका उजुरीका आधारमा हामीले यो तथ्याङ्क लिएका हौँ । पहाडी जिल्लामा बझाङ र तराईमा कैलालीमा सबैभन्दा बढी यस्ता घटना भएको हामीले पाएका छौँ । 

कैलालीमा मात्रै लकडाउनमा १२ जना महिलाले आत्महत्या गरेका छन् । आखिर किन भइरहेका छन् महिला हिंसा र आत्महत्याका घटना ? हामीले त्यतातिर पनि खोजी गरिरहेका छौँ । 

हामीले बजेट विनियोजन गरेर महिला र बालबालिकाका लागि प्रदेशका हरेक तहमा रकम छुट्याएका छौँ । त्यही रकमबाट यस्ता हिंसा रोक्न कार्यक्रमहरु भइरहेका छन्  । तैपनि दिनहुँ यस्ता घटना भइरहेका छन् । 

हटलाइन सञ्चालन 

लकडाउनको समयमा हामीले नौवटै जिल्लाका स्थानीय तहसँग छलफल गरिरहेका छौँ र जानकारी लिइरहेका छौँ । हिंसा भएका नगर वा गाउँपालिकाका उपप्रमुखसँग पनि हामीले घटनाबारे कुराकानी गरिरहेका छौँ । 

महिलामाथि हिंसा गर्नेहरुलाई कानुनी कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने काम पनि भइरहेको छ । जो पीडित भएका छन् उनीहरु र उनीहरुका परिवारलाई सुरक्षित राख्ने काम भइरहेको छ भने हाम्रो सामाजिक महिला विकास शाखामार्फत मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको छ । 

महिलामाथि हुने जोखिमलाई मध्यनजर गर्दै हाम्रो सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हटलाइन नम्बर १४४८ सञ्चालन गरेको छ । यो नम्बरमा फोन आइरहेका हुन्छन् । 

अहिले परिवारका सबैजना घरमै छन् । पढाइको लागि बाहिर गएका छोराछोरी, कामको सिलसिलामा घरबाहिर रहेका छोरा, बुहारी सबै अहिले सँगै भएको बेला ससानो कुरामा पनि झैँझगडा र मनमुटाब भइरहेका छन् । यस्तै सानो कुराले बिस्तारै ठूलो हिंसाको रुप लिन्छ ।

न्याय दिन निर्देशन 

महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा रोक्न हरेक स्थानीय तहलाई हामीले निर्देशन दिइरहेका छौँ । हामीले निर्देशन दिँदैमा हिंसा  रोकिँदैन । त्यसैले हरेक जिल्लाका प्रशासन र प्रहरीसँग समन्वय गरेर पीडितलाई न्याय दिन र पीडकलाई दण्डित गर्न निर्देशन दिएका छौँ । 

लैङ्गिक हिंसाबाट पीडितहरुका लागि हरेक जिल्ला अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणाली (ओसिएमसी) बाट सेवा लिन सकिने जानकारी गराएका छौँ । 

नौवटै जिल्लाका जिल्ला अस्पतालमा रहेका ओसिएमसीलाई बजेट दिएर काम गर्न निर्देशन दिएका छौँ । पीडकलाई दण्डित र पीडितलाई न्याय दिलाउन हामी क्रियाशील छौँ ।

महिलामैत्री क्वरेण्टीन

हाम्रो प्रदेशका विभिन्न ठाउँमा निर्माण गरिएका क्वरेण्टीनमा ३ हजार ६ सय ७२ जना मानिस बसेका छन् । जसमा २ सय ८० जना महिला छन् । क्वरेण्टीनको लागि धेरैजसो ठाउँमा विद्यालय प्रयोग गरिएका छन् । किनकि लकडाउनमा विद्यालय बन्द छन् । 

विद्यालयलाई क्वरेण्टीन बनाउँदा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाइएका छन् भने शौचालय पनि फरक छन् । प्रदेशमा निर्माण गरिएका क्वरेण्टीन महिलामैत्री रहेकाले अहिलेसम्म महिला समस्यामा परेको गुनासो कुनै ठाउँबाट आएको छैन । प्रदेशभित्रका क्वरेण्टीनलाई जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रहरीलगायतले अनुगमन गरिरहेका छन् । 

(मन्त्री सुबेदीसँग इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १२, २०८१

कृष्णराज सुबेदी

सुबेदी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया