लकडाउनमा केटाकेटीलाई जीवन सिकाऔं

 बैशाख २८, २०७७ आइतबार ११:४५:६ | टीका भट्टराई
unn.prixa.net

काठमाण्डौ - आपतकाल कक्षा, पाठ्यपुस्तक र परीक्षाका पद्धति चलाउनुभन्दा सिकाइ सुदृढ गर्न जोड दिने समय हो । यो जीवनका लागि आवश्यक सीपहरु सिकाउने बेला हो । हामीलाई परीक्षाले यति गाँजेको छ कि दुनियाँभरिका संयन्त्रको ध्याउन्न नै त्यतैतिर छ । हामी अहिले आध्यात्मिकतादेखि तुना बाँध्ने सीपसम्मका कुरा गर्न सक्छौँ । न्वारनदेखि क्रियाकर्मसम्मका चालचलन सिक्न सक्छौँ । उदाहरणको लागि कोरोना अहिले सबैभन्दा उपयुक्त विषय हो जानकारीमा ल्याउन । यसैलाई कक्षाअनुसारको जटिलतामा प्रयोग गर्न सकिन्छ ।

यतिबेला विद्यार्थीलाई अनुभव र ज्ञान मिसाउन सिकाऔँ ।  यसो भन्दा पाठकलाई अमूर्त लाग्न सक्छ । शिक्षक र अभिभावकलक्षित यस्ता सीप र दृष्टिकोणबारे यहाँ छोटो चर्चा गरिन्छ । यद्यपि नीति निर्माताहरुले पनि यो कुरा बुझ्नु त्यत्तिकै जरुरी छ । ताकि उनीहरुले हस्याङफस्याङ गर्दै इन्टरनेट कसरी जोड्ने वा घरमै विद्यालय कसरी चलाउनेजस्ता काममाभन्दा तत्काल भएकै साधन र ज्ञानका भरमा सिकाइलाई प्रोत्साहन गर्न सक्नुस् ।  अर्को विपतकालमा के गर्ने र लकडाउन खुलेपछि के गर्ने भनेर विचार गर्नुस् । 

राम्ररी जानेका कुरा

शिक्षक वा अभिभावकले आफूले सबैभन्दा राम्ररी जानेका कुरा सिकाउनुस् । त्यो पाठ्यपुस्तकमा होस् वा नहोस् । यसले तपाईंलाई पनि सोच्न घच्घच्याउँछ । यसै बारेमा तपाईं केटाकेटीसँग पनि सोध्नुस् । उनीहरुका विचारमा तपाईं के सबैभन्दा राम्ररी जान्नुहुन्छ ? तपाईंले सबभन्दा राम्ररी जानेका कुरालाई पाठ्यपुस्तकसँग पनि जोड्नुभयो भने गजब भइहाल्यो । नजोडिने त होइन । तर जोड्न सकिएन भने पिर चाहिँ नगर्नुस् । आखिर कोरोना र लकडाउन कसको पाठ्यक्रममा थियो र ? यो त जीवन सिकाउने बेला हो । 

कतिले दुध दुहुन सिकाउन सक्छन् त कतिले अभिनय गर्न । हाम्रो शिक्षाले जीवनका सीपहरुबाट केटाकेटीलाई अलग्याएर पाठ्यपुस्तकमा सीमित गरेको छ । यो त्यसको क्षतिपूर्ति गर्ने वा वृद्धि गर्ने अवसर हो । हरेक छुट्टीलाई हामीले त्यस दिशामा लैजानेबारे सोचौँ ।  

हाम्रो शिक्षा प्रणालीको ठूलो कमजोरी भनेको केटाकेटीले स्वाभाविक रुपमा जानेका सीपलाई विद्यालयले कुण्ठित पार्नु हो । गुरु कपटी परेनन् भने एकलव्यलाई महाधुरन्धर बनाउन सक्छन् । आखिर जे सिक्न गएपनि अर्जुन धनुर्विद्यामा र भीमसेन गद्दायुद्धमै निपुण हुन सके । आखिरमा जिन्दगीमा जानेर आएको कामले प्रोत्साहन पायो भने त्यसले उच्चता प्राप्त गर्छ । 

उनले जानेका कुरा आफू सिक्नुस् । अहिले तन्नेरीले एक हदसम्म जानेको र प्रौढले नजानेको विषय सूचनाप्रविधिकै हो । उनीहरु प्रौढलाई सिकाउन पाउँदा खुसी  हुन्छन् । मोबाइल उपयोगप्रति आफ्नो क्षमता बढाऔँ । बताउँदा उनीहरुले थप सिक्छन् । कति सक्षम बालबालिका पनि फेसबुकमा मात्र अलमलिएका छन् । 

दुनियाँको भय

आफ्ना केटाकेटीलाई दुनियाँको डरबाट र दुनियाँलाई आफ्ना सन्ततिको डरबाट जोगाउने पक्का गरियो भने सबै थरीले दुनियाँ जितियो ।  बाबुआमा र शिक्षकहरुले यतिबेला आफ्ना केटाकेटी चिन्नुस् । उनीहरुको बल र कमजोरी केमा छ ? थाहा पाउनुस् । पक्कै यो एकै दिनमा गर्न सकिन्न । तर त्यो सुरुवात गर्ने यो राम्रो समय हो । तपाईं केटाकेटीलाई बिनासर्त माया गर्न सिक्नुस् त्यसले उसलाई निर्भय र आत्मविश्वासी बनाउँछ ।  

चुलोचौको र खेतीपाती

यतिवेला केटाकेटीलाई स्कुलतर्फ फर्काउनभन्दा सिकाइको दायरा बढाउन र त्यसको मकसद बताउन जोड दिऔँ । स्कुलमा पढ्न गएको सिक्नको लागि हो । सिक्न बाँच्नको लागि हो । बाँच्नु एउटा अभीष्टको लागि हो । सिकाइको प्रयोजन त्यही अभीष्ट थाहा पाउनको लागि हो । हरेक परिवेशमा बाँच्ने आँट, सीप र आधार तयार गरौँ । त्यसका लागि सिकाइका धेरैभन्दा धेरै पक्षहरु समावेश हुने दुईवटा मुख्य काम छन् जसमा आज विश्व महिलाको भरमा बाँचेको छ । ती हुन् चुलोचौको र खेतीपाती । यसले तन, मन र व्यवहार पनि समेट्छ । चुलामा ‘कल्चर’ र ‘एग्रिकल्चर’ दुवै छ । कृषिमा प्रकृति र विज्ञान दुबै छ । उत्पादनदेखि उपभोगसम्मको चित्र देखियो भने त्यसमा सबै विषय यति एकीकृत भएर आउँछन् कि केटाकेटीले विश्व विनाशको डिलतिर पुग्दै गरेको देखिहाल्छन् । फर्कन के गर्नु पर्छ, थाहा पाइहाल्छन् । 

धैर्य माग्छ

खेतीपाती होस् या चुलोचौको यसले ध्यान माग्छ । धैर्य माग्छ । निश्चित समय नभई केही उम्रन्न, बढ्दैन । गति अलि बढाउने विचार र उपाय अपनाउन सिर्जनशीलता माग्छ । एक किसिमले स्वनियन्त्रित सिकाइ पनि हुन्छ । अलिकति सुरु गरेपछि खेतबारी, बगैँचा र बिरुवाले नै सोध्छन् – तिमी कति र के गर्न सक्छौ ? एक हिसाबले चुनौती दिन्छन् सिकाइ शब्दावलीको हिसाबले । के गरे के हुन्छ वा नगरे के हुन्छ भन्ने परिणाम तुरुन्त आउँछ । यसले भनिने गरेको आलोचनात्मक चेत बढाउँछ । झन् सम्झना त तिखारिन्छ नै । पानी हाल्न वा सार्न बिर्सिंयो भने बिरुवा मरिहाल्छ । अझ अर्को फसलको लागि के लगाउने, के फेर्ने योजना नगरी भएन । अनि फुलेर फलेपछिको आनन्द भनिरहनु परेन जे अहिले पढेलेखेका भन्नेहरुले गुमाइरहेका छौँ ।  

यतिवेला सधैँजसो सहरियालाई मात्र प्राप्त हुने विशेष सहुलियत छ । त्यो हो वरपर खेतबारी र वनजङ्गल डुल्न पाइने । मिलेसम्म केटाकेटीसँग हिँड्नुस् । नीति निर्माता र शिक्षक यति सिर्जनात्मक भइदिऔँ कि सधैँ काम गरिरहेका र गर्न चाहने केटाकेटीको ज्ञानलाई प्रमाणपत्रभित्र हालिदिऔँ । आखिर नीति निर्माताका पनि छोराछोरी, नातिनातिना छन् नि !

अन्तिम अपडेट: जेठ १७, २०७७

टीका भट्टराई

भट्टराई शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया