कुवेतमा नेपालीको अवस्था र नेपाल सरकारसँग अपेक्षा

 बैशाख २५, २०७७ बिहिबार १८:३२:२९ | अमित राई

कोरोना भाइरसको महामारीले खाडीका अरु देशमा जस्तै कुवेतमा पनि नेपालीलाई सताएको छ । नेपाली दूतावासका अनुसार अहिलेसम्म ८४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । कुवेत सरकारले सङ्क्रमितको निःशुल्क उपचार गराईरहेको छ । कोरोना भाइरसबाट निको भइसकेपछि फेरि आफ्नो काममा फर्कन पाइन्छ । 

सङ्क्रमित र गम्भीर बिरामीको हेरचाह र उपचारमा कुवेत सरकार र रोजगारदाता कम्पनीको सहयोग भए पनि कोरोना भाइरसको महामारी सुरु भएपछि रोजगारी गुमाउने र बेतलबी हुने नेपालीको संख्या दिनहुँ बढ्दो छ । कोठामै क्वारेण्टीनमा बसेकाहरुलाई पनि खानेकुरा र आधारभूत तलबको व्यवस्था गर्न कुवेत सरकारले रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ । 

तर दिनैपिच्छे नियमित तलब नपाउने, खाना र बस्न समस्या हुने नेपालीको सङ्ख्या थपिंदै गएको छ । धेरै कार्यालय र कामहरु अहिले पनि चलिरहेका छन् । नेपालीले काम गर्ने धेरै ठाउँ सार्वजनिक क्षेत्र अन्तर्गत पर्छन् ।

सङ्क्रमणबाट बच्न केही कम्पनीहरुले हाते ग्लोब्स, स्यानीटाईजरको प्रयोग गरे पनि कार्यस्थलमा सङक्रमणको जोखिम उच्च छ । यो समयमा कतिपय सानाठूला कम्पनीले श्रमिकलाई अर्को सूचना जारी नभएसम्मको लागि महिनावारी तलबमा २५ देखि ६० प्रतिशतसम्म कटौती गरिसकेका छन् । यो क्रम आउने दिनमा अझ बढ्ने देखिन्छ । 

नेपाली दूतावास र नेपाली संघसंस्थाको प्रयास

नेपाली दूतावास कुवेतले नेपालीको समस्या र समाधानको उपायबारे कुवेत सरकार, रोजगारदाता कम्पनी तथा नेपाली संघसंस्थासँग निरन्तर छ्लफल गरिरहेको छ। कोरोना भाइरस प्रभावको कारणले समस्या परेकाहरुको गुनासो र समस्या सुन्ने तथा रोजगारदाता कम्पनीसँग खान, बस्नको प्रबन्ध मिलाउने काम गरिरहेको छ । नेपाली समुदायमा चेतनामुलक कार्यक्रम पनि भैरहेको छ । 

तर पनि यी प्रयासहरु अहिलेको अवस्थामा पर्याप्त छैनन् । दूतावासको कार्यक्षमता बढाएर अहिले धेरैभन्दा धेरै नेपालीलाई रोजगारी र नियमित तलवको सुनिश्चितता, रोजगारी गुमाएकाहरुलाई खाना र बासको प्रबन्ध, सहानुभुति, सान्त्वना र सहयोग गर्ने मुख्य काममा दूतावास लाग्नुपर्ने अवस्था रहेको छ । 

रोजगारी गुमाईसकेका र बेतलबी बिदामा बसेका चार सयभन्दा धेरै नेपालीलाई कम्तीमा २० दिनसम्म पुग्नेगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले राहत वितरण गरेको छ । लकडाउन, कफ्र्यु र एरिया लकडाउन हुँदा पनि पचासौं किलोमिटर टाढासम्म बिना पीपीई सयांैलाई राहत बितरण कार्यमा एनआरएनए जुटिरहेको छ । 

संस्थाको राहत बजेट सकिएको छ । कुवेतको जटिल समस्यालाई बुझेर थप राहत सहयोगको लागि एनआएएनए केन्द्रीय कमिटी आपतकालीन राहतकोषबाट ५ हजार डलर कुवेत एनआरएनएलाई सहयोग रकम उपलब्ध गराइएको छ ।

र यो बजेटले अरु पीडितहरुलाई सहयोग गर्ने योजनामा एनआरएनए छ । विपदको बेला पीडितहरुले कुवेतमा रहेका ७० भन्दा धेरै नेपाली संघसंस्थासँग आशा गर्नु स्वभाविक हो । नेपाली समुदाय र संघसंस्थाले यो समयमा एकजुट र एकीकृत भएर समस्याको सामाना गर्नुको विकल्प छैन । धनभन्दा मन ठूलो पार्ने अवस्था रहेको छ । 

गैरकानुनी हैसियतमा रहेका नेपाली स्वदेश फिर्तीको पर्खाईमा

गएको अप्रिल १ देखि ३० सम्म कुवेत सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदार सम्बन्धित देश फर्काउने अभियान चलाएको थियो । नेपालीका लागि भने अप्रिल २६ देखि ३० सम्म आममाफी प्रक्रियामा सहभागी हुने व्यवस्था मिलाइको थियो ।

 गैरकानुनी हैसियतमा बसेकालाई जरिवाना मिनाहा गरेर घर फर्कने टिकटसमेत कुवेत सरकारले नै व्यहोर्ने गरी चलाइएको अभियानमा कुवेत सरकार तथा नेपाली दूतावासले आधिकारिक तथ्याँक सार्वजनिक गरेका छैनन् । तर लगभग ३ हजार ५ सय नेपाली यो प्रक्रियामा सहभागी भएका अनुमान छ । 

नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र अन्य विभिन्न नेपाली संघसंस्थाले लकडाउन, कफ्र्युमासमेत नेपाली खोजीखोजी यो अभियानमा सहभागी गराउने उल्लेख्य भूमिका खेले ।

गम्भीर अपराधमा जेल सजाय भुक्तान गरिरहेकाबाहेक अरुलाई जेलमुक्त गरेर यो अभियानमा भाग लिन दिएर कुवेत सरकारले विदेशी कामदारप्रति ठूलै उदारता देखाएको छ । अहिले धेरै देशका नागरिक फर्किसकेका छन् भने नेपालीहरुलाई खाने बस्ने व्यवस्थासहितको सेल्टरमा राखिएको छ । तर नेपालमा हवाई सेवा बन्द भएकोले कति दिन कुवेत सरकारले यसरी पाल्ने हो अनिश्चित छ । 

कोरोनाका कारण कुवेतबाट कति नेपाली घर फर्किएलान् ?

कुवेतमा कोरोना महामारीले कुन रुप लिन्छ र यहाँको अर्थतन्त्र र रोजगारीलाई कस्तो असर पार्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । अर्को महिनापछि बल्ल यहाँको अवस्था कतातिर जान्छ भनेर केही भन्न सक्ने अवस्था रहन्छ भनेर विश्लेषण भैरहेको छ ।

तर त्यो बेलासम्म रोजगारी गुमाएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, गैरकानुनी हैसियतमा रहेका तर आममाफीमा सहभागी नभएका नेपालीहरुको अवस्था धेरै नाजुक बन्ने अनुमान लगाउन सकिन्छ ।

अहिले पनि धेरै नेपालीहरु अवस्था सुध्रिएमा यहीँ रोजगारी गर्ने र बस्ने मनस्थितिमा रहेको पाईन्छ । तर रोजगारी गुमाएका,  लामो बेतलवी बिदा भएका, लकडाउन सुरुभन्दा अघि रोजगारी अन्त्य गरी घर फर्कने टिकट निश्चित गरिसकेका स्थिति सहज हुन थालेपछि पक्कै नेपाल फर्किनेछन् । र यसरी देश फर्कनेको संख्या लगभग १० हजार हुने अनुमान गर्न सकिन्छ ।  

फर्कनेलाई देशभित्रै कसरी व्यवस्थापन गर्न सकिएला ?

कोरोनाको महामारीपछि कुवेत लगायत खाडीका अन्य देशबाट नेपाल फर्केनेको संख्या ठूलै हुन्छ भनेर अनुमान लगाउन सकिन्छ । नेपाली फर्कंदा संख्या वा व्यक्ति मात्र फर्कंदैन, केही न केही काम सिकेर र सीपको लामो अनुभव लिएर फर्केने नेपाली पनि धेरै हुनेछन् ।

त्यो दक्षता र सीपलाई फेरि जहाजमा हालेर खाडी, मलेसिया पठाउने मुर्खता गर्नुभन्दा नेपालमा नै व्यवस्थित गर्ने दायित्व सरकारको हो । नेपालीले विदेशमा लामो समय काम गरेर अनुभव हासिल गरेको क्षेत्रहरु जस्तै कन्ट्रक्सन, इन्जिनियरिङ्ग, ड्राइभिङ, होटेल रेष्टुरेन्ट, सुरक्षागार्ड, हाउसमेड, कृषि लगायतका क्षेत्रमा देशभित्रै रोजगारी पाउने र उद्यम गर्ने वातावरण मिलाउनु पर्छ ।

नेपाल सरकार र दूतावाससँग तत्कालको अपेक्षा

कुवेत अध्यागमनले सन् २०१९ जुलाई ३ मा नेपाली दूतावासलाई उपलब्ध गराएअनुसार यहाँ नेपाली कामदारको संख्या ६९ हजार ६ सय ५४ छ । त्यसमध्ये निजी क्षेत्रमा ४९ हजार ३१६, घरेलु कामदार १९ हजार ७८७, पारिवारिक ४४३ र सरकारी क्षेत्रमा १२८ जना छन् । कुवेत सरकारले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार लगभग ७ हजारको संख्यामा गैरकानूनी हैसियतमा नेपाली रहेका छन् । र तीमध्ये धेरैजसो घरेलु कामदार छन् । 

कुवेतमा रहेका नेपालीहरुको सरकार र दूतावाससँग ठूल्ठूला र महत्वाकांक्षी अपेक्षा केही छैनन् । परिवारका सदस्यले घर फर्किनु पर्‍यो भनेर हत्ते हालेका छन् । विपदको बेला सबैलाई आफ्ना परिवार र आफन्तसँगै हुन पाए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक नै हो ।

तन कुवेत र मन नेपालमा हुने धेरैले घर फर्किन पाए हुने भनेर आश गरेका छन् । बरु सरकारले तोकेको क्वारेण्टीनमा आफ्नै खर्चमा बस्ने र फर्कंदा सरकारलाई कुनै किसिमको आर्थिक भार नपार्ने उनीहरुले भन्दै आएका छन् ।

लकडाउनको कारणले कतिपय साना तथा मझौला कम्पनीहरु, नेपाली रेस्टुरेन्ट व्यवसायहरु बन्द अवस्थामा छन् । अहिलेको अवस्थामा खाना र बस्न समस्या भएकाहरुलाई सम्बन्धित कम्पनी वा सरकारमार्फत व्यवस्था मिलाइदिनु भनेर हारगुहार गरेका छन् । 

कुवेत सरकार र कुवेती रोजगारदाता कम्पनीसँग कुरा गरेर रोजगारी र खान, बस्न पुग्ने तलबको ग्यारेन्टी गरिदिने अभिभावकको खोजीमा छन् । कुवेत सरकारको सेल्टरमा सुटकेश झोला कसेर देश फिर्ने दिन गन्दै बसेकाहरु छिट्टै नेपाल टेक्न पाइने दिनको पर्खाईमा छन् ।

अरु समयमा रेमिट्यान्सको बयान गरेर नथाक्ने सरकारले नेपाली श्रमिकका यति साना र थोरै अपेक्षा पूरा गर्ने समय आएको छ । विदेशमा रहेका नेपालीहरुको लागि राज्य र सरकार पनि छ है भनेर अभिभावकको भूमिका र त्यसअनुसारको काम देखाउने उपयुक्त समय यही हो । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमित राई

भोजपुरका अमित राई हाल कुवेतमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Dhal Bahadur karki

    May 8, 2020, 1:26 p.m.

    खै भनाइ मा मात्र नेपाल सरकार छ तर हामी प्रदेसी लाई आफ्नो देस फर्कन चाहिनी को लागि तेहि नेपाल सरकार बाधक बनेको छ हामी प्रदेसी ले पथाको रेमिटेन्स ले देस को अर्थ तन्त्र चलाउनी अन्ज हाम्क लाई देस आउन मा रोक लगाउने एस्तो सरकार चाहिदैन

  •  0 Reply

तपाईको प्रतिक्रिया