रसुवाका ६२ बर्से किसान भन्छन् - उहिले चिनियाँ क्षेत्रमा भेडाबाख्रा चराउन जाँदा पैसा तिर्नुपर्थ्यो

 वैशाख ३१, २०७७ बुधबार २०:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर - २ का मेन लामा ६२ वर्षको हुनुभयो । उहाँले ६ वर्षको उमेरदेखि आफ्नो बुबासँग भेडाबाख्रा चराउने काम सुरु गर्नुभयोे । त्यसयता यही पेसालाई उहाँले निरन्तरता दिनुभएको छ । उहाँको गोठमा अहिले एक सय बाख्रा र २२ वटा भेडा छन् । 

पोहोर सालसम्म उहाँसँग एक सय पचास वटा भेडा थिए । बाँकी भेडा उहाँले अर्को किसानलाई बिक्री गर्नुभयोे । उहाँले पालेका भेडा, बाख्राको बिक्रीमा अहिलेसम्म समस्या आएको छैन । ‘भेडाबाख्रा किन्ने मान्छे गोठमै आउँछन्,’ उहाँले भन्नुभयोे, ‘अहिलेसम्म किनिदेऊ भनेर भन्नुपर्ने अवस्था आएको छैन ।’ 

कहिलेकाहीँ भेडाबाख्रा हराउने समस्या आउँछ । पहिले जङ्गली जनावरले भेडाबाख्रा खाने गरेको भएपनि आजकाल त्यस्तो समस्या नरहेको उहाँले बताउनुभयो । पशुपालनमा पहिलेजस्तो आकर्षण नभएको उहाँको अनुभव छ । ‘पहिले गाउँमा अधिकांश मानिसले पशुपालन गर्थे,’ लामाले भन्नुभयोे, ‘तर हिजोआज थोरै मानिसले मात्र पशुपालन गर्छन् ।’ 

मानिस सुखभोगी भएका कारण पशुपालनप्रति आकर्षण घटेको हुनसक्ने उहाँको भनाइ छ । ‘पहिलेका बुढाहरू मास्दै गए,’ उहाँले भन्नुभयो, ‘अहिलेका नानीहरूले रुचि राख्दैनन् ।’ 

गणेश हिमालको फेदीसम्म उहाँले गोठ लैजानुहुन्छ । अहिले गोठ लिएर उहाँ धुन्चे आइपुग्नुभएको छ । गोठ भार्खु हुँदै माथिमाथि लैजाने तयारी उहाँले गर्दै हुनुहुन्छ । करिब तीन महिना उहाँ केबुमा बस्नुभयो । घट्टे खोलामा आएको पनि १४ दिन भयो । उहाँको साथमा माइलो छोरा छन् । कहिलेकाहीँ उहाँ एक्लै पर्नुहुन्छ । 

अहिले खर्कमा घाँस र पानीको अभाव नरहेको उहाँले बताउनुभयो । ‘पशुपालन गर्नको लागि खर्कमा घाँस र पानीको अभाव छैन,’ उहाँले भन्नुभयोे, ‘तर चामल लैजानको लागि अलि समस्या छ ।’ पहिले ढिँडो खाने भएपनि हिजोआज बानी बिग्रिएको उहाँको अनुभव छ । चामलबाहेक अन्य सामग्री घरबाटै लैजाने गर्नुभएको छ । 

पहिले उहाँले भेडाको ऊन उत्पादन गर्नुहुन्थ्यो । तर आजकाल ऊन उत्पादन गर्न छाड्नुभएको छ । ‘पहिले पहिले ऊन उत्पादन गरिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले ऊनबाट बनेका कपडा मानिसले लगाउनै छाडे ।’ पहिले बख्खु, स्योल्दो र राडी बुनिन्थ्यो । अहिले त्यो चलन पनि हराउँदै गएको उहाँले सुनाउनुभयो । 

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने सान्जेन खर्कमा गोठ लैजाँदा धेरै पशुपालक किसानसँग उहाँको भेट हुन्छ । त्यहाँ १५/२० वटा गोठ पुग्छन् । त्यो सीमा क्षेत्र भएकोले चिनियाँ किसान पनि वारिसम्म भेडा, बाख्रा तथा चौरी चराउन आउँछन् । यताबाट पनि किसानहरू पारिसम्म जान्छन् । ‘पहिले चौपाया चराउनको लागि पारि जाँदा प्रति पशु २० रुपयाँ तिर्नुपर्थ्यो,’ उहाँले सम्झनुभयो, ‘म उता नगएको १० वर्षभन्दा बढी भयो । अहिले कति लिन्छन्, थाहा छैन ।’ 

सान्जेन खर्कमा नुवाकोट र धादिङबाट समेत पशुपालक किसान आउने गर्छन् । भेडाबाख्राको बिक्रीबाट उहाँलाई वार्षिक डेड लाख रुपैयाँ बचत हुन्छ । कृषि पेशाबाटै आफ्ना तीनै छोराछोरीलाई पढाएको उहाँ बताउनुहुन्छ । 

उहाँको जीवन गोठमै बित्यो । पढ्नपाउनु भएन । तर आफ्ना छोराछोरीलाई पढाएकोमा उहाँलाई सन्तोष छ । पशुपालनले जीवन जिउने कला सिकाएको लामाको अनुभव छ । घाम र पानीबाट बचेर गोठ सार्दै लेकबेसी गर्दा धेरै कुरा सिकिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया